English

सन्दर्भ: १८ औँ राष्ट्रिय धान दिवस

बाउसे–रोपार बनेका सेलिब्रेटी



असारे मासको महिमा बेग्लै छ । जब झमझम पानी पर्छ तब किसानको मुहारमा खुशी छाउँछ । अझै लाठे रोपारले रोपाइँमा गाएको असारे भाका र खेतको आडैमा बसेर खाएको दोपारे । त्यसको महत्व अर्कै छ । त्यसो त असार र रोपाइँसँग सामान्य नागरिकदेखि हाल चर्चामा रहेका कलाकारहरु पनि जोडिएका छन् । त्यसैले सबैको बेग्लाबेग्लै अनुभव छन् । आज असार १५ अर्थात् धान दिवसको छेको पारेर नेपालका चर्चित कलाकारहरुले आफ्नो रोपाई अनुभव यसरी सुनाएः

दीपकराज गिरी, अभिनेता

म किसानको नाती भएकाले मनले नमाने पनि खेतमा जानु पर्ने बाध्यता जस्तै थियो । आलि लगाउने, रोपारहरूलाई धानका बीउ समाउन दिनु, दिनभर लखतरान हुने गरेर खेतमा काम गर्नु पर्थ्यो तर, अहिले रोपाइँको सम्झना आइरहन्छ ।

रोपारहरूले गाएका ती असारे गीतका धुनहरू कानमा गुन्जिरहन्छन् । लाठेहरू बाउसे गर्दै रोपारहरूसँग छिल्लिएर गरेका रमाइला ठट्टा अनि आलुको अचार र चिउरा आहा अहिलेको अनेक थरि परिकार भन्दा निक्कै स्वादिलो हुन्थ्यो । रोपाई चल्दै गर्दा परेको दर्के झरी अनि घुम भित्र छिरेर डिलमा बसेर रोपारहरूको साँगीतिक प्रस्तुतिको आनन्द नै बेग्लै थियो ।

गायिका सुनिता दुलाल
सुनिता दुलाल, गायिका

मेरो बाल्यकाल सिन्धुपाल्चोक जलविरेमै बित्यो । त्यसैले ६–७ वर्षकै उमेरदेखि रोपाईको अनुभव मसँग छ । रोपाईमा जाँदा मकैको ढोडले काटेर मलाई गहिरो चोट पनि लागेको थियो । सानो बेला म अलि चकचके स्वभावको थिएँ, त्यसैले रोपाईमा गएर हिलो खेल्न साह्रै रमाईलो लाग्थ्यो । ठूलो भएपछि पनि मैले धेरैपटक धान रोपेको छु । ३ वर्षअघि पनि गाउँमा गएर रोपाई गरेको थिएँ । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा पनि असारलाई लिइन्छ । हिलोमा खेलेको, असारे गीत गाएको र पानीमा भिज्दै रोपाइँ गरेको त्यो पल साँच्चै सम्झँदा पनि आनन्द लाग्छ ।

प्रकाश सपुत, गायक

करिव १० अघि वर्ष अघि बागलुङको रोपाईमा संलग्न भएको थिएँ । हाम्रो आफ्नै खेत त थिएन बारी मात्र थियो । साथीहरुसँग रमाईलो गर्नका लागि छिमेकीको खेतमा बाउसे गर्न गएको थिएँ । गाउँमा ज्याला, पर्म गरेर खेत रोप्ने चलन छ । हामी साथीहरु टीम बनाएर (हुत्ता) पर्म लगाउँथ्यौं । खेत हुने साथीकोमा रोपाई गर्न जाने, बारी हुनेकोमा कोदो रोप्न जाने र कसैकोमा दाउरा काट्न जाने यसरी पालैपालो सबै जनाकोमा काम गर्थ्यौं । खेत रोप्ने बेला केटीहरुले गीत गाउँदै खेत रोप्ने र हामीले हिलो तयार गरिदिने त्यो रमाईलो पललाई असारले फेरि सम्झाइदिन्छ । रोपाईको अर्को विशेषता मिठो खाजा पनि थियो । जस्तै सेलरोटी, तरकारी दही चिउरा आदि खाजालाई सम्झन्छु ।

