सरकारलाई मजदुर दिवस, मलाई पीडा
सन्दर्भ: मजदुर दिवस
भरिया दाईले बिसाउने भारी ।
सुन माया डाँडैको चौतारी ।।
कालीमाटीको सडक पेटीमा काँधमा नाम्लो र हातमा प्लाष्टिकको झोला बोकेका एक भरिया यही गीत गुन्गुनाउँदै आफ्नै तालमा हिँडिरहेका थिए । गीत पुरानो र धेरै चलेको हो । यो गीतले भरिया र मजदुरको कथा व्यथा बोकेको छ । साथै, टाढाको बाटो हिँडिसकेपछि भारी बिसाउने चौतारीमा बसेर सुसेली हाल्ने भरियाको याद दिलाउँछ । काठमाडौंको सुनसान सहरमा गीत भरियाकै यो मुखबाट सुन्दा त्यही याद दिलायो ।
र गाडी रोकेर उनलाई कोट्याउँदै सोध्यौँ, दाई कता जान लाग्नुभयो, कुरा गर्न मिल्छ ?
उनले भने के काम होला ? म अब घर जान लागेको, काम गर्न मन छैन ।
‘दिउँसो सडकको पेटीमा सुतिरहन्छु, भारी बोक्ने काम आएपछि उठाउनुहुन्छ, अनि भारी बोकेर हिँड्छु’ उनले भने ।
होइन दाई, कुरा गरौँ न एकछिन बसेर भनेको हो ।
एए हुन्छ बसौँ न, म त काम हो कि भनेर नि, घर जान लागेको पानी पर्न लाछ ।
घर दोलखा । वर्ष ५१ । गहुँगोरो वर्ण । काँधमा भारी बोक्ने नाम्लो र हातमा रातो प्लाष्टिकको ठूलो झोला, कालीमाटीको सडक पेटीमा यहि हुलियामा देखिएका थिए, रमेश श्रेष्ठ ।
दोलखाका श्रेष्ठ काठमाडौं छिरेको ५, ६ वर्ष भयो । र भरिया बन्न थालेको ३ वर्ष ।
‘दिउँसो सडकको पेटीमा सुतिरहन्छु, भारी बोक्ने काम आएपछि उठाउनुहुन्छ, अनि भारी बोकेर हिँड्छु’ उनले भने ।
प्याज, आलु, चामल र टमाटर लगायत जे आउँछ त्यहि बोक्छन् । यसरी उनले दैनिक ५ सय जति कमाउँछन् । यसको लागि उनी बिहानको ४ बजेबाट बेलुकीको ७ बजेसम्म खटिन्छन् । घरमा एक छोरी र छोरा साथमा श्रीमती छन् । श्रीमती टेलर्समा कपडा सिलाउँछिन् । आफ्नो होइन, अरुकोमा गएर । छोरी ११ कक्षामा पढ्दैछिन् र छोरा पाँचमा पढ्छन् ।
काठमाडौं उपत्यकामा निषेधाज्ञाको दोश्रो दिन (शुक्रवार) उनले भारी बोकेर दुईसय कमाएका थिए । निषेधाज्ञापछि सामानहरु आउने क्रम केही रोकिएकाले काम नपाएको उनको गुनासो छ ।
उनी स्वयम्भूमा ४ हजार ५ सय कोठाभाडा तिरेर बस्छन् । र आज उनी स्वयम्भूदेखि भारी बोक्नकै लागि भनेर हिँडेरै कालीमाटी पुगेका हुन् । उनले दिउँसो तीन बजेसम्म एकसय रुपैयाँ मात्र कमाए ।
‘गाडीमै आउँथे, अहिले लकडाउन भयो, गाडी चलेनन्, हिँडेरै आएको हूँ, अब पनि हिँडेरै कोठा जान लागेको’ उनले भने ।
हिँडेर जानुपर्ने भएकोले गाडी छैन भन्दा उनलाई धेरै दुख लाग्छ । अहिले चीनबाट आलु, चामल, प्याज ल्याइरहेको छ, त्यहि बोक्न पाइन्छ कि, भन्ने आशले उनी बिहानै कालीमाटीसम्म पुगेको बताउँछन् ।
काठमाडौं उपत्यकामा निषेधाज्ञाको दोश्रो दिन (शुक्रवार) उनले भारी बोकेर दुईसय कमाएका थिए । निषेधाज्ञापछि सामानहरु आउने क्रम केही रोकिएकाले काम नपाएको उनको गुनासो छ ।
त्यस्तै आज उनले सय रुपैयाँ कमाएका थिए । ५० रुपैयाँको खाजा खाए र हातमा गोजीबाट पैसा निकाल्दै भने, ‘यी अब ५० को खाजा खाएँ, ५० बाँकी छ, अझै तरकारी लानु छ घरमा, पैसा छैन, कसरी लानु ।’
