English

यस्तो छ, यी १५ शिर्ष नेताका मतदान शुभसाइत



नेपाली समाजमा शुभ कार्य गर्नुअघि प्राय शुभसाइत हेर्ने चलन छ । कुनै बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिष पण्डित सुरेशचन्द्र रिजालले ‘सात पटक प्रधानमन्त्री हुने योग छ,’ भनेका थिए । अहिले उनी छैटौँ पटक प्रधानमन्त्री बन्ने उद्देश्यसहित चुनावी मैदानमा छन् । आइतबार हुन गइरहेको निर्वाचनमा मतदानको शुभसाइत देउवाले हेरे कि हेरेनन् यकिन भन्न सकिन्न । तर ज्योतिष आचार्य नारायण प्रसाद रेग्मीसँगको कुराकानीको आधारमा मेरो लाइफस्टाइल टिमले उनै प्रधानमन्त्री देउवासहित यी १५ चर्चित उम्मेदवारको मतदानका लागि वास्तुशास्त्र अनुसार शुभसाइत तयार गरेको छ ।

शेरबहादुर देउवा–बिहान ८ः२५

३१ जेठ २००३ मा डडेलधुराको गन्यापधुरामा जन्मिएका नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं बुढानीलकण्ठका स्थायी बासिन्दा हुन् । उनी २०१७ सालको राजनीतिक घटनाक्रमपछि राजनीतिमा सक्रिय भए । २०२८ सालमा उनी नेविसंघको प्रथम सभापति निर्वाचित भए । कांग्रेसको विभिन्न संगठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्वमा पुगेका यस पटकको निर्वाचनमा डडेलधुराबाट चुनाव लड्दै छन् । वास्तुशास्त्र अनुसार उनलाई बिहान ८ः२५ उत्तम मानिएको छ ।

केपी शर्मा ओली–बिहान १०ः५१

नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री—केपी शर्मा ओली यसअघिकै झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । संघीय संविधान बन्नुअघि झापा–६ मा पर्ने क्षेत्रसमेत समेट्दै बनेको झापा–५ मा सत्ता गठबन्धनले ओलीका पुरानै प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीलाई मैदानमा उतारेको छ । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि बिहान १०ः५१ बजेको समयलाई उत्तम मानिएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–दिउँसो १ः२६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्रमुखको जिम्मेवारीमा पुगेको ३२ वर्ष भइसक्यो । दुई पटक प्रधानमन्त्री बनिसकेका उनी यस पटक आम निर्वाचनमा गोरखा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि दिउँसो १ः२६ बजेको समयलाई उत्तम मानिएको छ ।

माधवकुमार नेपाल–बिहान ७ः५५

गत २ भदौ २०७८ मा नेकपा (एकीकृत समाजवादी) गठन गरेका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यस पटक रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । रौतहट–१ मा १७ उम्मेदवार रहे पनि नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता नेपालको मुख्य प्रतिस्पर्धी रहने देखिन्छ । वास्तुशास्त्र अनुसार नेपाललाई मतदानका लागि बिहान ७ः५५ बजेको समयलाई उत्तम मानिएको छ ।

सागर ढकाल–दिउँसो ३ः१७

पाँच वर्षअघि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो। बिबिसी मिडिया एक्सनको साझा सवाल कार्यक्रमको उक्त भिडिओमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवकले ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ?’ भन्दै प्रश्न गर्दा देउवाले झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुनुहुन्छ’ भनेर जवाफ फर्काएका थिए । पाँच वर्षअघि देउवालाई प्रश्न सोध्ने ती युवा सागर ढकाल थिए। पाँच वर्षपछिको संसदीय चुनावमा तिनै सागरले डडेलधुरामा प्रधानमन्त्री देउवालाई चुनौती दिँदै छन्। वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि दिउँसो ३ः१७ बजेको समय उत्तम रहेको छ ।

उपेन्द्र यादव–बिहान ११ः४३

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका उपेन्द्र यादव यो पटक पनि सप्तरी–२ बाटै प्रतिनिधिसभा सदस्यमा उठेका छन् । यादवले एमालेसँग तालमेल गरेका छन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि बिहान ११ः४३ को समयलाई उत्तम समय मानिएको छ ।

रवी लामिछाने–बिहान ९ः०५

रवि लामिछाने एक नेपाली राजनीतिज्ञ र पत्रकार हुन्। राजनीतिमा प्रवेश गर्नुअघि उनी टेलिभिजन प्रस्तोता थिए। उनले ७ असार २०७९ मा काठमाडौँको राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका थिए । अहिले उनी चितवन २ बाट चुनाव लड्दै छन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि बिहान ९ः०५ को समयलाई उत्तम मानिएको छ ।

राजेन्द्र लिङ्देन–अपराह्न ४ः०१

राजसंस्था पुनर्स्थापनाको लक्ष्य बोकेको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट तेस्रो पटक प्रतिस्पर्धा गर्दै छन् । नेकपा एमालेसँग तालमेल गरेका लिङ्देनको प्रतिस्पर्धी कांग्रेस नेता कृष्णप्रसाद सिटौला छन् । लिङ्देन र सिटौलाको चुनावी मैदानमा यो तेस्रो प्रतिस्पर्धा हो । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि अपराह्न ४ः०१ को समयलाई उत्तम मानिएको छ ।

गगन थापा–दिउँसो २ः०५

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री बनेका गगन थापा २०७० को संविधानसभामा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा थापा सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भए । यस पटक पनि उनी काठमाडौं–४ बाटै प्रतिनिधिसभामा जितको दाउमा छन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि दिउँसो २ः०५ को समयलाई उत्तम मानिएको छ ।

ईश्वर पोखरेल–बिहान ७ः५६

२०७४ को निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल २०७४ फागुनमा उपप्रधान एवं रक्षामन्त्री भए । उनी २०६९ जेठमा १३ दिन उपप्रधानसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । अहिले काठमाडौं–५ बाट नै चुनाव लड्दै छन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि बिहान ७ः५६ को समयलाई उत्तम मानिएको छ ।

रवीन्द्र मिश्र–बिहान १०ः१३

पत्रकारिता छाडेर फागुन २०७३ बाट राजनीतिमा लागेका रवीन्द्र मिश्रले छोटो समयमै उल्लेख्य चर्चा कमाए । अघिल्लो पटक गणतन्त्रवादीको रूपमा निर्वाचन लड्दा झन्डै विजेता बनेका मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष पदसहित काठमाडौं–१ को चुनावी मैदानमा छन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि बिहान १०ः१३ को समयलाई उत्तम मानिएको छ ।

चित्रबहादुर केसी–दिउँसो ३ः५६

राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका चित्रबहादुर केसी बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पाँच दलिय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि दिउँसो ३ः५६ को समयलाई उत्तम मानिएको छ ।

राम कुमारी झाक्री–अपराह्न ४ः२१

नेकपा (एमाले)बाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनेकी रामकुमारी झाँक्रीलाई अहिले प्रतिनिधिसभा सदस्यका लागि गुल्मी–२ बाट उठेकी छन्, जहाँ एमालेमा रहँदाका सहकर्मी गोकर्ण विष्ट प्रतिस्पर्धामा छन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि अपराह्न ४ः२१ को समयलाई उत्तम मानिएको छ ।

डा. तोसिमा कार्की–दिउँसो २ः५८

पेसाले शल्य चिकित्सक तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी छन् । उनी हाल युवा पुस्ता माझ निकै चर्चित पनि छिन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि दिउँसो २ः५८ को समयलाई उत्तम मानिएको छ ।

सुजाता कोइराला–दिउँसो १२ः५३

नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाका छोरीसमेत रहेकी सुजाता कोइराला हाल मोरङ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेको ऋषीकेश पोखरेलसँग प्रतिस्पर्धा गर्दै छिन् । वास्तुशास्त्र अनुसार उनलाई मतदानका लागि दिउँसो १२ः५३ को समयलाई उत्तम मानिएको छ ।

यो पनि…
देउवालाई आराम दिन चाहन्छन् सागर
यही हो बेला, जनताले विवेक प्रयोग गर्ने



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