रारा कि अप्सरा (भिडियो पनि)
‘सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा की अप्सरा ! –महेन्द्र शाह ।’
बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी रूप फेरिरहने कञ्चन रारालाई सल्लाघारी, चंखेली र कान्जिरोवा हिमालले घेरेर सुरक्षित राखेको छ । दिनमै तीन–चार पटक रङ बदल्ने राराको छाल र चराचुरुङ्गीको चिरबिर कुनै सङ्गीतको कर्णप्रिय धुन जस्तै लाग्छ ।

तत्कालीन राजा महेन्द्र शाहले भनेझैँ अप्सरा नै हुन्– रारा ताल । साहसिक यात्राको गन्तव्य पनि हो । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने अन्य समयमा रारा ताललाई विभिन्न मौसमी फूलले ढपक्क सिँगारेको हुन्छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर, चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।

रारालाई प्राकृतिक हिसाबले मात्र नभएर धार्मिक, सांस्कृतिक तथा जैविक विविधताको हिसाबले पनि यो ताल महत्त्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीय स्थल र कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० वटा पर्यटकीय स्थलमा सूचीकृत छ । यहाँ रारा महादेव, छाप्री महादेव, लाहुरा महादेव, ठाकुरदेव महादेव गरी चार वटा प्रसिद्ध धार्मिक स्थलहरू पनि छन् । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो ट्राउट’ प्रजातिको माछा पाइन्छ ।

रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट ३ हजार ६ सय ६२ मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका जुम्ला, हुम्ला, डोल्पा, कालिकोट, बाजुरा र अछाम गरी ६ वटा जिल्लाको समेत अवलोकन गर्न सकिन्छ । मुर्मा टप पुग्नको लागि करिब तीन घण्टाको पैदल यात्रा गर्नु पर्छ । मुर्मा हाइकमा जादा पानीको व्यवस्था भने गर्नुपर्छ । रारा तालको किनारै किनार पुरै एक फन्को मार्न करिब ५ घण्टा लाग्छ ।

रारा सडक र हवाई दुवै माध्यमबाट जान सकिन्छ । हवाई यात्राका लागि नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाई सुविधा छ । ताल्चा विमानस्थलबाट करिब ३ घण्टा पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ । हवाई यात्रा नियमित उडान नहुन सक्छ । मौसमका कारण उडान समय फेरबदल भइरहन्छ ।

सुर्खेतको वीरेन्द्रनगरदेखि दुई दिनको बस यात्राबाट मुगुको गमगढी पुगिन्छ र गमगढीबाट करिब ३ घण्टा पैदल यात्रामा रारा ताल पुगिन्छ । निजी फोर ह्वीलवाला गाडीबाट पनि जान सकिन्छ । रारामा बस्नको लागि डाँफे, इको र हेरिटेज गरी तीन वटा रिसोर्टहरु छन् ।










भिडियो :
यो पनि…
यात्रा मुगुस्थित ‘पुलु गाउँ’को ! (भिडियो पनि)
मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)
धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)