पहिलो लकडाउनकै ऋण तिरेको छैन
काम नगरे हातमुख जोड्न पाइदैन
सोगरथ राम काठमाडौंको कोटेश्वरमा जुत्ता सिलाउने काम गर्छन् । तर सरकारले निषेधाज्ञा जारी गरेपछि उनको रोजीरोटी खोसिएको छ । उनले अबको केही दिन सडकको पेटीमा बसेर जुत्ता सिलाउन पाउने छैनन् । निषेधाज्ञापछि धेरै मानिसहरु गाउँ फर्किए । उनलाई भने गाउँ फर्किन मनै छैन । उनी भन्छन्, ‘मरे यहिँ मर्छु, गाउँ फर्किन्न ।’
उनले गत वर्ष भएको लकडाउनमा गुजारा चलाउन छिमेकीबाट डेढ लाख रुपैयाँ ऋण लिएका थिए । अहिलेसम्म त्यो ऋण तिर्न सकेका छैनन् । उनी भन्छन्, ‘काठमाडौंबाट घर फर्किएपछि पैसाको मुठो ल्यायो होला भनेर ऋण दिने साहुहरुको लाइन लाग्छ । तर मसँग पैसा छैन । त्यसैले लकडाउनमा भोकै भए पनि काठमाडौं छोड्दिन ।’
नौ महिनाको लकडाउनको ऋणको भारी उनीसँग छँदैछ । फेरि, निषेधाज्ञाले उनको पीडा झनै थपिएको छ । चिन्तामा डुबेका सोगरथ भन्छन्, ‘नौ महिनाको लकडाउनको ऋण तिर्न सकेको छैन । अब फेरि कसरी ऋण तिर्ने ?’
सोगरथले चारजना छोराछोरीको खानपान र पढाई खर्च जुत्ता सिलाएरै धानेका छन् । सडक किनारमा धुलो, धुँवा, घाम–पानी सहेर उनले ७ जनाको परिवार पालेका छन् । उनको गाउँमा पनि प्रशस्त खेतबारी छैन, अहिलेको निषेधाज्ञामा कसरी पेट भर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।
उनी विहान ८ बजेदेखि साँझ ७ बजेसम्म ११ घण्टा फुटपाथमै खटिन्छन् । उनको दैनिक कमाईको कुनै टुंगो हुँदैन। मासिक सरदर तीस हजारको हाराहारीमा कमाउँछन् । त्यसले घरभाडा तिर्छन्, बाँकी कमाई घर पठाउँछन् ।
उनी काठमाडौंमा मासिक ५ हजार भाडा तिरेर एक्लै बस्दै आएका छन् । गत वर्षको लकडाउन उनी तराईमै बसे तैपनि काठमाडौंका घरबेटीलाई भने पूरै महिनाको भाडा तिरे । घरबेटीले एक महिना पनि छुट दिएन । ‘लकडाउनको बेला घरै बस्दा पनि घरभाडा पूरै तिरेँ’ उनी भन्छन् ।
उनी विहान ८ बजेदेखि साँझ ७ बजेसम्म ११ घण्टा फुटपाथमै खटिन्छन् । उनको दैनिक कमाईको कुनै टुंगो हुँदैन। मासिक सरदर तीस हजारको हाराहारीमा कमाउँछन् । त्यसले घरभाडा तिर्छन्, बाँकी कमाई घर पठाउँछन् ।
दिनभर सडक पेटीमा बसेर सयौंको जुत्ता मर्मत गर्ने रामलाई रोग लाग्ला भन्ने कुनै डर छैन जति ऋणको छ ।
नौ महिनाको लकडाउनमा सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ । तर, अब पहिलाको जस्तै निषेधाज्ञा लम्बिएमा सरकारले सहयोग गर्ला कि भन्ने उनमा झिनो आशा छ । उनी भन्छन्, ‘समस्या पर्यो भने सरकारले हामी जस्तो दुःखीको हेर विचार गर्ला नि, केही न केही त पक्कै गर्ला । सरकारले पैसा नदिए पनि खाने रासन देला नि ।’
दिनभर सडक पेटीमा बसेर सयौंको जुत्ता मर्मत गर्ने रामलाई रोग लाग्ला भन्ने कुनै डर छैन जति ऋणको छ । कोरोनाको डर लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘डर लागे पनि के गर्नु । काम नगरे खाना पुग्दैन । डराएर हुँदैन, पैसा भए सडकमा दुःख गर्न को नै आउँथ्यो र ? काम गरिएन भने हात मुख जोडिदैन ।’