English

यात्रा मुगुस्थित ‘पुलु गाउँ’को ! (भिडियो पनि)

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रूपमा सम्पन्न हुँदाहुँदै पनि ओझेलमा मुगुम कार्मारोङ गाउँपालिका


निलो बगिरहेको कर्णाली, कर्णालीको किनारै किनार ठाउँ–ठाउँमा चट्टान फोरेर बनाइएको साँघुरो घोरेटो । कसो-कसो जिन्दगी जस्तै लाग्ने, सुन्दर तर साँघुरा गल्ली र अप्ठ्यारा बाटो । जिन्दगी पनि कर्णाली जस्तै, विभिन्न आरोह–अवरोह र उतारचढाव भोग्दै छलाङ मार्दै बगिजाने तर कहिल्यै नफर्किने । बाटोभर भेटिने कर्णाली जस्तै सङ्लो मन भएका स्थानीय बासी, कतै सित्तैमा खुवाएर पठाउँछन् त कतै हिमाली जडीबुटी चिनो दिन्छन्।

यो यात्रा हो मुगुम कार्मारोङ गाउँपालिकाको प्रस्तावित केन्द्र पुलु गाउँको । मुगु जिल्ला को सदरमुकाम गमगढीबाट करिब ३५ किमी टाढाको पुलु पुग्दा पनि मुगु कर्णाली सुसाउन छोड्दैन, आवाजले पछ्याइरहन्छ। गमगढीको उत्तर पूर्व तिर पर्ने मुगुम कार्मारोङ भौगोलिक हिसाबले जिल्लाको सबै भन्दा ठुलो स्थानीय तह हो । पूर्व तिर से–फोक्सुन्डो गाउँपालिका डोल्पा, पश्चिममा छाँयानाथ रारा नगरपालिका मुगु र चंखेली गाउँपालिका हुम्ला, उत्तरमा चीनको स्व–शासित क्षेत्र तिब्बत र दक्षिणमा जगदुल्ला गाउँपालिका डोल्पा र पातरासी गाउँपालिका जुम्ला रहेको मुगुम कार्मारोङ गाउँपालिका मुगु जिल्लाको कुल क्षेत्रफलको करिब ६० प्रतिशत भू–भागमा फैलिएको छ ।

जैविक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण र पर्यटकीय हिसाब ले प्रगाढ सम्भावना भएको यस गाउँपालिकाको नामकरण पनि सोही क्षेत्रभित्र पर्ने विशेष गरी २ वटा भोटे समुदायलाई जोडेर गरिएको छ । उत्तरको सीमा नजिक पर्ने मुगु गाउँ लगायतको क्षेत्रलाई मुगुम भनिने र दक्षिण पश्चिमतिरका अरू १२ वटा गाउँहरू, स्थानीय स्तर मा १२ करान भनेर परिचित गाउँ हरूलाई समेट्ने कार्मारोङ क्षेत्रलाई मिलाएर मुगुम कार्मारोङ राखिएको छ ।

छायानाथ हिमालको फेदमा रहेको छायानाथ धाम यहाँको चर्चित धार्मिक गन्तव्य हो। बौद्ध र हिन्दू धर्मावलम्बी पूजापाठका लागि विशेष गरी जनैपूर्णिमामा यहाँ पुग्ने गर्छन्। हिन्दू धर्मावलम्बीका चार धाम केदारनाथ, बद्रीनाथ, पशुपतिनाथ मध्येको छायानाथलाई जेठो धामका रूपमा मानिन्छ भने यसको अर्को स्वरूप मानसरोवर पनि हो । छायानाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवा लगायतका हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । छायानाथको प्रवर्द्धन र प्रचार गर्न सके लाखौँ को संख्यामा धार्मिक पर्यटकलाई भित्राउन सकिने प्रचुर सम्भावना कार्मारोङले बोकेको छ ।

यति मात्र नभई बहुमूल्य यार्सागुम्बा, कटुकी, वन लसुन, चौर औला, पाँचऔंले, पदमचाल, अत्तिस, गन्धाइनो, झम्फु (जिम्मु) लगायत यो भेगका मुख्यका जडीबुटी हुन्, भने डोल्फु गाउँमा अवस्थित तामाखानी यस क्षेत्रको अर्को आकर्षण हो । सिमानाको सुन्दर गाउँ मुगुको बीचबाट बगेको मुगु कर्णाली अलि तल तिहारबगरमा आएर डोल्फु हुँदै बगेको डोल्फु कर्णालीसँग मिलेर बग्ने मुगु कर्णाली नेपाल को सबैभन्दा लामो नदी कर्णाली को एक हिस्सा हो । स्याब्रो, चेलु, ङलु, मिलाइलु, माडाल यो भेगका परम्परागत नाच हुन्। ढुङ्गा, माटो र काठ प्रयोग गरिएका घरहरू परम्परागत शैलीका छन्। कङ्क्रिटको अतिक्रमण अझै भित्रिएको छैन।

देख्नेलाई जत्तिकै सुन्दर कहाँ छ र भोग्नेहरूको कथा ? विकासको पूर्वाधारले खासै छुन नसकेको मुगुमा ताल्चा विमानस्थलदेखि करिब दुई घण्टा मात्र सडक सुविधा छ । सामान ढुवानीका निम्त बाह्रै मास खच्चडकै भर पर्नुपर्छ । ठूला–ठूला चट्टान र भिरालो जमिन । जडीबुटी नै यहाँको मुख्य आयस्रोत हो । गाउँपालिकाको ६ वटा विद्यालयलाई मर्च गरेर पुलुमा श्री नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय स्थापना गरिएको छ । कार्मारोङ गाउँपालिका अन्तर्गत नै रहेको मांग्री गाउँमा मात्र एउटा माध्यमिक विद्यालय छ । त्यहाँ पढ्न जानको लागि विद्यार्थीले पुलुबाट करिब दुई दिन पैदल यात्रा गर्नुपर्छ ।

पुलु गाउँ जानको लागि ताल्चा विमानस्थलबाट गाडीमा सदरमुकाम गमगढी हुँदै करिब दुई घण्टाको यात्रामा छायल चौर पुगिन्छ। छायल चौर कार्मारोङ गाउँपालिकाको सानो व्यापारिक केन्द्र हो। यहाँबाट अघि बढ्न भने हिँड्नैपर्छ। गाडी र सडक सुविधा छैन। तर, बास बस्न ठाउँ–ठाउँमा होमस्टे सेवा छ। होमस्टेमा स्थानीय उत्पादन नै प्रयोग हुन्छ। स्थानीय स्वाद चाख्न पाइन्छ । कर्णाली नदीको किनारै किनार भएर बिस्तारै हिँडे तीन दिन र छिटो हिँडे दुई दिनमा पुलु गाउँ तथा छायानाथ धाम पुग्न सकिन्छ ।

भिडियो :

यो पनि…
मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।