यसरी मनाइयो सीडीडीको पाँचौं वार्षिकोत्सव (फोटो फिचर)
सेन्टर फर डिप्लोम्यासी एन्ड डेभलप्मेन्ट (सीडीडी) ले आइतबार आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले केक काटी वार्षिकोत्सवको उद्घाटन गरेका थिए । इण्डो प्यासिफिक क्षेत्रमा विकास, कूटनीति र सुरक्षा विषयक छलफल समेतको आयोजना गरिएको कार्यक्रममा मन्त्री श्रेष्ठले यस क्षेत्रको विकासमा सहकार्य गर्दै अघि बढ्नु पर्ने बताए । विश्वको ध्यान नै एसिया प्यासिफिक क्षेत्रमा रहेकाले नेपालजस्ता सार्वभौम साना राष्ट्रहरू बढी सचेत भएर अघि बढ्नु पर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालको असंलग्नता, सबैसँग सहकार्य, राष्ट्रसंघ बडापत्र र पञ्चशीलको सिद्धान्तलाई नै अंगालेर अघि बढेको पनि उनले बताए । कसैसँग शत्रुता नराख्ने, सबैलाई मित्रभावसहित उत्तिकै सम्मान गरी अघि बढ्ने नीति नेपालले अख्तियार गरेको उनको भनाई थियो । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले क्षेत्रीय शान्तिको लागि समेत सहकार्य अपरिहार्य रहेको प्रष्ट पारे ।

ललितपुर कुपण्डोलस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्विन नोम्यान चौधरीले यहाँ राजदूतको भूमिकामा रहँदा धेरै कुरा सिक्न पाएको सुनाउँदै नेपालको भूराजनीति, यहाँ हुने छलफल र सहकार्यको पाटोबाट अधिक सिक्न सक्ने भन्दै सहकार्यमा जोड दिनुपर्ने बताए ।
जनतामा विकासको प्रतिफल समान रूपले पुग्नुपर्छ, अनिमात्र सही तवरको विकास भएको अनुभव सबैले गर्न पाउँछन्, विकास र अर्थकूटनीतिलाई अघि बढाउन आवश्यक छ ।

सीडीडीका अध्यक्ष एवं फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले साना मुलुकको सुरक्षामा खतरा देखा परिरहेको अवस्थामा नेपालले आफ्नो मूल नीतिलाई नै आधार बनाएर सबैसँग सहकार्य गरी अघि बढ्नपर्ने बताए । ‘हामी मानवजाती कहिल्यै सन्तुष्ट हुनैसक्दैनौं, तरपनि सबैले आफूलाई अनुशासित राख्दै मुलुकमा विकास गति थप बढाउनु आवश्यक छ,’ राजदूत श्रेष्ठले भने, ‘जनतामा विकासको प्रतिफल समान रूपले पुग्नुपर्छ, अनिमात्र सही तवरको विकास भएको अनुभव सबैले गर्न पाउँछन्, विकास र अर्थकूटनीतिलाई अघि बढाउन आवश्यक छ ।’

पछिल्लो समय इन्डो प्यासिफिक क्षेत्रमा सबैको नजर छ । त्यस क्षेत्रमा ठूलो राष्ट्रले आफ्नो एजेन्डा लागू गर्न सानालाई थिचोमिचो गरिरहेको देखिन्छ । त्यसमा सचेत हुँदै सार्वभौम मुलुकले आफूलाई त्यसबाट टाढा राख्दै लोकतन्त्रिक पद्धती अनुरुप अघि बढनु पर्नेमा उनको जोड थियो ।
विश्वमा धेरै परिवर्तनहरू भइसके, हामी सधै सार्क–सार्क भनेर मात्र पनि हुँदैन । यसलाई नयाँ परिवेश अनुकुल बनाउनु वा बन्द गर्नु अहिलेको आवश्यकता हो ।

कार्यक्रममा सहभागी भारतीय पूर्वकूटनीतिज्ञ प्रदीपकुमार कपुरले सार्क औचित्यहिन भएको बताए । नेपाल भ्रमणमा रहेका ती भारतीय पूर्वकूटनीतिज्ञले सार्क वर्तमान अवस्थामा अघि बढाउन नसकिने जनाए । सार्कलाई कि फरक ढंगले लैजानु पर्ने वा यसलाई बन्दै गर्नुपर्ने शैलीमा उनले भने, ‘विश्वमा धेरै परिवर्तनहरू भइसके, हामी सधै सार्क–सार्क भनेर मात्र पनि हुँदैन । यसलाई नयाँ परिवेश अनुकुल बनाउनु वा बन्द गर्नु अहिलेको आवश्यकता हो ।’

सन् २०१८ मा स्थापित सीडीडी कूटनीति र विकासका मुद्दाहरुमा काम गर्ने उद्देश्य बोकेकोे थिंक ट्ंयाक हो । यसले समसाययिक कूटनीतिक मुद्दाहरुमा निरन्तर विभिन्न बहस चलाउँदै आएको छ ।












यो पनि…
राइज मिडियाको दोस्रो पाइला
हङकङमा तुलसी लोकार्पण (फोटो फिचर)