English

जुनेलोदेखि कटुससम्म किनेरै खान्छन् नेपाली

नेपाली माटोमा सहजै उत्पादन हुने कतिपय ड्राइफ्रुट्स पनि डलर खर्चिएर आयात


नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ ।

नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन् । तर त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ ।

व्यावसायिकरूपमा खेती गर्नु नपर्ने, वनजङ्गलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छौँ । एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ । त्यसको मूल्यमात्रै रु ४९ हजार बराबर छ । सानो परिमाण भए पनि यसबाट विदेशी मुद्रा थप विदेशिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणनुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ । उक्त परिमाणमा काजु आयात गर्नका लागि रु एक अर्ब ११ करोड ९२ लाख ७६ हजार खर्च भएको छ । त्यसबाट सरकारले रु ३४ करोड ४७ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।

भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ । भारतबाट मात्रै रु ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको छ ।

त्यस्तै चालु आवको ११ महिना अवधिमा रु ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ । अमेरिकाबाट मात्रै १२ लाख पाँच हजार ३०२ किलो बदाम रु ७६ करोड ६८ लाख ८० हजार मूल्य बराबरको भित्रिएको छ । अमेरिकामा आल्मण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ । नेपालको हावापानीमा पनि आल्मण्ड उत्पादन हुनसक्छ । नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन् ।

६९ करोड ६० लाखको ओखर आयात

विभागका अनुसार यस अवधिमा रु ६९ करोड ६० लाख ४९ हजार मूल्यमा २२ लाख ७७ हजार ५३७ किलो ओखर आयात भएको छ । नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानुपर्ने अवस्थाका कारण नेपालको परनिर्भरता झनै बढेर गएको हो ।

ओखर आयात गर्दा मात्रै मुलुुकले रु २१ करोड ५२ लाख ८३ हजार रकम राजस्व सङ्कलन गरेको छ । छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्याङ्क छ । चालु आवको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६७९ किलो ओखर रु ६३ करोड १० लाख ७८ हजार मूल्य बराबरको आयात भएको छ । बाँकी परिमाण भने भारतलगायतका अन्य देशबाट आयात भएको छ ।

त्यस्तै रु छ करोड ३७ लाख ६१ हजार मूल्यमा कूल छ लाख ९४ हजार २२३ किलो छोकडा आयात भएको छ । जसमा सुकेका छोकडा रु चार करोड १३ लाख ७३ हजार बराबरका छन् भने ताजा छोकडा रु दुई करोड २३ लाख ८८ हजारका बराबरका छन् ।

एक अर्बको सुपारी आयात

त्यस्तै चालु आवको गएको ११ महिनामा रु एक अर्ब ७० करोड ८५ लाख ८५ हजार मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४१५ किलो सुपारी आयात भएको छ । उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो । नेपालले सुपारीको निर्यातसमेत गर्दछ । तेस्रो मुलुकबाट सुपारी आयात गरी मुख्य गरी भारतमा यसको निर्यात हुँदै गरेको देखिन्छ । नेपालले यस अवधिमा रु ५६ करोड ८७ लाख ७० हजार मूल्य बराबरको १४ लाख १० हजार ६४० किलो सुपारी निर्यात गरेको छ ।

विभागका अनुसार यस्ता अन्य ड्राइफ्रुट्स रु एक अर्ब ४३ करोड ७१ लाख ८४ हजार बराबरको आयात भएको छ । त्यसबाट सरकारले रु ७३ करोड ६७ लाख १५ हजार राजस्वसमेत सङ्कलन गरेको छ । नेपालीले नेपालको भौगोलिक अवस्था तथा हावापानीमा राम्रो उत्पादन हुने जुनेलोसमेत आयात गरिरहेको विवरण छ । नेपालले चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७७७ किलो जुनेलो रु ४० हजार मूल्यमा आयात गरेको छ ।

बारीका डिलमा रोप्दा हुने जुनेलो खरिद गर्न विप्रेषणबाट भित्रिएको पैसा खर्च गर्न थालेपछि त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नु के अस्वभाविक भयो र !

यो पनि…
२७ अर्बको चामल र १५ अर्बको धान आयात
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