समुद्रपारिबाट सबीको मुक्तक कोशेली : अपरिभाषित आभा
सलाम तिमीलाई तमाम शिशिरहरु
सधैँ मुटु उनिरहने प्रिय झिरहरु
यो घाउ नि सहुँला पुरानो त भर्न देउ
धन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु
मुक्तककार सबी श्रेष्ठको प्रेमिल वाचनले माहौंलको ध्यान खिच्यो । चार लाइनको मुक्तक सकिन केही सेकेण्डमात्र लागेको हुँदो हो, त्यो भन्दा लामो तालीको गडगडाहटले हल गुञ्जाएमान बनायो । यिनका प्रत्येक वाचन सँगै सहभागीहरूका मुखबाट फुत्कने पहिलो शब्द थियो वाह ! मानौं यिनले मुक्तक चोटिलो, पोटिलो र रसिलो हुन्छ भन्ने स्वाद आज पहिलोपटक चाखेका छन् । यसपछि यिनले लगालग आफ्ना सिर्जना पस्कदै गइन ।
मैले लेख्ने हर शब्द हर अक्षरले माया गरेँ
बिर्सेर सधै आफैलाई हर रहरले माया गरेँ
सक्दैनौं नाप्न तिमी यो गहिराई छ अनन्त
भुलेर भूगोल सिमाना † हर तरहले माया गरे ।
हालै काठमाडौंमा आफ्नै पहिलो कृति ‘अपरिभाषित आभा’ सार्वजनिकीकरण कार्यक्रममा उनले यसरी मुक्तक बाँचेकी हुन् । उनका दर्शक श्रोता पनि कम चानचुनेका थिएनन । मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वरिष्ठ मुक्तककार उषा शेरचन, रमेश पौडेल, सुनिल अधिकारी, सीता रिजाल, कल्पना काफ्ले, मीना चौलागाईं, सन्तोष अम्गाईं लगायतका दिग्गज मुक्तककारले उनका श्रृजनालाई मुक्तकण्ठले प्रशंसा गरे । लोकार्पण समारोहकी प्रमुख अतिथि शेरचनले त कृतिकार श्रेष्ठलाई नेपाली मुक्तकलाई विश्वव्यापीकरण गर्नमा योगदान दिएको भन्दै सम्मान समेत गरिन् ।
खै के कोरु तिम्रो सम्झनामा मस्त भएछु म
परिवर्तित छ प्रेम दिलमा विश्वस्त भएछु म
तस्विर छ जताजतै सुस्ताउँदा परेलीहरु
न निद न चैन प्रेमले ग्रस्त भएछु म
पकेट साईजको यो मुक्तक कृतिमा सचित्र १ सय १ मुक्तक समेटिएका छन् । अधिकांश प्रेमिल, कतै यो आफ्नै कथा व्यथा त होईन ? प्रश्न भुईमा खस्न नपाउँदै उनी बोलिन, ‘होइन, होइन यो मेरै भन्दा पनि मैले देखे सुनेको अरुकै भोगाई हो।’ त्यसो त पुस्तकमा देशप्रेम, समाजका कुरिती र बेथिती पनि समेटिएका छन् । मल्टिकलर र यो साइजमा छापिएको यस्तो पुस्तक सम्भवतः नेपालमै पहिलो भएको सबीको दाबी थियो । बोक्न र पढ्न सहज हुने यस्तो पुस्तकको परिकल्पना उनले परदेशमै गरेकी रहेछिन । जुन अहिले घरदेशका पाठकका निम्ति मिठो कोशेली बनेको छ ।
कहिले कोमल फूलको थुंगा बन्छ मानिस
कहिले नदी तरिदिने डुंगा बन्छ मानिस
अभिनयको रंगमञ्चमा नाटक गर्दागर्दै
देउता बन्ने रहरमा ढुङ्गा बन्छ मानिस
व्यवहारिकताले च्यापेर अक्षर छाडी अंकको खेतीतिर लाग्नुपरेपनि साहित्यप्रतिको यिनको रुझान पुरानै रहेछ । करिब दुई दशक अघिको । पहिलो कृतिमा समेटिएका कतिपय मुक्तक त उनले दशक अघिनै रचेकी रहिछन् । कोही स्वदेशकै बनपाखा त कोही समुद्रपारिको गगनचुम्बनी नियाल्दै । ४ वर्ष बेलायततिर बरालिएपछि विगत ९ वर्षदेखि उनी पोर्चुगलमा बसोबासरत छिन् ।
सिन्धुपाल्चोक जलबिरेकी यिनले सुरुवाती दिनमा कविता, गीत र कथा पनि नलेखेकी होइनन् । स्कुलमा हुने साहित्यिक कार्यक्रमहरुमा पुरस्कृत भइरहन्थिन रे उनी । मुना र कान्तिपुर पत्रिकाको कोपिला लगायतमा आफ्ना बाल सिर्जना छाँपिदा खुशीको पोको त मडारिने भयो नै, एकदुई सय पारिश्रमिक पनि हात पर्दा कम्ता फुरुङ् हुँदैन थिन उनी । यसले उनलाई अझ राम्रो लेख्न कुतकुतायो । अनि निरन्तर लेखिरहिन । तर कालान्तरमा भने यिनलाई मुक्तकले नै लोभ्यायो । यसो किन त ? ‘लेख्दा छोटो, पढ्दा रमाईलो, आजभोलि फेरि मानिसहरुलाई लामो किताब पढिरह्ने बानी नै कहाँ छ र’, उनले प्रष्ट्याइन ।
लेख्नका लागि उनलाई विशेष समय र स्थानले खासै महत्व राख्दोरहेनछ । केवल फुर्नु मात्र पर्यो । खाना पकारहेका बेला होस् कि झाँडुपोछा, सडकमा हिडिरहेका बेला होस् की मोटरमा गुडिरहेको, उनी ठाउँको ठाउँ अक्षर भुटन् थालिहाल्छिन् । उनका थुप्रै राम्रा सिर्जना एकछिनमा लेखुला भन्दाभन्दै गर्भमै विलाएका छन् । यसैले उनी लेख्न ढिला गर्दिनन् । श्रीमान् र परिवारिक सदस्यहरुको पनि उस्तै साथ र समर्थन छ उनलाई । ‘बच्चा बरु म हेरुला, तिमी आफ्नो रुचि नछोड ।’ श्रीमानले दिएका प्रेरणारुपी शब्द सम्झिन उनले ।
सबी अनेसास पोर्चुगल च्याप्टरकी अध्यक्ष तथा नेपाल मुक्तक प्रतिष्ठान बेलायतकी सदस्य हुन् । नेपाली मुक्तक विधाको श्रृवृद्धि र विकासका लागि संस्थाले पोर्चुगलमा समेत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरेको सुनाइन् । ‘जहाँसुकै गएपनि आफ्नो भाषा, धर्म र कलासंस्कृति कहाँ छोडन् सकिदोरहेछ र’, यसो भन्दै उनी फेरि सुरु भइन् ।
रंग फरक छ अनुहार फरक केश मिल्दैन तेरो
परदेश भन्छ हामीसँग भाषा भेष मिल्दैन तेरो
को हुँ म ? अस्तित्व के हो ?हुँ म कुन ग्रहको ?
नक्शा खोज्दै सिमाना भन्छ देश मिल्दैन तेरो ।