सानो बेलामा त रोपाइँको अनुभव गर्न पाइएन । तर, मलाई रोपाइँ एकदमै मन पर्ने भएकोले कतै रोपाइँ कार्यक्रमको निमन्त्रणा आयो भने जान छुटाउँदिनँ । असारमा रोपाइँमा जाँदा आत्मियता साटासाट हुन्छ ।

कुमार कट्टेल, हास्यकलाकार

करिव १० वर्षअघि झापाको गौरादहमा मैले रोपाइँ गरेको थिएँ । तर, म त्यहाँ धान रोप्न भन्दा पनि काम बिगार्न गएको जस्तो लागेको थियो । मसँगै रोप्न सुरु गरेकाहरु रोपेर कहाँ पुगिसकेका थिए मभने बीउको मुठाबाट बीउ छुट्याउनै व्यस्त थिए । त्यो पल एकदमै रमाईलो थियो । खाजामा आलु चाम्रे धेरै मीठो लाग्यो ।

सरिता लामिछाने, अभिनेत्री

म एउटा किसानकी छोरी भएकाले रोपाइँको राम्रो अनुभव छ । मेरो बाल्यकाल झापामै बित्यो । सानोमा म पनि आमासँग खेतमा जान्थेँ । रोप्न आउँदैन थियो तर, हिलो खेल्न रमाइलो लाग्थ्यो । आमाले धान रोप्न सिकाउनु पनि भएको थियो । एकदिन रोपाईकै क्रममा मेरो खुट्टामा जुका लाग्यो । निकै आत्तिएँ । त्यसपछि म कहिल्यै खेतमा गइनँ । ठाउँ अनुसार खेतालालाई दिइने खाजा पनि छुट्टा-छुट्टै हुने रहेछ । झापातिर चाम्रे, गुन्द्रुकको अचार र मही खाजा हुन्थ्यो ।

सञ्चिता लुईटेल, अभिनेत्री

स्कूल पढ्दा भक्तपुरको रोपाईंमा गएकी थिएँ । बच्चा बेलामा रोपाइँमा जाने भने पछि बुट लगाएर गएँ । धान रोप्न खेतमा जाँदा बुट हिलोमा गाडियो । बुट हिलोमा गाडिएपछि निकै रोएँ । पछि ठूलो भएपछि ‘माया त माया हो’ फिल्मको छायांकन असार १५ नै परेको थियो । त्यो दिन खेत रोपेको थिएँ । त्यो बेला साँच्चै रोपाईको अनुभव राम्ररी गर्न पाएँ । जे होस् रोपाई मलाई निकै रमाइलो लाग्छ ।

आमाले धान रोप्न सिकाउनु पनि भएको थियो । एकदिन रोपाईकै क्रममा मेरो खुट्टामा जुका लाग्यो । निकै आत्तिएँ । त्यसपछि म कहिल्यै खेतमा गइनँ ।

दीपिका प्रसाईं, अभिनेत्री

बच्चा बेलामा रहर लागेर धान रोप्न गएकी थिएँ । साथीहरुसँग मिलेर खेत रोप्न भन्दा पनि हिलो खेल्न भनेर जान्थेँ । रोपाइँ गर्दा खुट्टामा जुका पनि टाँसिएको थियो । एकछिन हिलोमा उफ्रेपछि थकाई लाग्थ्यो अनि घर फकिन्थेँ । हिलो खेलेर आएपछि नुहाएर दही च्यूरा आँप खाइन्थ्यो । अहिले त धेरै लामो समय भयो रोपाइँको अनुभव गर्न नपाएको । जे होस् ती पुराना यादले अझै पनि असारे झल्को दिलाउँछ ।

