पशुपतिनाथका १३ ओपन सेक्रेट
डा. गोविन्द टण्डन, संस्कृतिविद्
२ सय ४० हेक्टर जग्गामा फैलिएको छ, पशुपतिनाथ मन्दिर । सन् १९७९ देखि यो युनेस्कोकोे विश्व सम्पदा क्षेत्रमा रहँदै आएको छ । पशुपतिनाथ काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिक स्थलको रूपमा समेत प्रमाणित भइसकेको छ ।
अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरू रहेकाले पशुपतिनाथ मन्दिर क्षेत्र खुला संग्रहालयझैँ छ । यस मन्दिरको अनेक विशेषता रहेका छन् । ती मध्येकेही फरक विशेषताहरूको चर्चा गर्ने कोशिस गरिएको छ । यस्ता छन् पशुपतिनाथका ओपन सेक्रेटः
१. भगवान शिव भनेको त्रिदेव हुन्, अर्थात ब्रम्हा, विष्णु र महेश । शास्त्रअनुसार भगवान शिवले सुक्ष्मभन्दा सुक्ष्म ढंगले सम्पूर्ण ब्रह्माण्ड चलाउनु हुन्छ । उनै भगवानको मूख्य मन्दिर हो, पशुपतिनाथ ।
२. अन्धकार वा अचेतनामा रहुन्जेलसम्म मान्छे पशु बराबर हुन्छ । वहाँ पशुका पनि नाथ हुनुहुन्छ । जब पशुपतिनाथको दर्शन र भक्ति गरेपछि अनुराग बढ्न थाल्छ, तब रूपान्तरण भएर पशु पनि मान्छे बन्छ ।
उहाँको घरमै सबैको मेलमिलाप छ । एकै घरमा साँढे, सिंह, मुसा, मयुर र सर्पहरू छन् । सामान्य हेराईमा साँढेलाई सिंहले खान्छ, मुसा र सर्पलाई मयुरले खान्छ तर पनि घरमा सबै मिलेर बसेका छन् । घरमा केही कोलाहल छैन । उहाँको वासस्थान अन्य देवताको जस्तो सुखसयलको छैन । घरमा भूत, प्रेत राक्षस, देवता सबै एकसाथमा बसेका छन् ।
३. भगवान शंकरको पशुपति नामबाट पुकारिने वैदिक मन्दिर संसारमा अर्को छैन । अर्थात पशुपतिनाथ नै एकमात्र वैदिक मन्दिर हो । यसको स्थापना हजारौँ बर्षअघि भएको हो ।
४. हिन्दूहरूका ३३ कोटी देवता छन् । यी सवै देवतालाई कहिले पुजिसक्ने ? तर, शिवलिङ्ग पुजेपछि पुग्छ । किनभने शिवलिङ्ग ३३ कोटी देवताको पनि प्रतीक मानिन्छ । शिवलिङ्ग एक लिङ्ग नभएर ज्योति अर्थात् ज्ञानको ब्रह्माण्ड हो ।
५.पशुपतिनाथ भारतमा रहेका भगवान केदारनाथको पनि शिर हुन् । चारधाम यात्रा गरेर अन्तिममा पशुपतिनाथमा आएर पूजा अर्चना गरिएन भने पूर्ण भएको मानिदैन ।
६. जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार सम्पन्न गर्न पनि पशुपतिनाथ क्षेत्र नै सवैभन्दा उत्तम मानिन्छ ।
७. शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका लागि पशुपति क्षेत्र आस्थाको केन्द्र हो । यत्तिको सम्प्रदायको एउटै आस्थाको केन्द्र मानिने मन्दिर पनि पशुपतिनाथ नै हो ।
८. पशुपतिमा पशुपति बसेको तला समेत गरेर तीन तला छन् । त्यसैले जल आचमन गर्दा आत्म तत्वाय नमः, विद्या तत्वाय नमः र शिव तत्वाय नमः स्वाहा भन्ने गरिन्छ ।
९. पशुपतिको दर्शनपछि बाहिरिने बेलामा गजुरको दर्शन हुन्छ, त्यहाँ पाँच चुचुरा छन् । बीचको ठूलो शिव, ईशानको हरि, आग्नेयको सूर्य, नैऋत्यको गणेश र वायव्यको देवी हुन्, जसलाई शिव पाञ्चायन भनिन्छ ।
१०. कीर्तिमुख भैरवमा पूर्णिमाको दिन राँगो, बोको, हाँस, भेडो र कुखुराको पञ्चबलि दिने र त्यहाँबाट धागो टाँगेर धर्मशिलाको भोजनमा पु¥याइन्छ, त्यसपछि पशुपतिको दक्षिण ढोका खोलेर पशुपतिलाई अर्पण गरिन्छ ।
११. पशुपतिका विभिन्न मुखको चर्चा गरेपनि पशुपति एक छन् । जस्तै पैतालादेखि घुँडासम्मको भाग पश्चिममुख, घुँडादेखि नाभिसम्मको भाग उत्तरमुख, नाभीदेखि हृदयसम्मको भाग दक्षिणमुख, हृदयदेखि भृकुटीसम्मको भाग पूर्वमुख र भृकुटीदेखि शिखासम्मको भाग ईशान मुख गरेर पशुपतिको सबै शरीर मिलाएर एउटै हो भन्ने बुझ्न आवश्यक छ ।
