English

नेपालका चर्चित १० शिव मन्दिर र तीर्थस्थल




प्राचीन समयदेखि नै नेपालमा थुप्रै धार्मिक स्थलहरू रहेको पाइन्छ । गोसाईकुण्ड, बराहक्षेत्र, स्वर्गद्वारी, मुक्तिनाथ, पशुपतिनाथ जस्ता धार्मिक दृष्टिले अति महत्वपूर्ण रहेका तीर्थ स्थलहरू नेपालमै अवस्थित छन् ।

अझै भन्नु पर्दा नेपालका विभिन्न क्षेत्रमा भगवान शिवका थुप्रै मठ, मन्दिर र तीर्थ स्थलहरू रहेका छन् । शिवलाई देवताहरूको पनि देवता अर्थात् महादेव भनेर चिनिन्छ । महादेव, आशुतोष, इशान, महेश, हरिहर, शंकर, रुद्र, गिरीश जस्ता नामले पनि भगवान शिवलाई पुकार्ने गरिन्छ ।

भगवान शिवका नेपालमा रहेको १० लोकप्रिय शिव मन्दिर र तीर्थ स्थलहरू यस प्रकार छन् ।

पशुपतिनाथ
काठमाडौंस्थित पशुपतिनाथको मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदा हो । अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरू रहेको पशुपतिनाथको मन्दिर क्षेत्र एक खुला संग्रहालय जस्तै देखिन्छ ।

सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्न सफल पशुपतिनाथ मन्दिर २ हजार वर्ष पुरानो भएको जनविश्वास गरिन्छ । यस मन्दिरको क्षेत्रफल २ सय ४० हेक्टर जग्गामा फैलिएको छ । विश्वका २ सय ७५ शिवका पवित्र स्थलमध्ये पशुपतिनाथलाई प्रमुख धार्मिक स्थलको रूपमा मानिन्छ ।

शैव, शाक्त, वैष्णव, बौद्ध र गणपथ शिख आदि धर्मावलम्बीका लागि यो क्षेत्र खुला छ । पशुपति क्षेत्र ५ सय ५९ वर्गकिलोमिटरमा फैलिएर रहेको छ । यहाँ सानादेखि ठूला मन्दिरहरू रहेका छन् । प्यागोडा शैलीमा निर्मित यस मन्दिरका आफ्नै विशेषता रहेका छन् ।

जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ । पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले यहाँ शिवरात्री पर्व विशेष महत्वका साथ मनाइन्छ ।

गोकर्णेश्वर महादेव
गोकर्णेश्वर महादेवको मन्दिर काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्वपूर्ण मन्दिर हो । वागमती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्वपूर्ण गन्तव्य स्थल हो ।

गयामा जस्तै तीर्थ भएकोले यस उत्तरगया क्षेत्रको नाम ’गोकर्ण’ रहन गएको हो । यसै नामबाट भाद्रकृष्ण औँसीमा मेला लाग्ने भएकाले ‘गोकर्ण औँसी’ पनि भन्ने गरिएको छ । नेपालका विभिन्न शिव मन्दिरहरूमध्ये गोकर्णेश्वर मन्दिर सत्य युगदेखि नै एक महत्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ ।

हलेसी महादेव
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो खोटाङको सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिममा रहेको हलेसी–तुवाचुङ नगरपालिकामा पर्छ । हलेसी समुन्द्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।

‘हलेसी गुफा’को प्राकृतिक भू–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बौद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ ।
हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ । भष्मासुरले महादेवलाई भष्म पारी पार्वतीलाई आफ्नो बनाउने दुरासयले महादेवलाई लखेट्दै जाँदा महादेव यहाँको गुफामा लुकेर आफ्नो प्राण रक्षा गरेको भन्ने पौराणिक किम्वदन्ती रहेको छ । राम नवमी, बालाचतुर्दशी तथा महाशिवरात्रीका दिन यस ठाउँमा विशेष मेला लाग्छ ।

गोसाईकुण्ड
रसुवा जिल्लामा पर्ने हिन्दूहरूको पवित्र तीर्थस्थलको रूपमा रहेको गोसाईकुण्ड समुन्द्र सतहदेखि ४३६० मिटरको उचाइमा अवस्थित छ । चारैतिरबाट मनोरम पहाडहरूले घेरिएको यो ठाउँ अति नै सुन्दर र रमणीय छ ।

यहाँ जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । भगवान शिवले त्रिशुल प्रहार गरी निस्केको पानी जम्न जाँदा यो कुण्ड निर्माण भएको विश्वास गरिन्छ । गोसाईकुण्डका अतिरिक्त यहाँ सरस्वती कुण्ड, भैरव कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड लगायतका ९ वटा कुण्ड रहेका छन् । नेवारहरू गोसाईकुण्डलाई शिलुतीर्थ भन्ने गर्दछन् । त्रिशुली नदीको उत्पत्ति यही गोसाईकुण्डबाट भएको हो ।

कुम्भेश्वर महादेव
कुम्भेश्वर मन्दिर ललितपुरको महत्वपूर्ण मन्दिर मानिन्छ । कुम्भेश्वर मन्दिर, पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा रहेको छ । यहाँ सोमबारको दिन पूजा गर्न आउनेहरूको ठूलो भीड लाग्छ ।

