संक्रमणमुक्त भएपछिका यी समस्याबाट कसरी बच्ने ?
कोरोना भाइरसबाट सबैभन्दा धेरै जोगाउनु पर्ने अङ्ग भनेको फोक्सो हो । तर, यो बाहेक पनि संंक्रमण मुक्त भएका केही व्यक्तिहरुमा मुटुमा र रगत जम्ने समस्याहरु देखिन थालेका छन् । त्यसैले गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरुले संक्रमणमुक्त भएर घर फर्किएपछि मुटु, फोक्सो र रगतको समस्या ठिक छ वा छैन ? भन्ने कुरामा ध्यान दिनुपर्छ ।
कोरोना संक्रमित भएका केही बिरामीमा अक्सिजनको मात्रा कम हुन्छ । यसले संक्रमितको मुटुमा असर पुग्न सक्ने मुटु रोग विषेशज्ञ डा. ओम मुर्ति अनिल बताउँछन् ।
‘प्राय सिकिस्त बिरामीहरुमा मात्र मुटुमा समस्या हुन सक्छ, सामान्य लक्षण भएर होम आईसोलेसनमा बसेका प्रायः व्यक्तिहरुमा मुटुको समस्या हुँदैन, उनी भन्छन्, घरमा आइसोलेसनमा बसेकाहरुलाई श्वास प्रश्वासमा समस्या देखिने, छाती दुख्ने, मुटु ढुकढुक हुने र स्वाँस्वाँ हुने जस्ता समस्याहरु चिकित्सकको सल्लाह लिनुपर्छ ।’
उनका अनुसार होम आइसोलेशनमा बसेकाहरुमा भन्दा कोरोना रिपोर्ट नेगेटिभ आएर घर फर्कीएका बिरामीहरुमा पछि यस्ता समस्याहरु देखिएका छन् ।
‘कोरोना संक्रमणमुक्त हुने बित्तकै फोक्सोमा भएको समस्या पनि निको भयो भनेर ढुक्क हुनु हुँदैन’, श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डे भन्छिन्, ‘कोरोनाले गर्दा निमोनियाले अस्पताल भर्ना भएका बिरामीहरुमा लामो समयसम्म पनि श्वासप्रश्वासमा समस्या हुनसक्छ ।’
होम आइसोलेशनमा बसेका संक्रमित र कोरोना संक्रमण मुक्त भएर घर फर्किएका बिरामीहरुले ६ मिनेट वाक टेस्ट गरेर आफ्नो अक्सिजन लेबल नाप्नुपर्छ । हिँड्दा सास फेर्न गाह्रो भएको छ की छैन भनेर ख्याल राख्नुपर्ने विज्ञहरुको सुझाव छ । यदि भ-याङ उक्लिँदा र ओर्लिदा गाह्रो हुन्छ। अक्सिजनको कमी भएको महशुस भएको अवस्थामा तत्काल चिकित्सकको सल्लाह अनुसार अस्पताल लैजानुपर्ने विज्ञहरु सुझाउँछन् ।
लामो समयसम्म अस्पतालमा भर्ना भएका बिरामीहरु, होम आइसोलेशनमा बसेका र कोरोना संक्रमण मुक्त भएका बिरामीहरुको माशंपेशीहरु एकदम कमजोर भएको हुन्छ । त्यसैले यस्ता बिरामीहरुले फिजियोथेरापी गर्नुपर्छ ।
बच्ने उपाय
— यदि मद्यपान तथा धुम्रपान गर्ने बानी छ भने काभिड त्याग्नुपर्छ ।
— खानपिनमा विशेष ख्याल राख्नुपर्दछ, फलफूल, हरियो सागशब्जी प्रशस्त खानुपर्दछ ।
— पानी धेरै पिउनुुपर्छ, शरीरमा पानीको मात्रा कम भयो भने रगत जम्ने सम्भावना धेरै हुने गर्दछ ।
— अस्पतालबाट डिस्चार्ज भएको दुई सातापछि डाक्टरकोमा नियमित फलो–अप चेक गर्नुपर्दछ, आवश्यक परे डाक्टरसँगको सल्लाहमा ईसीजी, इको, काडियाग्राम गराउनुपर्दछ ।
— अस्पतालबाट फर्किएपछि बिस्तारै हलुका किसिमका शारीरिक अभ्यासहरु गर्नुहोस् ।
— दिनभर बेडमा सुतेर बस्नुहुँदैन, योग गर्ने र सकारात्मक सोचको विकास गर्नुपर्दछ ।
— श्वासप्रश्वास सम्बन्धि व्यायामको साथसाथै अन्य व्यायामहरु पनि गर्नुपर्छ ।
— हिँडडुल गर्दा थाकियो भनेर हिँडडुल गर्न छोड्नु हुँदैन बिस्तारै–बिस्तारै हिँड्ने प्रयास गर्नुपर्छ ।
— आत्मबल बलियो बनाउनुपर्छ र सकारात्मक सोचको विकास गर्नुपर्छ ।