१२. महेश्वर अलिङ्ग छन् । पशुपतिनाथलाई अंगी बुझ्नपर्छ । अंगीको ज्ञान त्यस बेलामा मात्र हुन्छ, जुन बेलामा त्यसका सबै अंगको ज्ञान हुन्छ । अंग सम्पन्न नभए अंगी पूर्ण हुन्न । त्यसैले, पशुपतिलाई राम्रोसँग बुझ्न पशुपतिसँग सम्बन्ध राख्ने बाहिरका शक्त र शक्तिलाई बुझ्न आवश्यक छ ।
सामान्य हेराईमा साँढेलाई सिंहले खान्छ, मुसा र सर्पलाई मयुरले खान्छ तर पनि भगवान् शिवको घरमा सबै मिलेर बसेका छन् ।
१३. पशुपतिका पाँच मुख
पशुपतिनाथका प्रतिष्ठित मुखलिङ्ग विष्णुधर्मोत्तर पुुराणमा वर्णन गरिएअनुसार निर्माण भएका छन् । यसमा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी ४ मुख छन् । त्यसमा सबैको बीचमा रहेर आकाशतिर फर्किएको मुखलाई पाँचौँ मुख अर्थात् ईशान मुख भनिन्छ । तन्त्रशास्त्रले भने सबैभन्दा तल छ्रैटौँ अधोमुख मानेको छ ।
क. सद्योजात
शिवका पाँच मुखमध्ये पश्चिमतर्फ मोहडा भएको मुख सद्योजात हो । सद्योजातको अर्थ भर्खरै जन्म भएको भन्ने हुन्छ । यो मुख भर्खरै जन्मिएको शिशुको जस्तै शान्त र सुकोमल रहेको बताइएको छ । वेदमा यसलाई पशुपति भनिएको छ । यसले पृथ्वीको प्रतिनिधित्व गर्दछ । यसलाई नन्दीमुख पनि भनिन्छ । यस मुखको दर्शन गर्नाले यो लोकमा तत्वज्ञान र वाञ्छितफल प्राप्त हुन्छ र मृत्युपछि संसाररूपी भवसागरबाट मुक्ति मिल्छ भन्ने धर्मशास्त्रमा वर्णन गरिएको छ ।
ख. वामदेव
पशुपतिनाथको उत्तरी मोहडालाई वामदेव भनिन्छ । वामदेवका ज्येष्ठ, श्रेष्ठ, रूद्र, काल, बलविकरण, बलप्रमथन र सर्वभूतदमन नामका नौ शक्ति स्वरूप छन् । यसले जलतत्वको प्रतिनिधित्व गर्दछ । यसलाई उमामुख पनि भनिएको छ । यस मुखलाई यजुर्वेदको शाखा मानिएको छ । यसको दर्शन गर्नाले शिवको सामिप्यमा बस्न पाइने कुरा धर्मशास्त्रमा वर्णन गरिएको छ ।
ग. अघोर
महादेवको दक्षिण मुख अघोर हो । यो सत्व, रज र तम गुणले युक्त छ । महादेवको यो श्रृष्टि, स्थिति र संहार तीन वटै अवस्थाको विग्रह रूप हो । यसलाई वेदले सर्वमुख भनेको छ । यसलाई भैरवमुख पनि भनिन्छ । यो पशुपतिको रौद्र रूप हो । यस मुखको दर्शन गर्नाले जन्म, स्थिति र मृत्युको भयबाट मुक्ति पाउने विश्वास रहेको छ ।
घ.तत्पुरूष
शिवको पूर्व मुख हो तत्पुरूष । यसको अर्थ परव्रह्म भन्ने हुन्छ । वेदले यसलाई सम्पूर्ण देवताका राजा इन्द्र र भव नामले पनि पुकारेको छ । यस मुखले वायुतत्वको प्रतिनिधित्व गर्दछ । तत्पुरूष मुखलाई अथर्ववेदको स्वरूप मानिएको छ ।
ङ.उर्ध्वमुख
शिवको उर्ध्वमुखलाई ईशान भनिन्छ । शक्ति, सुखको श्रोत र चारै मुखको बिन्दु मानिएको यसलाई पशुपतिको प्रधानस्वरूप मान्ने गरिन्छ । यसबाट महादेवले तीन लोक र चौध भुवनको नियम बाध्ने र लागू गराउने गरेको तथ्य धर्मशास्त्रमा पाइन्छ । यसलाई कामेश्वरी शक्तिले अभिन्न सदाशिव स्वरूप मानिएको छ । यसले आकाश तत्वको प्रतिनिधित्व गर्दछ । पशुपतिनाथको उर्ध्वमुख निराकार छ ।
च.अधोमुख
तन्त्रशास्त्रले माथि उल्लेखितबाहेक अर्को एउटा मुख पनि रहेको बताएको छ, जसलाई अधोमुख भनिएको छ । यस मुखसहित पशुपतिनाथका ६ मुखबाट तन्त्रविद्याका ६ आम्नायको उत्पत्ति भएको तन्त्र शास्त्रमा उल्लेख गरेको पाइन्छ ।
(पशुपति विकास कोषका पूर्व सदस्य–सचिव डा. टण्डनसँगको कुराकानीमा आधारित ।)