रैथाने जनजीवन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न कृषि मेला (फोटो फिचर)
‘मेरो घरमा तीन जना सदस्य बौद्धिक अपाङ्ग छन् । मैले धूप, अचार बनाएर घरबाट नै एक–दुई सयको बेच्ने गरेकी छु । आज यसरी स्टल राख्न पाउँदा मेरो सामान धेरै मान्छेहरूले देख्नु पाउनु भएको छ । भोलि सम्ममा अझै बिक्री होला भन्ने आसा छ ।’ उज्यालो अनुहार बनाउँदै लक्ष्मी तामाङले थोरै खुसी व्यक्त गरिन् ।

बुढानीलकण्ठ नगरपालिकाले दुई दिने ‘बुढानीलकण्ठ सीप सम्मेलन तथा कृषि मेला २०७९’ आयोजना गरेको छ । नगरपालिकाभित्रका स्थानीय सीपको सूचीकरण एवं उत्पादनलाई प्रोत्साहित गरी आत्मविश्वास, आत्मनिर्भरता वृद्धि तथा स्वरोजगारमा टेवा पुराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

स्थानीय तहमा संस्कृति, सम्पदा तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले यस स्टल आयोजना गरिएको हो ।
बुढानीलकण्ठस्थित मन्दिर परिसरमा शुक्रबारदेखि सुरु भएको उक्त नगरपालिका भित्रको रैथाने संस्कृति र रैथाने जनजीवनको पनि बहस सुरु गराउने उद्देश्य रहेको नगरपालिकाकी उपमेयर अनिता लामाले बताइन् । ‘स्थानीय तहमा संस्कृति, सम्पदा तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले यस स्टल आयोजना गरिएको हो ।’ उनले भनिन् ‘हात बजारको अवधारणामा यस्तो कार्यक्रम कम्तीमा पनि महिनामा एक पटक प्रत्येक वडामा गर्ने योजना बनाएका छौँ । स्टलमा सहभागी भएकाहरूलाई नै समेते समिति गठन गर्छौ र त्यही टिमलाई परिचालन गरेर उनीहरूकै नेतृत्वमा अव यस्तो कार्यक्रम गर्ने छौ ।’ यसपटक अपेक्षा गरेभन्दा बढी स्टलहरू राख्न आएको उनले बताइन् ।

स्थानीय उत्पादनलाई नगरपालिकाले सम्मान र प्रोत्साहन गर्न सुरुवात गरेको छ । प्रदेश र संघबाट पनि यहाँको सीप विकास गर्नको लागि मैले महत्त्वपूर्ण भूमिका खेल्नेछु ।
‘आफूसँग भएको सीप अर्थतन्त्रसँग जोड्न सकियो भने आत्मनिर्भर बन्न सकिन्छ । स्थानीय उत्पादनलाई नगरपालिकाले सम्मान र प्रोत्साहन गर्न सुरुवात गरेको छ । प्रदेश र संघबाट पनि यहाँको सीप विकास गर्नको लागि मैले महत्त्वपूर्ण भूमिका खेल्नेछु ।’ बागमती प्रदेश सभा सदस्य जयराम थापाले प्रतिबद्धता व्यक्त गरे ।

कर्मशील अभियान नेपालकी अध्यक्ष विन्दा कुमारी गौतमले महिलाहरूले सिकेको सीप र उनीहरूको उत्पादन प्रदर्शन गर्न यस मेलाले महत्त्वपूर्ण अवसर प्रदान गरेको बताइन् । ‘नगरपालिकाले नयाँ सुरुवात गरेको छ । यस्तो कार्यक्रम सबै नगरपालिकाले गर्नुपर्छ भन्ने लाग्छ । किनकि महिलाहरूले सिकेको सीप र उत्पादन गरेको वस्तु प्रदर्शन र प्रवर्द्धन गर्न नगरपालिकाले अवसर दिँदा उनीहरूले आफ्नो सामानको प्रवर्द्धन गर्न पाउँछन् ।’

यो कार्यक्रम महिलाहरूको लागि मात्र थियो, अव युवाहरूलाई पनि फोकस गरेर यस्ता कार्यक्रमहरू ल्याउँदा अझै राम्रो हुन्थ्यो ।
७० भन्दा बढी स्टल सञ्चालन गरिरहेका भिडमा कलिलो अनुहार भेटिन्छिन् एन्जल वन्त । ‘हामीले बेक्स बाई लाईलाकमार्फत् घरबाट नै बेकरी आइटमहरू बेचिरहेकाछौँ । हामीले व्यवसाय भर्खर मात्र सुरुवात गरेको हुनाले प्रचारप्रसारको लागि पनि एउटा सुनौलो अवसर हो ।’ उनी उत्साहित हुँदै सुनाउँछिन् ‘यो कार्यक्रम महिलाहरूको लागि मात्र थियो, अव युवाहरूलाई पनि फोकस गरेर यस्ता कार्यक्रमहरू ल्याउँदा अझै राम्रो हुन्थ्यो ।’

‘नगरपालिकाले यस्तो कार्यक्रमले कृषकहरूलाई धेरै नै प्रोत्साहन हुन्छ । हामीले मूलाको चाना, इस्कुसको चाना, गुन्द्रुक सिस्नो लगायतका अर्ग्यानिक सामान राखेको छौ । घरमा उत्पादन गरेको तरकारीहरू बाँकी बसेको खेर नै जान्छ । यसरी प्रदर्शनमा राखियो भने धेरथोर पैसा पनि आउँछ, मलको मात्र लगानी उठ्यो भने पनि एकदम राम्रो हुन्छ ।’ नगरपालिकाले यस्तो कार्यक्रम गरी राख्यो भने खेर जाने सामानको पनि सदुपयोग हुने ठुलो गाउँ तामाङ महिला समूहकी सचिव रुवी तामाङ बताउँछिन् ।
मैले यस नगरपालिकामा उद्योग दर्ता गरेको दश वर्ष भयो । विगत दश वर्षदेखि यस्ता कुनै पनि कार्यक्रम देखिएको थिएन । अहिले उत्साहपूर्वक मेला आयोजना गरेको देख्दा खुसी लागेको छ ।

‘मैले यस नगरपालिकामा उद्योग दर्ता गरेको दश वर्ष भयो । विगत दश वर्षदेखि यस्ता कुनै पनि कार्यक्रम देखिएको थिएन । अहिले उत्साहपूर्वक मेला आयोजना गरेको देख्दा खुसी लागेको छ । धेरै मान्छेलाई अल्लोको बारेमा त्यति धेरै जानकारी भएको पाइँदैन । मेलाको कारणले उनीहरूलाई सुसूचित गर्ने अवसर पायौँ । फोरेस्ट्री हेम्प व्याग उद्योगका सञ्चालक गणेश एैडीले खुसी व्यक्त गरे, ‘आगामी दिनमा नगरपालिकाले सामाजिक सञ्जाल तथा अनलाइन मार्फत भर्चुअल मेला पनि आयोजना गरिदियो भने अझै सहज हुने थियो ।’

कोमल हृदय प्रतिष्ठानले विशेष गरी यौन शोषणमा परेका महिलाहरूको पुनर्स्थापना गर्ने र उनीहरूलाई सीप सिकाउन गर्छ । यसरी उत्पादन गरिएको सामानलाई प्रदर्शन र बिक्री वितरण गर्न पाउँदा खुसी लागेको प्रतिस्थानकी रमिला तामाङले बताइन् ।

स्वदेशमा नै बनेको सांस्कृतिक पहिरन प्रवर्द्धन र प्रोत्साहन स्वरूप यस स्टल आयोजना गरेका छौ ।
‘स्वदेशमा नै बनेको सांस्कृतिक पहिरन प्रवर्द्धन र प्रोत्साहन स्वरूप यस स्टल आयोजना गरेका छौ ।’ नगरपालिकाका महिला जनप्रतिनिधि सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्नको निम्ति ड्रेस नै खद्दरको सारी बनाएको नगरपालिकाकी कर्मचारी सुमित्रा श्रेष्ठले बताइन् ।













यो पनि…
११३ औँ श्रमिक महिला दिवस : सशक्तीकरण संवाद (भिडियो पनि)
अमृत दोर्जेको आत्मकथा ‘पर्खाइ’ विमोचन (फोटो फिचर)