निषेधाज्ञाको पहिलो दिनः सुनसान काठमाडौं (ड्रोन भिडियो/फोटो फिचर)
कसैको बहाना, कसैमा गाउँ फर्कने आशा
सरकारले आजबाट जारी गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् ।

तैपनि, काठमाडौंको कलंकी, बल्खु, कोटेश्वर लगायतका क्षेत्रमा भने अत्यावश्यक मालबहाक गाडीहरुको भीड देखिन्थ्यो । विशेषगरी खाद्यान्न ढुवानी, तरकारी, फलफूल, कुखुरा बोक्ने गाडी, औषधी र दुई पांग्रे सवारीसाधनले मूख्य सडक जाम गराएको थियो ।

साथै, कार्यालय समयमा निजी सवारी साधनको पनि चाप बढेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गरी सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारवाही पनि गरेको छ । कुँवरका अनुसार बिहीवार अपरान्हसम्म काठमाडौं उपत्यकामा ७ सयभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । जसमध्ये काठमाडौंमा मात्रै ४ सय ४१ छन् ।

यसैगरी, आममानिसहरु पनि मूख्य सडकको पेटीमा देखिएका थिए । जसमध्ये धेरैजसो गाउँ फर्किनेहरु नै थिए । यहिक्रममा कलंकीमा बिहान १० बजे घर जान भन्दै सडकमा निस्किएका एक व्यक्तिलाई प्रहरीले रोक्यो । उनी मोरङको विवाहमा जन्ती गएर फर्किएका थिए । गाडी ६ बजेसम्म उपत्यका निस्किसक्नुपर्ने थियो तर जामका कारण प्रवेश गर्न सकेनन् ।

कलंकीबाट गाउँ जानेहरुको भीड धेरै नै देख्न सकिन्थ्यो । कोही साच्चै समस्यामा परेका थिए भने कतिपय बिरामीको नाटक गरेर निषेधाज्ञा अवलोकन हेर्न निस्किएको बताउनेहरु पनि भेटिए ।

कलंकीमा भेटिएका सानु नामका एक व्यक्ति टाउकोमा नातो बाँधेर आएका थिए । प्रहरीले शंका गरेर सोधपुछ गर्न थाल्यो तब उनको यो नाटकीपन पत्ता लागेको थियो । उनले सडकमा घुम्दा टाउको दुख्ने भएकाले पट्टी बाँधेको प्रतिक्रिया दिए ।
घर जान पाइने आशामा सडक पेटीमा गाडी कुरेर बसेकी कैलालीकी एक महिला सिन्धुपाल्चोकमा ज्यामी काम गर्थिन् । निषेधाज्ञापछि काम बन्द भएपछि उनी घर फर्किने विचारमा छिन् । तर, ठेकेदारले उनलाई पैसा दिएन । तैपनि उनी गाउँ जाने गाडी पाउने आशामा कलंकीमा गाडी कुरेर बसेकी छिन् ।

कलंकीमा मात्र होइन यस्तो पीडा र गुनासा बल्खुमा प्रशस्तै देख्न सकिन्थ्यो । बल्खुमा ट्राफिक प्रहरीले चेकजाँचका लागि सवारीसाधन रोकेपछि मानिसहरुको भीड थियो ।

त्यो भीडको एउटै गुनासो थियो, प्रहरीले बिना कारण गाडी रोक्यो । उनीहरु सबै कागजात बोकेर हिँड्दा पनि प्रहरीले ज्यादती गरेकोमा दुखेसो पाख्दै थिए ।

त्यहिँ भेटिएका कमल कार्की कुलेश्वरमा काम गर्छन् । उनी खाद्यान्न ढुवानीका लागि कुलेश्वर जाँदै थिए । प्रहरीले उनलाई बल्खुमै रोक्यो । प्रहरीको यो व्यवहारबाट उनी सन्तुष्ट थिएनन् ।

यस्तै बनेपाबाट तरकारी बेच्न आएका अर्का व्यापारी तरकारी झारेर खाली गाडी फर्काउन लाग्दा ट्राफिकले रोकेको भन्दै आक्रोशित थिए ।

सडकमा खटिएका ट्राफिक प्रहरी भने सवारीसाधनहरुले विभिन्न बहानामा मानिसहरु ओसारपसार गरिरहेको बताउँछन् ।

त्यस्तै कोटेश्वरमा भेटिएको १६ जनाको एक समूह दाङबाट काठमाडौं आएको थियो । तर, उनीहरुको गन्तव्य सिन्धुली हो । उनीहरु गाडी पाउने आशामा कोटेश्वरको सडक पेटीमा बसिरहेका छन् ।








