नेपाल छोड्दा हिप्पीले रुवाबासी नै गरे
अभि सुवेदी
डा. अभि सुवेदी
हिप्पीहरू काठमाडौं आएकै समयमा म पनि युनिभर्सिटी पढ्न आएको थिए । उनीहरू काठमाडौं आउनु र म आउनु एकै समय जस्तो भएको थियो । यो समय सन् १९६० अन्त्यतिरको हो ।
उनीहरूको लवाई खवाई त्यो बेला काठमाडौंका मानिसहरूले नदेखेकै किसिमको थियो । उनीहरू काठमाडौं भित्रिदा वेभ आए जसरी आए । अनौठा मानिसहरूको वेभले झोछें भरिदै गयो । झोंछेको गल्लीहरू गाँजाका धुवाले माहौल नै अनौठो बनाउदैं लग्यो ।
उनीहरूले लगाएको लुगाफाटोले नै उनीहरूलाई अनौठो देखाउथ्यो । उनीहरूको पहिरनले जसले पनि टाढैवाट चिन्न सक्थे हिप्पी भनेर । पश्चिमी मुलुकवाट काठमाडौं आएपनि उनीहरूको पहिरनमा कुनै किसिमको पश्चिमी प्रभाव थिएन । रंगीचंगी, लुज किसिम कपडा लगाउने उनीहरू केटा होस् वा केटी लुज टाउजर, सल वा कुर्ता लगाउने गर्थे । महिलाहरूले कान, नाक, आँखी भौं, नाईटो जहाँ पनि मुन्द्रा लगाएका हुन्थे ।
हिप्पीहरू आफूलाई इन्फर्मल ड्रेसमै हिँड्न रुचाउथे भने तिनको बानी ब्यवहार पनि इन्फर्मल नै हुने गथ्र्यो । उनीहरू कुनै नियममा बाँधिनै नचाहने किसिमका हुन्थे । सुत्ने ठेगान नभएका उनीहरू स्थानीय नेवार समुदायको घरमा कोठा भाडामा लिएर पनि बस्थे भने ससाना होटेलको कोठामा पनि मिलेरै बस्थे । यसैगरी खानपिनको पनि कुनै रुटिन हुदैनथ्यो । हिप्पीहरू बिशेषत पश्चिमी खानाभन्दा पनि चाईनिज खाना त्यसमा पनि नुडल बढी रुचाउथे भने कहिलेकाँही पश्चिमी खाना पनि खाने गर्थे ।
कलेज नभएको बेलामा म उनीहरूको आवतजावत हुने क्षेत्रमा जाने गर्थे । मेरो संगतमा धेरै हिप्पीहरू थिए । हिप्पीमा गाँजा खाएर आफैंमा रमाउने गज्जबको संस्कार थियो । उनीहरूलाई बाहिरी रूपमा हेर्दा फिरङ्गी जस्तो देखिएपनि त्यहाँ साहित्यकार र विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर गरेकाहरू पनि हुन्थे । उनीहरू चर्चित साहित्यकारहरूको विषयमा धाराप्रवाह बोल्न सक्थे भने कोही संगीतका पारखी पनि थिए । त्यो बेला बब डिलोनको संगीतमा निकै रमाउने उनीहरू गितार बजाएर सडक चोकमा घन्टौ रमाएर समेत बस्थे । बब डिलोनको गीत संगीतमा बिद्रोहका भावहरू झल्किने किसिमका हुन्थे र उनीहरू आफ्नो समाजमा भएको बिद्रोहलाई नै पोख्न फिरंगी भएर नेपाल आएका थिए । झोंछेमा बाक्लो उपस्थिति हुने हिप्पीहरू बिस्तारै शहरका अन्य क्षेत्रमा पनि जान थाले ।
उनीहरू बिजेश्वरी हुदैं स्वयम्भुमा पनि उपस्थित हुन थाले भने कोही कोही गाँजा पाईने आशामा पशुपतितिर पनि जान थाले । कालधाराको बाटो हुदैं बिजेश्वरी जाने वाटोको छेउछाउमा खेतहरू थिए । ती खेतमा गाँजाको खेती ब्यापक हुन्थ्यो । हिप्पीहरूले गाँजाको बोट देखेपछि मनै थाम्न सक्दैनथे । बोटको गाँजालाई म्वाई खाएर चिच्चाएर बस्थे । उनीहरूलाई गाँजाले नै भुलाइरहेको कारण उनीहरूको सर्वाधिक प्रिय बस्तु नै गाँजा थियो ।
हिप्पीहरूले गाँजाको बोट देखेपछि मनै थाम्न सक्दैनथे । बोटको गाँजालाई म्वाई खाएर चिच्चाएर बस्थे । उनीहरूलाई गाँजाले नै भुलाइरहेको कारण उनीहरूको सर्वाधिक प्रिय बस्तु नै गाँजा थियो ।
सन् ६० को दशकमा यूरोप र अमेरिकामा पूँजिवादले समाजमा बिद्रोह नै गरेको थियो । अमेरिकी युवाहरूमा भियतनाम युद्धको रोष थियो भने पेरिसमा युवाहरूको अलग्गै आन्दोलन भैरहेको थियो । अमेरिका आफ्ना युवालाई भियतनाम युद्धमा सरिक गराउन चाहिरहेको थियो भने यूरोप पूँजिवादले मानिसले मानिसलाई वास्ता नगर्ने अवस्थामा थियो । यही माहौलमा युवाहरूको आन्दोलनले आफैं बैरागिएर देश छोड्दै हिड्न थाले ।
त्यो बेला यूरोपमा बैरागिएकाहरू टर्किको ईस्तानबुलमा आईपुगे । त्यहाँका साँघुरा गल्लीहरूले उनीहरूलाई मोहित बनाउदै लग्यो । त्यहाँ केही समय रहेर उनीहरूले प्राचिन सिल्क रोड पच्छाउदैं पाकिस्तानको ईस्लामावाद आईपुगे । इस्लामावादमा रहेका साँघुरा गल्लीहरूले पनि उनीहरूलाई मोहित बनायो । त्यहाँ पनि रमाए कोही बनारसको साँघुरा गल्लीहरू खोज्दै उता लागे भने कोही सांग्रिलाको खोजीमा निस्किए ।
चीनले तिब्बत लिए पनि उनीहरूलाई संग्रिला भन्ने स्थान कतै हिमालको फेदीमै छ भन्ने थियो । काल्पनिक यो शहर नेपालमा पनि होला भनेरै यसैको खोजीमा निस्कन उनीहरूलाई प्रेरित गर्यो । जसको कारण उनीहरू सडक मार्ग हुदैं काठमाडौं आईपुगे । काठमाडौंमा पनि उनीहरूलाई झोंछेको गल्लीले झनै मोहित बनायो ।
हिप्पीहरू काठमाडौं प्रबेश गर्ने बेलामा नेपालमा गाँजा प्रतिबन्धित अवस्थामा थिएन । यहाँ उनीहरूलाई यहाँको बौद्ध र हिन्दु धर्मको ध्यान, निस्फिक्रि हिड्डुल गर्न पाउने वातावरण, साँघुरा गल्लीहरूले मोहित नै बनायो ।
हिप्पीहरू आफु गाँजामा रमाएपनि उनीहरूले नेपाली समाजलाई गाँजा खान भने सिकाएनन् । आफैं स्वतन्त्रपूर्वक रमाउने उपायहरू सिकाए । यसरी सडक मार्गवाट आउने हिप्पीहरूले साथैमा गाडीहरू पनि लिएर आउथे । यसरी आउने जर्मन हिप्पीहरूले भग्सवेगनका गाडीहरू पनि लिएर आएका हुन्थे । नेपालवाट जाने बेलामा उनीहरूले उक्त गाडीहरू बिक्रि समेत गरे । जून गाडी केही बर्ष अगाडीसम्म पनि भक्तपुर–काठमाडौं गुड्ने मुख्य सवारी साधनको रुपमा रहेको थियो ।
हिप्पीहरू झोंछे आउनु भन्दा अगाडी अहिलेको ठमेलको अवधारणा आएकै थिएन । अहिलेको ठमेल भएको एरियामा बाँसको भाटाहरूले घेरेर एउटा रेष्टुरेन्ट संचालनमा आएको थियो उक्से भनेर । त्यो रेष्टुरेन्ट एउटी दिदीले चलाउथिन् । त्यो रेष्टुरेन्ट हिप्पीहरूको खाना खाने प्रिय ठाउँ बन्दै गएको थियो । त्यो रेष्टुरेन्टमा गाँजा नखाने छिरेको गाँजाको मात लिएर फर्किने गथ्र्यो । यति गाँजाको धुवा हुन्थ्यो कि भनि साध्ये थिएन ।
हिप्पीहरूको प्रबेश ठमेल तिर पनि हुन थालेपछि कर्ण शाक्यले काठमाडौं गेष्ट हाउस खोले हिप्पीहरूको रुची अनुसारको खाना बनाउन थाले । केहीले हिप्पीले लगाउने शैलीको कपडा पसल राख्न थाले यसरी उनीहरूले गर्दा अहिलेको ठमेलको रुप विकास भयो ।
हिप्पीहरूले नै नेपालमा पर्यटकको अवधारणा विकास गरेको मलाई लाग्छ । हिप्पी आउनु भन्दा अगाडी विदेशीहरूलाई कसरी सत्कार गर्ने, के खुवाउने कसरी बसाउने जस्ता कुरामा नेपालीहरू खासै जानकार थिएनन् । उनीहरूले संग्रिलाको नाममा पश्चिमी मुलुकका मानिसहरूलाई नेपाल तर्फ मोहित गरे ।
पश्चिमी मुलुकका युवाहरूको आकर्षण गाँजा खाने बहानामा नेपालमा बढ्न थालेपछि राजा महेन्द्रले नेपालमा गाँजालाई प्रतिबन्ध लगाए । गाँजा खान आएका हिप्पीहरूले देश छोड्नु भने । यसरी नेपाल छोड्नु पर्दा उनीहरूबिच रुवाबासी नै भयो । घर फर्किनुपर्छ भनेर केहीले यही आत्महत्या समेत गरे ।
(डा. सुवेदीसंग गरिएको कुराकानीमा आधारित)