English

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान



बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् ।

करिब दुई दशकसम्म वैदेशिक रोजगारीमा मलेसिया र सिङ्गापुर बसेर स्वदेश फर्किएका म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले विगत पाँच वर्षदेखि आफ्ना बाबुबाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गर्दै आएका द्धन् । आफ्नै पिता पुर्खाका पैतालाको डोबलाई पछ्याउँदै अहिले छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन् ।

छन्त्यालले जङ्गल, भिर, पहरो छिचोलेर धौलागिरि गाउँपालिका–५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) बाट १० दिनको कठोर यात्रा पछि शुक्रबार धौलागिरि आधार शिविरको खर्कमा आइपुगेको जानकारी दिए । ‘विभिन्न समस्याको सामना गर्दै धौलागिरि आधार शिविरको बेसक्याम्पमा सकुशल आइपुगेको छु,’ छन्त्यालले भने ।

छन्त्यालको पारिवारिक बसाइ पोखरामा छ । सिङ्गापुरको रमाइलो जिन्दगी र पोखराको बसाइलाई समेत बिर्साउने गरी छन्त्यालले धौलागिरि क्षेत्रमा रहरलाग्दो भेडापालन गरेका छन् । भेडा बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन्त्याललाई पैसाको भन्दा पनि आफ्ना पिता पुर्खाको पेसालाई निरन्तरता दिने इच्छा छ । त्यसैले परिवारलाई पोखरामा राखेर आफूले पिता पुर्खाले गर्दै आएको भेडापालन व्यवसाय नै रोजेको छन्त्याल बताउछन् ।

यो मेरा पिता पुर्खाले भेडापालन गरेर आफ्ना सन्ततिको भविष्य उजिल्याएको ठाउँ हो, यो ठाउँमा मेरा बुबा, बाजे र अझै अघिल्ला पुस्ताको पैतालका डोब छन्, म मेरा पूर्वजका तिनै डोबलाई पछ्याउँदै उहाँहरुले नै गर्नुभएको व्यवसायलाई निरन्तरता दिनका लागि यो जोखिम उठाएको हुँ ।

भेडाको बथान लिएर छन्त्याल धौलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धौलागिरि हिमालको बेसक्याम्पतिर उक्लेका हुन् । ‘यो मेरा पिता पुर्खाले भेडापालन गरेर आफ्ना सन्ततिको भविष्य उजिल्याएको ठाउँ हो, यो ठाउँमा मेरा बुबा, बाजे र अझै अघिल्ला पुस्ताको पैतालका डोब छन्, म मेरा पूर्वजका तिनै डोबलाई पछ्याउँदै उहाँहरुले नै गर्नुभएको व्यवसायलाई निरन्तरता दिनका लागि यो जोखिम उठाएको हुँ,’ छन्त्यालले भने । उनले जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताए ।

एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु २५ लाखभन्दा बढी आम्दानी भएको उनले बताए । उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालको भनाइ छ । बिहान उठेर भेडाको गणना गर्दै उनको दिन सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनःगोठमै फर्केर भेडाको स्याहारमै लाग्ने बताउछन् ।

छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब रु ५० लाख लगानी गरेर भेडापालन सुरु गरेको बताए । भेडालाई चरनका लागि एक ठाउँले मात्र नहुने हुँदा ठाउँठाउँमा घुम्ती गोठमार्फत भेडा चराउँदै आएको उनको भनाइ छ । आफूबाहेक दुई हेरालोसमेत उनले राखेका छन् ।

यो पनि…
भेडापालक किसानले किन मागे भत्ता ?
संघर्षका कथा: विदेश छोडेर भेडीगोठमा



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन