English

कोरोना कहर : पटाक्षेपको प्रतीक्षा



दुईवटा भ्याक्सिन र दुईवटा बुस्टर सटसमेत उपलब्ध सबै खोप लगाएको भएर पनि अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिसलाई कोभिड–१९ (कोरोना) पोजिटिभ देखियो । (अहिले त उनी ठिक भइसकिन्) तापनि ह्यारिस मात्र नभएर दुनियाँभरका धेरै सेलिब्रेटी र असेलिब्रेटीहरूलाई कोरोना भाइरस वा ओमिक्रोन समेत त्यसको पछिल्लो भेरियन्टले संक्रमित पार्न छाडेको छैन ।

यो महामारीको सम्भावित रोकथामका लागि विश्व स्वास्थ्य संगठनले विभिन्न देशका विशेषज्ञ–चिकित्सकको टोली बनाई कोभिड–१९ महारोगको उद्गम पत्ता लगाउन खटाएको छ तर अहिलेसम्म यसबारे केही ठोस जानकारी आउन सकेको छैन । त्यसले गर्दा करिब दुई वर्ष भइसक्दा पनि पहिले नोभेल, त्यसपछि डेल्टा र अझ पछि ओमिक्रोन भेरियन्ट बनेर सर्वत्र हाहाकार फैलाइरहेको कोराना महामारीको सटीक औषधि वा उपचार फेला पार्न सकिएको छैन । शंका पनि उब्जिन थालेको छ– प्रकृति र मानवबीचको यो लडाइँमा विश्वका तमाम वैज्ञानिक, अनुसन्धानकर्ता एवं चिकित्सकहरू कतै पछारिने त होइनन् ?

अवस्था यस्तो देखिएको भए पनि, पछिल्लो समयमा, कोभिड–१९ महामारीले सर्वत्र आक्रान्त पारेपछि लागू भएको विदेश उडानभन्दा पहिले कोरोना भाइरस नेगेटिभ टेस्ट रिजल्ट प्रस्तुत गर्नुपर्ने अनिवार्य प्रावधान यसै सातादेखि अमेरिकाले खारेज गरेको छ । यद्यपि कोरोना भाइरसको संक्रमण पूरै निमिट्यान्न भइसकेको छैन र यसबाट दैनिक मृत्यु हुने क्रम पनि विश्वव्यापी रूपमा समाप्त भइसकेको छैन तथापि सुरु सुरुको अवस्थामा भन्दा सबै कुरामा धेरै खुलापन ल्याइसकिएको छ । वैदेशिक उडानअघि कोरोना–नेगेटिभ परीक्षण प्रमाण–पत्र पेस गर्नुपर्ने प्रावधान हटेसँगै खासगरी पर्यटन व्यवसायसँग सम्बन्धित उद्यमी–व्यापारीहरू अत्यधिक खुसी भएका छन्, पर्यटनमा रमाउनेहरू त प्रसन्न हुने नै भए ।

त्यसरी गत जनवरी २०२१ देखि लागू हुँदै आएको एउटा अनिवार्य प्रावधान हटे पनि सम्बन्धित यात्रु÷पर्यटकले आफूले सबै भ्याक्सिन लगाइसकेको प्रमाण–पत्र भने प्रस्तुत गर्नुपर्ने छ । यो व्यवस्था लागू भएपछि कम्तीमा ती सबै यात्रुलाई सुविस्ता हुनेछ जसले बाहिरी मुलुकमा भएको बेला अचानक कोभिड–१९ भाइरस संक्रमित भएर मन नलागी नलागी होटलमै बस्ने र अनावश्यक खर्च ब्यहोर्नु पर्ने स्थिति बन्न पुगेको हुन्छ ।

यस्तो खुल्लापन देखिन थालेको भए पनि कोभिड–१९ संक्रमणको जोखिम प्रारम्भ–बेलाको जस्तो नरहे पनि पूर्णतः राहत मान्न सकिने अवस्था भने बनिसकेको छैन । एकातिर कोभिडको खतरा कायम रहेकै बेला दुनियाँका विभिन्न देशमा शरीरभरि फोका उठ्ने र क्रमशः मानिसको ज्यान लिन सक्ने ‘मङ्की पक्स’ नामाकरण भएको नयाँ रोग संक्रमणकै रूपमा बढ्न सक्ने जोखिम देखा पर्दै गएको छ भने अर्कोतिर अझैसम्म पनि कोभिड–१९ बाट विश्वभर दैनिक मृत्यु हुने क्रम रोकिएको छैन । विश्वभरको तथ्यांक हेर्ने हो भने अहिलेसम्ममा कोरोना महामारीले गर्दा करिब त्रिसठ्ठी लाख मानिसको ज्यान गइसकेको छ ।