अभिनेत्री दीपाश्री नीरौला
दीपाश्री नीरौला, अभिनेत्री तथा निर्देशक

एक वर्षअघि रेडियो कान्तिपुरको रोपाइँ कार्यक्रममा धान रोपेकी थिएँ । रमाइलो भएको थियो । हिलो खेलेर धान रोप्ने असारे गीत गाउने त्यसले छुट्टै आनन्द दिन्थ्यो । सानो बेलामा त रोपाइँको अनुभव गर्न पाइएन । तर, मलाई रोपाइँ एकदमै मन पर्ने भएकोले कतै रोपाइँ कार्यक्रमको निमन्त्रणा आयो भने जान छुटाउँदिनँ । असारमा रोपाइँमा जाँदा आत्मियता साटासाट हुन्छ । सबैजना मिलेर रोपाइँ गर्ने मीठोमसिनो खाने जस्तै — दही चिउरा, मकै , गुन्द्रुकको अचार खाने पहिले देखिकै चलन भएको हुनाले मलाई रोपाइँ सारै राम्रो लाग्छ ।

सृष्टि खड्का, मोडल

माना रोपेर मुरी फलाउने मौसम हो यो । हामी नेपालीको लागि धान रोप्ने रोपाहारहरु बीचमा हिलो छ्यापाछ्याप गर्दै रमाइलो नगरेको पनि बर्षौं भइसक्यो तर पनि हिजोको दिनको यादहरु अहिले पनि ताजै छ । ऐंचो पैंचो, एकले अर्कोलाई पर्म लगाउने बिहानै हल्ला–खल्ला गर्दै ओल्लो घर पल्लो घर पर्मको लागि बोलाउने चलन छ । असार दही चिउरा खाने एक किसिमको चाड जस्तै छ । यो मौसममा गरेको दुःख मंसिरमा बाली घरमा हुले पछिको बा आमा को खुशी सायद म बयान गर्न सक्दिनँ ।

सानो बेलामा आमाहरुसँग, बीउ काड्ने बेला खेतमा गएको याद छ । हामीलाई हिलो लाग्छ भनेर खेतमा पस्नै दिनुहुन्थेन । खेतालाहरुले खेत रोप्नु हुन्थ्यो हामी हेरेर बस्थेउँ ।

राधिका हमाल, गायिका

गाउँको रोपाइँ साह्रै रमाइलो हुन्थ्यो । एउटै गरामा रोप्दा पनि आ–आफ्नो मेलो हुन्थ्यो छिटो छिटो रोप्ने साथीहरु अघि पुग्थे । म धेरै ढिला रोप्थेँ । त्यसैले साथीले मेरो मेलोमा पनि रोपिदिन्थे । अनि मलाई अघि जाने बाटो नै छेकिदिन्थे । बाटो नै बन्द गरीदिएको भएर कताबाट निस्कने भनेर आपत पर्थ्यो र रमाइलो पनि हुन्थ्यो । हिलो छ्यापेर गीत गाउँदै रोपाइँ गर्दाको अनुभव एकदमै रमाइलो थियो ।

सुशिला गौतम, गायिका
सुशिला गौतम, गायिका

मैले आजसम्म २ पटक धान रोपेको छु । केही वर्षअघि जन्मस्थान गुल्मीमा दिउँसोभर खेत रोपेको थिएँ । अनि गत वर्ष पनि खेत रोप्ने रहर लाग्यो । त्यसपछि बुटवलमै खेत रोपेकी थिएँ । हल्का हिलो पनि खेलियो । जे होस् रमाइलो भएको थियो ।

कला लम्साल, गायिका

रोपाइँ हेरेर आनन्द लिएको छु धान रोप्ने अवसर कहिल्यै जुरेन । सानो बेलामा आमाहरुसँग, बीउ काड्ने बेला खेतमा गएको याद छ । हामीलाई हिलो लाग्छ भनेर खेतमा पस्नै दिनुहुन्थेन । खेतालाहरुले खेत रोप्नु हुन्थ्यो हामी हेरेर बस्थेउँ । खेतालाहरुले हिलोमा धान रोपेको गीत गाएको सम्झिँदा रमाइलो लाग्छ ।

यो पनि पढ्नुहोस्
चामलमा किन आत्मनिर्भर बन्न सकेन नेपाल ?
निरस बन्यो असार पन्ध्र !
असार १५ मा दही चिउरा किन खाइन्छ ?
यसकारण चर्चित छ भक्तपुरको ‘जुजु धौ’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन