१ लाख १० हजार तिर्न नसक्दा सुत्केरी ४ दिनदेखि अस्पतालमै बन्धक
एउटी महिला आमा बन्दा कत्ति खुशी होलिन् ? त्यो पनि जुम्ल्याहा सन्तानको । तर, खुशीलाई कतिबेला के कुराले बडार्छ कसैलाई थाहा हुन्न । जनकपुरधामस्थित आर्या अस्पतालमा असार १७ गते धनुषाकी ३० वर्षीया बेगम खातुनले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । यो खबरले खातुनको परिवारमा बेग्लै उमंग ल्यायो । अझै उनका श्रीमान मोहम्मद समीर नदाफ जुम्ल्याहा छोराछोरीको बाबू बन्दा कम्ता खुशी थिएनन् ।
अस्पतालले पुरै पैसा भुक्तानी नगरी सुत्केरीलाई नपठाउने भन्दै बन्दक बनाएर राखेको ४ दिन बितिसक्यो । न मोहम्मदले पैसा जम्मा गर्न सकेका छन् न त अस्पतालले नै सुत्केरीलाई डिस्चार्ज गरेको छ ।
शल्यक्रियामार्फत सुत्केरी भएकी खातुनलाई अस्पतालले असार २१ गते डिस्चार्ज गर्ने जानकारी दियो । यो सँगै १ लाख १० हजारको बिल भुक्तानी गर्न आदेश दियो । अस्पतालको यो आदेशसँगै उनीहरुको ओठमुख सुक्यो । आफूसँग भएको पैसा मोहम्मदले सबै खर्च गरिसकेका थिए । त्यहाँमाथि यति धेरै बिल आउला भन्नेसोचेका थिएनन् । तर, अस्पतालले पुरै पैसा भुक्तानी नगरी सुत्केरीलाई नपठाउने भन्दै बन्दक बनाएर राखेको ४ दिन बितिसक्यो । न मोहम्मदले पैसा जम्मा गर्न सकेका छन् न त अस्पतालले नै सुत्केरीलाई डिस्चार्ज गरेको छ ।
शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई अस्पताल प्रशासनले जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । मोहम्मदले ऋणका लागि आफन्त, छरछिमेकी सबैसँग गुहारे तर, उनको गुहार कसैले सुनेन । त्यसो त अब उनले हार मानिसके ।
दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम । ‘दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाऔं,’ उनले भने, ‘छोराछोरी र श्रीमतीलाई कतिबेला घर लैजाउँ जस्तो भएको छ तर, पैसा नतिरि अस्पतालले लैजान दिँदैन ।’
त्यसैले यतिबेला नदाफले उपचार खर्च जुटाइदिन गुहार मागिरहेका छन् । ‘सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागें,’ उने भने, ‘अहिलेसम्म ५० हजार रुपैयाँ जति संकलन भयो तर, अझै ६० हजार रुपैयाँ तिर्न बाँकी छ । यदि कसैलाई दया लाग्छ भने सहयोग गर्नुभए हुन्थ्यो ।’
शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करिव ५० हजार उपचारमा रित्याइसके । ‘अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन,’ उनले भने ।
उता अस्पताललाई तिर्नुपर्ने बिल बढेको बढ्यै छ । यता नदाफ भने पैसाको खोजीमा गाउँमा भौँतारिइ रहेका छन् । ‘एउटा झोला र कापी लिएर हिँडेको छु,’ उनले भने, ‘कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।’ नदाफले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर २० देखि ५०० रुपैयाँसम्म सहयोग प्राप्त भएको उनले बताए । ‘यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन,’ मलिन अनुहारमा उनले दुखेसो पोखे ।
शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करिव ५० हजार उपचारमा रित्याइसके । ‘अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन,’ उनले भने । त्यसो त मोहम्मद दुई सन्तानसहित श्रीमतीलाई अस्पतालको बन्धकमा राखेर आफू पैसको खोजीमा टोलटोलमा भौंतारिँदै छन् । यता अस्पताल प्रशासनले भने बिरामीको आर्थिक अवस्था हेरेर केही छुट दिन सक्ने तर, सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आईसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्ने जनाएको छ ।