अहिले पनि कोभिड–१९ ले गर्दा अमेरिकामा मात्र दैनिक तीन सयदेखि साढे तीन सयको संख्यामा मानिस मरिरहेका छन् । अहिले अमेरिकामा खासगरी गर्मी बढी हुने ठाउँहरू –प्mलोरिडा राज्यको मायामी–डेड काउन्टी, हवाईको होनुलुलु काउन्टी र पोर्तोरिकोको सान होजे क्षेत्र– मा यो संक्रमण बढी देखा परिरहेको छ ।

एक तथ्यांकअनुसार, माथि उल्लिखित क्षेत्रहरूमा अहिले प्रत्येक एक लाख मानिसमध्ये पचासी जनामा कोरोना संक्रमण देखिने गरेको छ जबकि अमेरिकाभरिको स्थितिमा यो संक्रमण–दर प्रति एक लाख मानिसमा सरदर चौँतीसजना देखिएको छ । उसै पनि, दुनियाँभरको अवस्था हेर्दा, कोभिड–१९ को सबैभन्दा भिषण प्रभाव अमेरिकामा परेको छ । गत जेठ ३१ गते सोमबारसम्मको स्थिति हेर्दा अमेरिकामा कुल आठ करोड चौवन्न लाख चौवालीस हजार छ सय साठी जना कोभिड–१९ बाट संक्रमित भइसकेका छन् भने दस लाख सात हजार आठ सय पैँतालीस जनाको मृत्यु भइसकेको छ । अचम्मलाग्दो तथ्य के छ भने, संसारको सबैभन्दा विकसित र सुविधासम्पन्न मानिने अनि त्यसमा पनि यही महामारीले गर्दा मात्र पनि दश लाखभन्दा बढी मानिसको ज्यान गइसकेको अमेरिका जस्तो मुलुकमा अहिलेसम्म कुल जनसंख्याको केवल सतसठ्ठी प्रतिशतले मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

कोरोना महामारीले संक्रमित भई ज्यान गुमाउनेहरूकै सन्दर्भ हेर्ने हो भने अमेरिकापछि अत्यधिक प्रभावित हुने देश छन् जहाँ लाखौँको संख्यामा मानिसले प्राण गुमाउनु प¥यो । यस पंक्तिमा क्रमशः ब्राजिलमा छ लाख अठ्सठ्ठी हजार, भारतमा पाँच लाख चौबीस हजार, रसियामा तीन लाख बहत्तर हजार, मेक्सिकोमा तीन लाख पच्चीस हजार, पेरुमा दुई लाख तेह्र हजार, बेलायतमा एक लाख उनानअसी हजार, इटालीमा एक लाख सतसठ्ठी हजार, इन्डोनेसियामा एक लाख छपन्न हजार र फ्रान्समा करिब डेढ लाख मानिसले कोरोना–संक्रमित भई प्राण गुमाएका छन् भने अर्जेन्टिना, जर्मनी, इरान, कोलम्बिया, पोल्याण्ड, युक्रेन, स्पेन र दक्षिण अफ्रिका समेतका देशहरूमा एक लाखभन्दा बढी मानिस यही महामारीले काल कलवित भएका छन् । यसकै सेरोफेरोमा टर्की पुगेको छ जहाँ अहिलेसम्म अन्ठानब्बे हजारभन्दा बढी मानिसको ज्यान कोभिड–१९ ले लगिसकेको छ ।

नेपालमा कोभिड–१९ सम्बन्धी परीक्षण–दर नै न्यून छ र सबै परीक्षणको परिणाम नै पनि सार्वजनिक हुन सक्दैन, जसले गर्दा संक्रमित हुनेको निश्चित संख्या सार्वजनिक हुन सकेन । जन–स्वास्थ्यबारे चासो राख्नेहरू जान्दछन्, देशका धेरै संक्रमित एवं त्यसबाट ज्यान गुमाउनेहरूबारे त कहिल्यै निश्चित संख्या त थाहा नै हुन सकेन किनभने जति धेरै परीक्षण हुन्थ्यो त्यति नै धेरै संक्रमित भएकाहरूको संख्या सार्वजनिक हुने गरेको थियो । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार, कोरोना महामारीले गर्दा नेपालमा करिब दश लाख मानिस संक्रमित भइसकेका छन्, करिब बाह्र हजार जनाले प्राण गुमाइसकेका छन् भने देशको सत्तरी प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको खोप लगाइसकेको छ ।

यसो भए तापनि कोभिड–१९ विरुद्ध हेलचेक्रयाइँ गर्ने अवस्था भने छैन । मानिसहरूले संक्रमण कम हुँदै गएको देखेर यसलाई हलुका ढंगले लिन थालेको भए पनि यस सम्बन्धमा आवश्यक सावधानी भने अपनाउनुपर्ने स्थिति छँदैछ । सामान्य असावधानीले पनि ठूलो परिणाम ल्याउन सक्दछ । अन्य पक्षका अतिरिक्त कोभिड–१९ महामारीबाट बच्नका लागि उपलब्ध हालसम्मकै सबैभन्दा उत्तम उपाय त्यसविरुद्धको खोप लगाउनु हो । कोभिड–भ्याक्सिनले यस महामारीबाट हुनसक्ने मृत्युसमेतका विविध प्रभाव र संक्रमण–वृद्धि रोक्नमा निर्णायक सहयोग पुर्यारउने तथ्य निर्विवाद छ । बिर्सनु हुँदैन, भ्याक्सिन लगाएकालाई भन्दा भ्याक्सिन नलगाएका मानिसलाई कोभिड–१९ संक्रमण हुने सम्भावना धेरै गुणा बढी हुन्छ ।

