English

सुनिनै छोडे आसारे भाका



‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’

लोकगायिका हरिदेवी कोइरालाले गाएको यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म पनि बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि पर्याप्त वर्षा नभएकाले न किसान रोपाइँमा व्यस्त हुन पाएका छन् न त भएका रोपाइँमा पनि असारे गीत सुनिएको छ ।

नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेको म्याग्दीकी पुरानो लोकगायिका धनकुमारी थापाले बताइन ।

पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको लोकगायिका थापाले बताइन । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको थापाले बताइन । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।

रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिदैन।

नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताए । पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतको अनुभव छ । ‘रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिदैन,’ उनले भने ।

पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमिकता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर राकेश शर्मा बताउँछन् ।

नेपाली लोकगीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतको संरक्षण र संवर्द्धन भने हुन सकेको छैन । संस्कृतिमूलक गीत लोप हुँदैछन् । यस्ता गीतलाई संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ ।

पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमेभुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे, अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।

आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । ‘पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमेभुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे,’ बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले सुनाए,‘तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।’

‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’

बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसके ।

यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिन्छिन् । ‘बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसके,’ उनले भने ।

अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली–ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उनले सुनाइन ।

कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो, तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।

अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । ‘कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो,’ बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले सुनाए,‘तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।’

कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलन भएका बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार प्रकाश श्रेष्ठले बताए ।

असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान
हाड–मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान
असारमास कुटेका चिउरा म कति साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।’

यो पनि…
मन्त्री यादवले मेसिनबाट रोपे धान (फोटो फिचर)
यस्तो छ असार १५ र दही चिउराको सम्बन्ध



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।