कुम्भेश्वर मन्दिर परिसर पुरानो पाटन शहरको उत्तर भागमा रहेको सबैभन्दा पुरानो र व्यस्त स्थान हो । यस परिसरमा रहेका प्रमुख देवताहरूमा कुम्भेश्वर महादेव, बङ्गलमुखी, अनन्त भैरव, गौरीकुण्ड, हारती, मनकामना, केदारनाथ, बद्रीनाथ पर्दछन् । यहाँ एउटा पोखरी पनि रहेको छ, जसको स्रोत रसुवा जिल्लाको गोसाइँकुण्ड मानिन्छ । त्यसैले जनै पूर्णिमाको समयमा यहाँ स्नान गर्नु गोसाइँकुण्डमा स्नान गरेको बराबर मानिन्छ ।

डोलेश्वर महादेव
भक्तपुर शहरबाट दक्षिण–पूर्वी कुनामा स्थित सिपाडोल गाउँमा रहेको छ, डोलेश्वर महादेव मन्दिर । यसलाई केदारनाथको शिर पनि भनिन्छ । डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग साँढेको शिरझैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ । र, चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ ।

सन्तानेश्वर महादेव
ललितपुरको गोदावरी नगरपालिका–१३, झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको मन्दिर रहेको छ । मन्दिर लगनखेलबाट करिब ७ किलोमिटर दक्षिण पूर्व दिशामा पर्दछ ।

धार्मिक ग्रन्थअनुसार सतीदेवीको अंग पतनबाट पीठ उत्पत्ति हुने क्रममा नेपालको ॐकारेश्वरमा पुग्दा सतीदेवीको उपल्लो ओठ पतन भएको धार्मिक मान्यता रहेको छ । ॐकार पीठ, मातृकादेवी, पूर्णोदरी योगीनी, श्री सन्तानेश्वर महादेव उत्पत्ति भएको मानिन्छ । पौराणिक कालमा बाह्रवटै राशीहरू यस स्थानमा झरी शिवजीको तपस्या आराधना गरेको हुनाले यस स्थानको नाम झरुवारासी रहेको भन्ने जनविश्वास छ ।

आशापुरेश्वर महादेव
भक्तपुर जिल्लामा अवस्थित आशापुरेश्वर महादेव एक महत्वपूर्ण धार्मिक स्थल हो । यस स्थललाई आशापुरी पनि भनिन्छ । विशेषगरी मनले चिताएको इच्छा, आकांक्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किम्वदन्ती रहेको पाइन्छ ।

आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरूले छोराको प्राप्तिका लागि पूजा आराधना गर्दछन् । आशापुरी महादेव लिच्छवीकालमा निर्मित मन्दिर हो, जुन शिवपुराणमा वर्णित ६४ शिवलिङ्गमध्ये एक हो ।

कुशेश्वर महादेव
रामेछाप, काभे, सिन्धुली जिल्लाको संगमस्थल दुम्जा फाँट परिसरमा प्रसिद्ध कुशेश्वर महादेवको मन्दिर अवस्थित छ । आदिकालमा शुम्भ निःशुम्भ नामक दैत्यहरूले कौशिकी सूनकोशीकमा स्नान गरी कैलाशपति शिवको पूजा आराधना, जपतप गर्दा महाशक्ति रुद्र प्रसन्न भई स्त्रीजाति बाहेक कसैले पनि तिमीहरूलाई मार्न नसकुन् भन्ने वरदान पाएका थिए ।

यस पावन भूमिमा सत्य, त्रेता, द्वापर युग सम्ममा ज्ञानी, ध्यानी, ऋषिमुनी, राजर्षि–महर्षि, ब्रह्मर्षि, देवर्षि आदिले तपस्या गरेर नै ठूलो फल प्राप्त गरेका थिए । कलियुगमा पनि विभिन्न ज्ञानी, ध्यानी, ऋषि, साधुसन्तहरूले पूजा, आराधना, उपासना, ध्यान गर्दै आएको र शुभ फल पाइरहेको बताईन्छ ।

गलेश्वर महादेव
म्याग्दी जिल्लाको धनान गाउँमा प्रसिद्ध गलेश्वर महादेवको मन्दिर छ । कालीगण्डकी र रहुगंगा खोलाको संगम नजिकै पर्ने यस तीर्थको नाम जडेश्वर र जडभरेश्वर पनि हो । स्वस्थानीमा वर्णित कथा प्रसंगअनुसार यसै स्थानमा सती देवीको गलो पतन भएको थियो ।

यहाँ परापूर्वकालमा जडभरतले तपस्या गरेको मानिन्छ । तसर्थ जडभरतेश्वर र जडेश्वर नाम पर्न गएको जनविश्वास छ । यो महादेव मन्दिर शालिग्राम नदी कालीगण्डकीको किनारमा स्थापना भएको हुनाले धार्मिक रूपमा यसको महत्व अधिक छ । यस स्थानमा जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको पनि जनविश्वास छ ।

प्रस्तुति : कृष्ण वाग्ले



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो