एक साता लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा, के–केमा गरियो कडाइ ?
काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप भएको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले झन् कडाईका साथ एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ गतेदेखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधाज्ञा थप गरेको थियो ।
जेठ १४ गते राती १ बजेबाट २० गते बेलुका १२ बजेसम्म लागू हुने गरी थप गरिएको निषेध आदेशमा बिहान, साँझ हिड्डुल (मर्निङ वाक, इभिनिङ वाक) गर्न समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यसैगरी, निषेधाज्ञामा तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्म खोल्न पाइनेछ । यद्यपि, किराना पसल डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । यसैगरी, तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न नपाइने भएको छ । स्थानीय ढुवानीका हकमा बिहान ९ बजेसम्म मात्र पाइनेछ । तर औषधि तथा स्वास्थ्य सामाग्री सम्बन्धि पसल जुनसुकै समयमा संचालन गर्न पाइने छ ।
त्यस्तै, सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान, इन्टरनेट सेवा प्रदायक र एनसेलका सवारी साधनको संचालनमा पनि कडाइ गरिएको छ । यी क्षेत्रका सवारी साधन बिहान साढे ९ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्ममात्र संचालन गर्न पाइने छ ।
निर्माणका कार्यलाई पनि एक साताका लागि रोक लगाउने निर्णय भएको छ । यसैगरी विवाह व्रतबन्धको हकमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्न पाइने भएको छ ।
साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज हुने भएको छ । यदि आदेशको अवज्ञा गरे कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने कार्यालयले जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशको पूर्णपाठ


