‘जलवायु परिवर्तन राष्ट्रिय प्राथमिकताको विषय हुन सकेन’
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेल (कोप–२८) मा जलवायुबाट हुने हानि तथा नोक्सानीका विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्ने विज्ञ तथा सम्बन्धित अधिकारीले सुझाव दिएका छन् । वातावरण र महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘साथसाथै’द्वारा शुक्रबार आयोजित ‘महिला, जलवायु न्याय, सूचना, समावेशिता तथा नवीनता’विषयक छलफलमा त्यस्तो सुझाव दिइएको हो।

जलवायु परिवर्तनको असर यस्तो हुन्छ उस्तो हुन्छ भनेर ठूला ठूला बैठक र सम्मेलन गर्ने तर समस्या भएको ठाउँमा बजेट नै नखन्याउने ?
‘काठमाडौँलाई पानी खुवाउने मेलम्चीमा मेरो गाउँपालिकाभित्र पर्छ । हेलम्बुमा त्यत्रो बाढी आयो । जलवायु परिवर्तनका कारणले भने तर आजको मितिसम्म गाउँपालिकालाई सरकारले सहयोग नै गरेन । जलवायु परिवर्तनको असर यस्तो हुन्छ उस्तो हुन्छ भनेर ठूला ठूला बैठक र सम्मेलन गर्ने तर समस्या भएको ठाउँमा बजेट नै नखन्याउने ?’ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जोन हृोल्मोले स्थानीय स्तरमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमहरू अझै आउन नसकेको गुनासो व्यक्त गरे ।

संसारको ध्यान तान्ने सगरमाथाको जिल्ला सोलुखुम्बुमा अहिले हिउँ पर्न छाडिसक्यो । समयमा न हिउँ पर्छ न त बाली नै फस्टाउँछ, अरूले उत्सर्जन गरेर तापक्रम वृद्धि भएको छ । अब क्षतिपूर्तिका लागि पहल गर्नुपर्छ ।
पछिल्लो समय सेतो हिमाल बिग्रन थालेको चर्चा गर्दै सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मनवीर राईले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा फलफूल फुल्ने मौसममा परिवर्तन आएको र त्यसको असर पनि परेको बताए । ‘संसारको ध्यान तान्ने सगरमाथाको जिल्ला सोलुखुम्बुमा अहिले हिउँ पर्न छाडिसक्यो । समयमा न हिउँ पर्छ न त बाली नै फस्टाउँछ,’ राईले भने, ‘अरूले उत्सर्जन गरेर तापक्रम वृद्धि भएको छ । अब क्षतिपूर्तिका लागि पहल गर्नुपर्छ ।’

वन तथा वातावरण मन्त्रालयका कार्यवाहक सचिव डा रेवतीरमण पौडेलले वातावरण संरक्षण र जलवायु परिवर्तन जोखिम नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले जलवायु परिवर्तनको मुख्य चुनौती नै नीति कार्यान्वयन गर्ने रहेको बताए । नीतिहरू बनाए पनि कार्यान्वयन पक्ष फितलो भएको उनको भनाइ छ ।

सांसद एवं पूर्वमन्त्री विमला राई पौड्यालले जलवायु परिवर्तनको असर सबै क्षेत्रमा परे पनि कृषिमा त्यसको प्रभाव धेरै नै देखिने गरेको बताइन् । उनले नीति निर्माण तहहरूमा गरिनुपर्ने सुधार तथा कार्यान्वयनका पक्षमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाइन् ।
यूएईका राजदूत अब्दुल्लाह अल साम्सीले आफ्नो मुलुकले जलवायु परिवर्तनको असरसँग लड्नका लागि गरेका चालेका कदमहरूको बारेमा जानकारी गराए ।
कार्यक्रममा यूएईका राजदूत अब्दुल्लाह अल साम्सीले आफ्नो मुलुकले जलवायु परिवर्तनको असरसँग लड्नका लागि गरेका चालेका कदमहरूको बारेमा जानकारी गराए । कोप–२८ को आयोजक राष्ट्र यूएई भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावसँग जुध्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा साथसाथै फाउन्डेशनले महिला दिवसको अवसर पारेर यही मार्च १० तारिखमा खुम्बु क्षेत्रको कलापत्थरमा गरिएको कार्यक्रमको बारेमा समेत जानकारी गराएको थियो । संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण महिलाहरूलाई पारेको असरबारे ध्यानाकर्षण गराउनका लागि गत वर्षदेखि खुम्बु क्षेत्रमा महिला दिवस मनाइँदै आएको बताइन् ।
सहभागीहरूले बाढी, पहिरोलगायत विभिन्न प्राकृतिक विपत्तिका घटनाहरूलाई जलवायु परिवर्तन जोडिने गरे पनि पर्याप्त अध्ययनबिना नै हुने गरेको टिप्पणी गरे ।










यो पनि…
कोप–२७ : हानि नोक्सानी मुद्दामा नेपालको छुट्टै एजेन्डा
विश्वकै अग्लो शिखर सगरमाथाको काखमा नारी दिवस (फोटो फिचर)