सन्दर्भ: राजदरबार हत्याकाण्ड
‘कतैबाट गोली हान्ने हो कि भन्ने डरै-डरमा फोटो खिच्यौँ’
२०५८ साल जेठ १९ अर्थात् तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको दिन । उच्च सुरक्षाको घेराभित्रै भएको दरवार हत्याकाण्ड २० वर्ष पूरा हुँदा पनि रहस्यमै छ । त्यसैले यो दिनलाई नेपालीले कालो दिनको रुपम लिन्छन् । जसले नेपालीहरुलाई झस्काइरहन्छ ।
गणतन्त्र आइसक्दा समेत त्यो रात सम्झेर नेपालीहरुको गहभरी आँशु हुन्छ । जनतासामु उदार राजाको छवि बनाएका राजा वीरेन्द्रको वंश नाश हुनेगरी भएको दरवार हत्याकाण्डपछिका दृश्यलाई नजिकैबाट नियालेका र बन्दुक पड्किएको आवाज सुनेका फोटोपत्रकारहरु यसरी स्मरण गर्छन् ।
नरेन्द्र श्रेष्ठ : फोटो पत्रकार
म त्यतिबेला समाचारपत्रमा काम गर्थें । साँढे नौ कि १० बजेतिर मलाई फोन आयो । चन्द्रशेखरजीले दरवारमा केही भएजस्तो छ भनेर फोन काटिदिनु भयो । त्यसपछि बीबीसीमा नेपालमा यस्तो भयो भन्ने सुनियो ।
सबैभन्दा पहिले समाचार दिएको भनेकै बीबीसीले हो । त्यतिबेला एकदमै डरको माहोल थियो । कसले आक्रमण गरेको हो, थाहा थिएन । निकै डर लागिरहेको थियो । बाहिर निस्किँदा हामीलाई झ्याप्प समातेर गोली हानिहाल्ने हो कि जस्तो भयो । त्यसपछि तीन, चार जना फोटो पत्रकारहरुसँग हामीले कुरा गरिरह्यौँ । यो क्रम रातको १२ बजेसम्म चल्यो । त्यसपछि अहिले निस्किन ठिक छैन भोलि बिहान चाहीँ देवेन्द्र मानसिंह दाईको घरमा भेट्ने भन्ने कुरा गरेर सुत्यौँ । भोलिपल्ट ६ बजेतिर हामी त्यहाँ पुग्यौँ । त्यतिबेलासम्म दरवारमा भएको कुरा थाहा भइसकेको थियो । त्यसपछि शवहरु छाउनीमा लगेको कुरा थाहा भयो । त्यसपछि सबैजना त्यतै लाग्यौँ । छाउनीमा जाँदा त्यहाँको म्यूजियमबाट भित्र जान दिइएको थिएन । त्यहाँ गएर आर्मीले सील गरेको ठाउँ र अस्पतालको फोटो खिच्यौँ । तर, मनमा डर उस्तै थियो ।
दिउँसो त बीबीसी पनि काठमाडौं आउन थालिसकेको थियो । समग्रमा भन्नुपर्दा एउटा कन्फ्यूजनको माहोल थियो ।
व्यापारी महिलाहरु दरवार अगाडि लुँगी लगाएर भेला भएको पनि देखिएको थियो । हामी फोटो खिच्न लाग्यौँ । आर्मीले त्यतिबेला दरवार वरिपरि घेरेर राखेको थियो । धेरैजसो मानिसहरु याक एण्ड यति होटल भन्दा यता आउन पाएका थिएनन् । त्यो बेला यो कन्फरेन्सी हो, ज्ञानेन्द्रले मारेको हो, भन्ने कुराहरु भएको थियो । त्यसपछिका २, ३ दिनसम्म काठमाडौंमा जुलुसैजुलुस भयो । काठमाडौंका अधिकांश मानिसहरु कपाल मुण्डन गर्न थाले । दरवारतिर जान थाले । तर पुलिसले त्यहाँबाट लखेट्दा झडपको स्थिती भइरह्यो । त्यो बेला हामीलाई फोटो खिच्नका लागि दरवार भित्र, अस्पताल भित्र जान दिइएको थिएन । त्यो बेला प्रेस फ्रीडम अहिलेको जस्तो थिएन, गाह्रै भयो । अस्पतालको माहोल खिच्नको लागि हामी घर र गुम्बामाथि चढेर खिच्ने प्रयास गरेका थियौँ, तर रुखले छेक्यो । जनताले राजा वीरेन्द्रलाई अत्याधिक मन पराउँथे । मलाई अहिले पनि याद छ, उहाँको शवयात्रा छाउनीबाट शुरु भएर पशुपतिसम्म लग्ने बेला ठूलो भीड थियो । मानिसहरुले बाटोमा राजपरिवारको फोटो राखेर श्रद्धाञ्जली दिइरहेका थिए ।
विकास रौनियार : फोटो पत्रकार
त्यो दिन बेलुका ४ बजेतिर बालाजुमा एउटा कार्यक्रम थियो । म त्यतिबेला कान्तिपुरमा काम गर्थें, म, श्रीमती सम्झना र नायिका निरुता सिंह गएका थियौँ । त्यो कार्यक्रम करिव ५ बजेतिर सकियो । त्यसपछि हामी डिनर नखाइकिन ठमेलको पिज्जा खान भनेर आयौँ । त्यसपछि नयाँ आइसक्रिम पार्लर खुलेको छ भन्ने थाहा पाएकोले राती नौ बजेतिर दरवार मार्गमा गएका थियौँ । यो नारायणहिटी दरवारको गेट अघिरहेको ट्राफिक पुलिसको अफिस नजिकै थियो । आइसक्रिम खाँदाखाँदै ड्वाङ्ग गरेको आवाज आयो । त्यसपछि मैले कतै गाडीको टायर पन्चर भयो होला भन्ने सोचेँ । त्यसपछि निरुताजीलाई बालुवाटारको उहाँको घरमा छोडेर हामी आफ्नो घरमा आयौँ । राती १२ बजेतिर मलाई एउटा फोन आएको थियो । सायद नेपाली टाइम्सका सम्पादक कुन्दा दाईले फोन गर्नुभएको जस्तो लाग्छ । उहाँले बीबीसी हेर है मात्र भन्नुभयो । टिभी खोलेर हेरेँ । दरवारमा केही भयो भन्ने खबर थियो । त्यसपछि भूषण दाहाल जीलाई थाहा होला भनेर उहाँलाई फोन गरेँ । उहाँले ठूलै घटना भएको छ भन्नुभयो, अरु केही बोल्नुभएन ।
त्यसपछि त्यहाँ गोली चलेको छ र मान्छे मरेका छन् भन्ने थाहा भयो । मैले साथीहरुलाई फोटो खिच्न निस्कौँकी भनेर फोन गरेँ । साथीहरुले मलाई यो बेला जे पनि हुन सक्छ, एक्लै नहिँडौँ भोलि ग्रुप बनाएर हिँडौँ भने । त्यसपछि छाउनी गयौँ, त्यो बेला आर्मी अस्पतालको गेटको फोटो हामीले पहिलोपटक खिच्न पाएका थियौँ । त्यसपछि राज्यपरिषद्को बैठक बस्दैछ भन्ने जानकारी आयो र म त्यतै गएँ । त्यो बेला राज्यपरिषद्को सभापति केशर जंग रायमाझी, प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, लगायत मन्त्रीहरु, दरवारका सचिवहरु आदि उपस्थित थिए । त्यहाँ पहिलोपल्ट उनीहरुले राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज निराजन, अधिराजकुमारी श्रुतीसहित राजपरिवारको मृत्यु भएको बताए र राजा दीपेन्द्रलाई बनाएको घोषणा गरे । साथै राज्य शाहको रुपम ज्ञानेन्द्रलाई बनाइएको थियो ।
त्यतिबेलासम्म काठमाडौंमा तनावको वातावरण भइसकेको थियो । मानिसहरु दरवारमा गइरहेका थिए, कतिले कपाल खौरिसकेको थिए । जनता दुखीत र आक्रोशित थिए । हामी त्यसपछि फेरि छाउनी गयौँ, त्यो बेला अस्पताल भित्रै जान दिएको थियो । त्यो बेला यति भीड थियो कि, मैले छाउनीबाट शोभाभगवतीसम्म खिच्न सकेँ, त्यसपछि ठेलाठेल भयो म दरवारअघि अर्को बाटोबाट फोटो खिच्न निस्किएँ । तर त्यो बीचमा शोभाभगवती कटेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गाडीमा ढुङ्गामुढा भएको खबर आएको थियो । त्यसपछि कर्फ्यू लाग्ने हल्ला भयो र म पशुपतिमा गएँ । त्यहाँ एकैपटक त्यति धेरै शवहरु जलाइएको थियो । त्यतिबेला बल्ल हामीले दीपेन्द्र कोमामा गएका छन् भन्ने खबर पायौँ । दाहसंंस्कार सकिँदा त लगभग रातीको ११ नै बजिसकेको थियो । राजदरवारीया कर्मचारीलाई हामीले सोध्दा त्यो बेला सबैभन्दा धेरै दीपेन्द्रलाई, ज्ञानेन्द्र, कतिले माओवादी पसेर गोली चलायो, कसैले दीपेन्द्रले होइन रअले मारेको हो भन्ने बताएका थिए । त्यो बेला यस्तै हल्ला व्यापक थियो ।
राजेन्द्र चित्रकार : फोटो पत्रकार
म त्यतिबेला गोरखापत्रमा थिएँ । मलाई थाहा भएपछि हामी छाउनी गयौँ । तर छाउनीमा भित्र कसैलाई पस्न दिइएन । भित्र जान नदिएपछि हामी त्यहिँबाट फर्कियौँ । त्यो बेला काठमाडौंको माहोल एकदमै डरलाग्दो थियो । मानिसहरु राजा वीरेन्द्रको परिवारकै हत्या भयो भनेपछि एकदमै आक्रोशित र भावुक देखिन्थे । हामीले दिउँसो भएका शवयात्राहरु र जलाएको बेलाका दृश्यहरु कैद गरेका थियौँ । शव यात्राको बेला बाटोभर टेक्ने ठाउँ नै थिएन । भिनाजुले बिहान साढे ५ बजेतिर फोन गरेर यो समाचार भन्दा पहिला त पत्याइन तर समाचारमै आएपछि पत्याएँ ।
त्यसपछि न्यूज कभर गर्न भनेर निस्किएको थिएँ । तर हामीलाई चोकमै रोक्यो । कसैलाई जान दिइएन । मानिसहरु सडकमा रोईरहेका थिए । राजपरिवारको कुरा गर्नुपर्दा एकदमै सहयोग गर्ने हुनुहुन्थ्यो । एकपटक वडाबाट प्रमाणपत्र वितरण गर्ने कार्यक्रम थियो । त्यहाँ दीपेन्द्र सरकार पनि आउनुभएको थियो । त्यो बेला हामी फोटोपत्रकारहरुलाई तपाईहरुलाई के छ, ठिक छ कि छैन भनेर सोध्नुभएको थियो ।