English

लिच्छविकालीन कला, संस्कृति बुझ्न चाँगुनारायण



विगत तीन सातादेखि धुम्म रहेको उपत्यकाको मौसम छ्याङ्ग खुलेको छ । काठमाडौं उपत्यकाको पूर्व भक्तपुर, पश्चिम नागार्जुन, उत्तर शिवपुरी र दक्षिणतर्फ रहेको कीर्तिपुर र चन्द्रागिरीको डाँडाहरू छर्लङ्गै देखिएका छन् ।

यस्तो मौसममा सफा र सुन्दर दृष्यावलोकन नजिकबाट नियाल्न शनिवारको दिन सदुपयोग गर्नु एक उत्तम विकल्प हुन सक्छ । एक शनिवार उपत्यकाको २ हजार १ सय ७५ मिटर उचाईंमा रहेको चाँगुनारायण मन्दिर र त्यस वरपरको भ्रमण उपयुक्त हुन सक्छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुनारायण मन्दिर उपत्यकाकै एक पुरानो मन्दिर हो । सातौँ शताब्दीको पुरातात्विक महत्व बोकेको यो मन्दिरस्थल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत रहेको छ ।

‘यस मन्दिरबाट शंकरापुर नगरपालिकाको पौराणिक नगरी अर्थात साँखु क्षेत्र, भक्तपुर क्षेत्र, काठमाडौँ उपत्यका लगायत विभिन्न हिमश्रृङ्खलाको रमणीय दृष्यावलोकन गर्न सकिन्छ,’ चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्र भन्छन्, ‘यहाँ लिच्छवीकालीन कला र संस्कृतिको राम्रो अध्ययन गर्न सकिन्छ । त्यसैले चाँगुनारायण मन्दिर घुम्न आउनैपर्ने स्थान मध्येको एक हो ।’

यदि हाइकिङको मजा लिने हो भने काठमाडौंको चाबहिल–साँखु सडक खण्डको मूलपानीको तिवारी टोलबाट पूर्वतर्फ लाग्नुपर्छ । तिवारी टोलबाट, मिलनचोक, मूलपानी चौर, मनोहरा पुल तरेर दुवाकोट हुँदै करिब ५ किलोमिटरको हिँडाईपछि चाँगुनारायण मन्दिर पुगिन्छ ।

कसरी जाने ?

सार्वजनिक यातायातमा यात्रा गर्ने हो भने, चाँगुनारायण जान कोटेश्वरबाट गाडी समात्न सकिन्छ । यहाँबाट करिब १० किलोमिटर पूर्व रहेको कमलविनायक हुँदै त्यहाँबाट करिब ५ किलोमिटर उत्तरतर्फ रहेको चाँगुनारायण मन्दिर पुग्न सकिन्छ । चाँगुनारायण–४ का स्थानीयबासी रसीक कुइकेल भन्छन्, ‘यदि पशुपतिको दर्शन समेत गरेर बिहान ८ बजे गौशालाबाट यात्रा सुरु गर्ने हो भने कोटेश्वर हुँदै दिनको करिब १० बजेभित्र चाँगुनारायण पुगिन्छ ।’

आफ्नै निजी सवारी साधन छ भने गौशालाबाट करिब ५ किलोमिटर पूर्वतर्फ रहेको मूलपानी क्रिकेट स्टेडियम हुँदै जान सकिन्छ । स्टेडियमबाट करिब ४ किलोमिटर पूर्व रहेको भक्तपुरको नेपाल इन्जिनियरिङ कलेज हुँदै त्यहाँबाट करिब ३ किलोमिटर पूर्वतर्फ रहेको चाँगुनारायण मन्दिर पुग्न सकिन्छ ।

चाँगुनारायण–९ का स्थानीय सागर ढुङ्गाना भन्छन्, ‘आफ्नै सवारी साधनमा चाँगुनारायण पुग्न एक घन्टा पनि लाग्दैन ।’

