सुन्दर मच्छिम गाउँ (भिडियो पनि)
म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलो मिटर पश्चिमको यात्रा गरेपछि पुगिने ठाउँ हो धौलागिरि गाउँपालिका वडा नम्बर ७ अन्तर्गत पर्ने मच्छिम गाउँ ! मुख्यतः छन्त्याल समुदायको बाहुल्यता रहेको यस गाउँमा गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब ११४ घरधुरीको मिश्रित बसोबास रहेको छ ।

धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न पश्चिममा मच्छिम बाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ । गाउँबाट १ किमी पश्चिममा छन्त्यालहरूले टुकटुके र छिनोको माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ । मच्छिम गाउँबाट केही माथि डाँडामा छन्त्याल जातीले कुल पूजा गर्ने कुल मन्दिर छ । त्यहाँबाट हिमशृङ्खला आँखै अगाडी नियाल्न सकिन्छ ।

साथै छन्त्याल जातीको संस्कृति झल्किने सोरठी नाच यहाँ पुग्नै पर्ने अर्को एउटा थप कारण हो । यहाँ परम्परागत ढुङ्गा र जस्तापाताले छाएका पुराना शैलीका घरहरू छन्। पुराना यानीमाया तथा सालैजो भाकाहरू गुन्जिरहन्छन् । त्यहाँका स्थानीयको सरल व्यवहार र उनीहरूले देखाउने आत्मीयता साँच्चिकै प्रशंसायोग्य छ । त्यही बाटो भएर धौलागिरि बेसक्याम्प पनि पुगिन्छ ।

सुन्दर गाउँ मच्छिम घुमिसकेपछि करिब आधा घण्टा यात्रा गरेपछि नार्जाखोला झरनाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । साथै मच्छिम गाउँ हुँदै ढोरपाटन सिकार आरक्ष, धौलागिरि राउन्ड, गुर्जा र गुरिल्ला पदमार्गको यात्रा गर्न पनि सकिन्छ ।

प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न यस ठाउँमा राजधानी काठमाडौँबाट सदरमुकाम बेनी, दरबाङ्ग, धारापानी, ताकम हुँदै मच्छिम गाउँ पुगिन्छ ।







भिडियो :
यो पनि…
यात्रा खयर भारानीको (भिडियो पनि)
धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)