टाढाबाट गाडीमा सामान आउनुपर्ने र चेकजाँच गरिरहेकोले कम तरकारी आएकोले काम नपाएको उनी सुनाउँछन् ।
उनी आफूजस्तै गरी भारी बोकेर गुजारा चलाउनेलाई खान दिने ठाउँ खोलिदेओस् भन्ने अपेक्षा राख्छन् । ‘कहिले काहीँ त केही कमाई हुँदैन भोकै पनि बसेको छु’ उनी विगत स्मरण गर्दै भन्छन् ।
उनी आफूले यसरी भारी बोकेर अरु बेला भने घरखर्च चलाउन गाह्रो नभएको बताउँछन् ।
आज अन्तर्राष्ट्रिय विश्व मजदुर दिवस । तर ज्याला मजदुरी गर्नेहरुलाई यसको बारेमा थाहै छैन । हाम्रो यही प्रश्नमा उनी भन्छन्, ‘के को मजदुर दिवस थाहै छैन, हामीलाई रङ्गीचङ्गी गर्नैछैन । मात्र दुई छाक खान र बस्न पाए हुन्छ ।’
उनलाई कोरोनादेखि भने धेरै डर लाग्छ । तर के गर्नु बाध्यता नै यस्तो छ कि, जोखिम मोलेर काममा ननिस्कि बेलुका छाक टर्दैन ।
उनी भन्छन्, ‘यो कोरोना त डरलाग्दो रहेछ, जसलाई लाग्यो बिरामी हुने, मर्ने, कस्तो रोग हो यो ? प्रश्न गर्दै फेरि निराश हुँदै भन्छन्, के गर्नु आखिर काम गर्न निस्किनै पर्छ ।’
चाहना र ईच्छा त धेरै नै छन् अब मेरा होइनन्, छोराछोरीका तर कसरी पूरा गर्ने भन्ने चिन्ताले निदाउन नसकेको उनी सम्झन्छन् ।
सरकारले गाडी खोलिदिए काम गर्न सकिन्थ्यो कि भन्ने उनलाई लाग्छ । मजदुरलाई काम गर्न नदिएकोले उनलाई सरकार छ जस्तै लाग्दैन । तर सरकारबाट उनी केही सहयोग गरिदेओस् भन्ने चाहन्छन् । उनी आफूजस्तै गरी भारी बोकेर गुजारा चलाउनेलाई खान दिने ठाउँ खोलिदेओस् भन्ने अपेक्षा राख्छन् । ‘कहिले काहीँ त केही कमाई हुँदैन भोकै पनि बसेको छु’ उनी विगत स्मरण गर्दै भन्छन् ।
कहिलेकाहीँ उनलाई काम गरेबापत् टिप्स पनि दिन्छन् । कसैले बिस्कुट दिन्छन्, दुईचार वटा किनेर, त्यहि खाएर उनी आफ्नो काममा लाग्छन् । ‘भारी बोक्दा धेरै भोक लाग्छ, अनि सबै खाइदिन्छु,’उनले भने ।
आफ्नो स्वास्थ्य अलि कमजोर रहेको उनी बताउँछन् । त्यसैले चाहेजति काम गर्न उनले सकेका छैनन् । उनलाई अर्को पीडा भनेको छोराछोरी र श्रीमतीको छ । उनलाई परिवारका लागि केही राम्रो गरौँ भन्ने लाग्छ । तर कमाएको पैसा बस्न र खानमै सकिन्छ ।
‘सबैले हेप्छन्, पसिना चुहाएर भारी बोकिरहेको देख्दा पनि कसैले पेल्छन्, कसैले बाटो नछोडी हिँड्छन्, अनि आफैँ दायाँबायाँ लाग्नुपर्छ’
‘छोरो जहिल्यै खसीको मासु खाउँ न भन्छ, तर कसरी खुवाउनु, कमाई त्यहि हो’ उनी भन्छन् ।
चाहना र ईच्छा त धेरै नै छन् अब मेरा होइनन्, छोराछोरीका तर कसरी पूरा गर्ने भन्ने चिन्ताले निदाउन नसकेको उनी सम्झन्छन् । यो सम्झँदा उनलाई टाउकोमा नाम्लोको पातोको डाम र भतभत पोलेको तालुको याद आउँछ । उनी टाउको कनाउँदै भन्छन्, ‘बेकार छ ।’
भरिया हुनुपनि गाह्रो छ, आफूले भोगेका कुरा सम्झँदै उनले बाटोमा हिँड्नेले आफूलाई हिँड्न ठाउँ नछोडेको बरु आफैँ भारी बोकेर छोड्नुपरेको कथा सुनाए ।
‘सबैले हेप्छन्, पसिना चुहाएर भारी बोकिरहेको देख्दा पनि कसैले पेल्छन्, कसैले बाटो नछोडी हिँड्छन्, अनि आफैँ दायाँबायाँ लाग्नुपर्छ’ उनले आफ्ना दुखका वेदना सुनाउँदै भने ।