English

गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?



एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली टिम अपरान्ह निस्कने तयारीमा थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टिमको बिदाइ गर्न सल्मियास्थित होटल मिलेनियम होटल तथा कन्भेन्सन सेन्ट्रको गेटमै थिए ।

विमानस्थल पुर्याउन आउने बसको पर्खाइमा रहँदा कुवेती नागरिक अब्दुल्लाहले आफ्नो नेपाल फर्कने विषयमा भनेका थिए, ‘हेरौं, आउने चुनावको नतिजा के हुन्छ !’

सोमबार अर्थात् ६ असारमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभाबाट नयाँ अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भए । पंकजसँग ६ मतले पछि परे निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा । जुन नतिजा आयो, त्यो नतिजा अब्दुल्लाहले चिताएका थिएनन् । उनको चाहना र प्रार्थना थियो, एन्फाको आगामी चार वर्षे कार्यकालमा कर्मानै दोहोरिउन् । तर भयो उल्टो ।

नेपाल बसाई क्रममा अब्दुल्लाह कहिल्यै गुमनाम रहनु परेन । कहिले मैदानभित्र त कहिले बाहिर उनि सधै चर्चा पात्र रहे । अब्दुल्लाह सामाजिक सञ्जालमा बढी समर्थकबाट रुचाइए । उनको विषयमा राम्रो या नराम्रो प्रतिक्रिया आओस् । समर्थनले साथ दिइरहे ।

एक वर्षको लागि नेपाल झरेका अब्दुल्लाहले विभिन्न विवादका बीच आफ्नो नेपाल बसाईलाई गत वर्ष सम्झौता नवीकरण गर्दै सन् २०२४ सम्मलाई पुर्याएका थिए ।

एन्फाको अध्यक्षमा पंकज विजयी भएसँगै अब्दुल्लाह नेपाल बस्छन् कि बस्दैछन् ? बहसको विषय बनेको छ । सनकका भरमा जस्तोसुकै निर्णय गर्ने अब्दुल्लाहले यसअघि नै कर्माबाहेकको टिमसँग सहकार्य नगर्ने बताएका थिए । सोमबार राति १२ बजे चुनावको पूर्ण नतिजा नआउँदा नै अब्दुल्लाहले इन्स्ट्राग्राममा स्टोरी राख्दै नेपाल नफर्कने संकेत गरेका थिए । यद्यपि उनले त्यो स्टोरी केही समयमै हटाएका थिए ।

प्रशिक्षकको विषय पहिलो कार्यसमितिको बैठकबाट निर्णय गर्छौं । छानबिन समितिको प्रतिवेदन बृहत् रूपमा छलफल गरेर त्यो समस्याको समाधान गर्छौ ।

अध्यक्षमा निर्वाचित पंकजले जितपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खेलाडी–प्रशिक्षक विवाद छानविन समितिको प्रतिवेदन हेरेर कार्यसमितिको बैठकबाट निर्णय गर्ने बताएका छन् । ‘प्रशिक्षकको विषय पहिलो कार्यसमितिको बैठकबाट निर्णय गर्छौं । छानबिन समितिको प्रतिवेदन बृहत् रूपमा छलफल गरेर त्यो समस्याको समाधान गर्छौ,’ पंकजले भनेका थिए ।

यसअघि टोलीका नियमित सदस्य रोहित चन्दले खेलाडीको सामान्य माग प्रशिक्षक अब्दुल्लाह समक्ष राख्दा रोहितलाई घर पठाइएको थियो । यसपछि आफ्नो माग राखेका रोहितलाई अब्दुल्लाहले क्याम्पबाट निकालेपछि बाँकी १० खेलाडीले १४ वैशाखमा होटेल छाडेका थिए । १० खेलाडीलाई सामाजिक सञ्जालबाट समर्थन गरेका कप्तान किरणकुमार लिम्बूलाई समेत अब्दुल्लाहले कुवेतमा भएको एएफसी एसियन कप २०२३ छनोट खेलबाट बाहिर राख्दै ‘रिस्क’ मोलेका थिए ।

यसपछि एन्फाले भिक्टोर राणाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको थियो । जुन समितिले ४ जेठमा एन्फालाई प्रशिक्षक अब्दुल्लाहल र व्यवस्थापक मधुसुदन उपाध्यायको विकल्प खोज्न सुझाव दिएको थियो ।

हामी छानबिन समितिको सुझावअनुसार अगाडि बढ्छौं । हामी खेलाडीको पक्षमा छौं ।

यता, वरिष्ठ उपाध्यक्षमा निर्वाचित वीरबहादुर खड्काले आगामी कार्यसमितिको बैठकले छानविन समितिको सुझावमा रहेर निर्णय हुने र आफूहरु खेलाडीको पक्षमा जाने बताइसकेका छन् । ‘हामी छानबिन समितिको सुझावअनुसार अगाडि बढ्छौं । हामी खेलाडीको पक्षमा छौं,’ खड्काले भनेका छन् ।

यसअघि १० साउन ०७८ मा अब्दुल्लाहले तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफू एन्फामा राजीनामा दिन जाँदैछु भनेर फेसबुकमा स्टाटस राखेका थिए । तर उनले राजीनामा भने गरेका थिएनन् । यसपछि पंकज अब्दुल्लाह र एन्फा नेतृत्वविरुद्ध असहमतिमा रहँदै आएका थिए । जुन विवाद पछि पंकजले आफ्नो फेसबुक अकाउन्ट बन्द गर्नुपरेको थियो ।

हाल भने मुटुको समस्याको कारण अब्दुल्लाह कुवेतमै रहेका छन् । उपचारका लागि उनले एन्फाको अघिल्लो नेतृत्वसँग तीन महिनाको छुट्टी लिएका छन् । अब बस्ने एन्फाको कार्यसमितिको पहिलो बैठकले यो विवादमा कुन निर्णय लिन्छ त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

प्रशिक्षक अब्दुल्लाह कतार फुटबल संघको अनुदानमा नेपाल आएका हुन् । उनको खर्च कतार एफएले नै बेहोर्छ । उनको यहाँ बस्नेदेखि लिएर यातायात खर्च नेपाल सरकारमार्फत एन्फाले हेर्दै आएको छ ।

वर्तमान एन्फा कार्यसमिति बैठकमा पंकज समूहको बहुमत रहेका कारण प्रशिक्षक अब्दुल्लाहलाई बर्खास्ती गर्न सक्ने सुरुआती आकलन छ । निर्वाचनताका नै यो समूहले प्रशिक्षक बर्खास्तीको माग राखेको थियो । तर तत्कालीन नेतृत्व भने अब्दुल्लाहको पक्षमा थियो ।

स्रोतका अनुसार अब्दुल्लाहलाई बर्खास्ती गरे एन्फाले करिब १० हजार डलर जरिवाना तिर्नुपर्नेछ । त्यसका लागि समेत वर्तमान नेतृत्व तयार छ । तर नेतृत्वले कतार एफएसँग सहकार्य गर्दै अब्दुल्लाहको विकल्पमा अर्को प्रशिक्षक माग्न सक्छ ।

यो पनि…
एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