हाइकिङको मजा

यदि हाइकिङको मजा लिने हो भने काठमाडौंको चाबहिल–साँखु सडक खण्डको मूलपानीको तिवारी टोलबाट पूर्वतर्फ लाग्नुपर्छ । तिवारी टोलबाट, मिलनचोक, मूलपानी चौर, मनोहरा पुल तरेर दुवाकोट हुँदै करिब ५ किलोमिटरको हिँडाईपछि चाँगुनारायण मन्दिर पुगिन्छ ।
कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका स्थानीय तुषार आचार्य भन्छन्, ‘हाइकिङ गरेर चाँगुनारायण जाने हो भने कस्सिएर हिँडेमा एक घन्टामै चाँगुनारायण पुगिन्छ ।’

लिच्छविकालीन वास्तुकलाको नमूना

चम्पकनारायण, गरुडनारायण आदि नामले पनि चिनिने चाँगुनारायण मन्दिरको नाम लिच्छविकालमा भने डोलाशिखर स्वामी थियो । चाँगुनारायण मन्दिरस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको मान्यता छ ।
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त वर्माले गरेका भएपनि लिच्छविकालमै अर्का राजा मानदेवले वि.सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए ।

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बास्तुकलाको नमूना हो । चातुष्कोण आकारको यो मन्दिरको टुँडालमा तीन तहका मूर्ति कुँदिएका छन् । माथिल्लो तहमा रुख–लहरा, बीचमा विष्णु र शिवका अनेक स्वरूपसहित तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्ति कुँदिएका छन् ।

कुनै पनि माध्यमबाट चाँगुनारायण पुग्न, पानी, ब्रेकफास्ट र खानाको लागि, चाँगुनारायणको संग्रहालय भ्रमण गर्न, स्वदेशी उत्पादन खरीद गर्न लगायत आवश्यकताअनुसार सामान्य खर्चका लागि प्रतिव्यक्ति ४ हजार रुपैयाँ बोक्दा हुन्छ ।

अनुपम दृष्यावलोकन

हरिया खेत, सल्लाका वन, ग्रामीण परिवेशले घेरिएको चाँगुनारायण धार्मिक दृष्टिले मात्रै होइन, यो क्षेत्र संग्रहालय, थाङ्कालगायत विभिन्न स्वदेशी उत्पादनको लागि पनि लोकप्रिय छ । साथै, चाँगुनारायणको उत्तरपट्टि साँखु क्षेत्र, कागेश्वरी डाँडा, शिवपुरी निकुन्ज र नागार्जुन क्षेत्रको लोभलाग्दो दृष्य पनि मजाले देखिन्छ । त्यति मात्रै होइन, लाङटाङ, गणेश र गौरीशंकर लगायतका हिमचुचुराको पनि दृष्यावलोकन गर्न सकिन्छ ।
चाँगुनारायणको वरपर ९ वटा मल्लकालीन पोखरी र चौघेरा सत्तलको जीर्णोद्वार, पानीदहदेखि मन्दिरसम्म १ हजार ढुङ्गाका कलात्मक सिढी निर्माण र चाँगुनारायण वरपर घुम्नलाई परिक्रमा मार्ग पनि निर्माण हुँदै गरेको नगर प्रमुख मिश्र बताउँछन् ।

यात्रामा जाँदा के बोक्ने ?

हालसालै कोरोनाको दोस्रो लहरको सङ्केत देखिएको छ । यस्तोमा घरबाट बाहिर निस्कँदा यात्रु स्वयम्ले सावधानी अपनाउनु पर्ने देखिन्छ । अहिलेको परिस्थितिमा सेनिटाइजर र मास्क अत्यावश्यक सामाग्री हो, यसलाई नछुटाउनु होला ।
दृष्यावलोकन गर्दा तस्विरहरू लिन क्यामरा, हाइकिङ गर्ने हो भने ब्यान्डेज र स्प्रे, घामबाट जोगिन सनस्क्रिन र क्याप लगायत लिंदा उपर्युक्त हुन्छ ।
कुनै पनि माध्यमबाट चाँगुनारायण पुग्न, पानी, ब्रेकफास्ट र खानाको लागि, चाँगुनारायणको संग्रहालय भ्रमण गर्न, स्वदेशी उत्पादन खरीद गर्न लगायत आवश्यकताअनुसार सामान्य खर्चका लागि प्रतिव्यक्ति ४ हजार रुपैयाँ बोक्दा हुन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।