कोभिड–१९ महामारीको रोकथाम अथवा निर्णायक उपचारको रोजीमा लागिरहेका चिकित्सक–वैज्ञानिक–अनुसन्धानकर्ताहरू मूलतः दुई जनावरमा यस महामारीको उद्गम खोजरहेका छन्– सालक र चमेरा । यी दुई प्राणीमध्ये कुनै एकबाट नै कोभिड–१९ भाइरस मानवमा सरेको अनेक वैज्ञानिकहरूले दावी गरिरहेका छन् । सालकबाट यो भाइरस मानिसमा सरेको हो भन्ने वैज्ञानिकहरू निकै थोरै छन्, धेरैजसो वैज्ञानिक र चिकित्सकहरू चमेराबाट नै यो भाइरस मानिसमा सरेको बलियो तर्क गरिरहेका छन् । चमेरामा अनेक रोग–प्रतिरोधी क्षमता (इम्युन पावर) अत्यधिक हुन्छ र उसमा अनेक रोगका जीवाणु पनि त्यत्तिकै हुन्छन् । चमेराबाट मानिसमा ती कुनै पनि विषाणु संक्रमण भएमा मानव जातिका लागि त्यो सांघातिक ठहरिन सक्दछ ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा एउटा विशाल माछा–मासु बजार सञ्चालित छ (थियो), (कोभिड–१९ संक्रमण फैलिएपछि हाल यो बन्द छ) । त्यहाँ चमेरा, सर्प, अजिङ्गर, स्याल, हुँडार, सालक, गोही, दुम्सीलगायत अनेक थरी वन्यजन्तुहरू जिउँदै वा मासु काटेर खरिद–बिक्री हुने गर्छ (गथ्र्यो) । अनेक अवैध वन्यजन्तुहरू पनि अफ्रिका, ल्याटिन अमेरिका, एसिया, युरोप, अमेरिका सर्वत्रबाट चोरी सिकारी गरी त्यहाँ ल्याई खरिद–बिक्री भइरहन्छ । त्यो बजारमा विशेष ग्राहक आउँछन् जसलाई पाल्नका लागि निकै कम तर ती जनावरको मासु वा त्यसको सुप खानका लागि क्रय आवश्यक हुन्छ । अझ कतिपय चिनियाँहरू परम्परागत औषधि बनाउनका लागि त्यस्ता दुर्लभ जङ्गली जनावरको मासु, हड्डी, छाला अथवा रगत र सुप नै पनि हारालुछ गरेर किन्ने गर्दछन् ।

वैज्ञानिकहरूको मत के छ भने वुहानको त्यही विशाल माछा–मासु बजारस्थित कुनै पसलमा चमेरा काटेर त्यसको मासु बेच्न खोज्दा चमेराको रगत कुनै व्यक्तिमा संक्रमित भयो (अर्थात्, या त त्यो व्यक्तिको घाउमार्फत अथवा हात वा मुख हुँदै थुकमार्फत पेटमा पुग्यो) । चमेराको त्यो रगतमा शक्तिशाली विषाणुहरू थिए जुन छिटै सम्बन्धित व्यक्तिको रोग–प्रतिरोधी क्षमतालाई परास्त गर्दै एकपछि अर्को व्यक्तिमा सर्न थाल्यो । त्यस बजारमा विश्वभरिका दुर्लभ वन्यजन्तुको मासु बेचबिखन हुने हुँदा त्यहाँ प्रसस्तै विदेशीहरू आइरहन्थे । यसरी ती विषाणुलाई सर्न र सारिनका लागि ठूलो ‘प्लेटफर्म’ उपलब्ध भयो । त्यसकै नतिजा आज समस्त विश्वले ब्योहोरिरहेको छ ।

‘कोभिड–१९ महामारी मानव जातिलाई चमेराको चुनौती हो । वास्तवमा यो मानवले आफू मात्र बाँच्ने र अरू सबै प्राणीलाई सखाप पार्ने (सिकार गर्ने) नीति लिएको हुनाले पनि अहिले यो महामारी देखिएको हो ।

चिकित्सा वैज्ञानिकहरूले कोभिड–१९ का केही बिरामीका शरीरबाट विषाणु निकालेर प्रयोगशालामा परीक्षण गर्दा चमेरामा भेटिएका विषाणुसित ९६ प्रतिशत मेल खाएको आधारमा उनीहरू यो निष्कर्षमा पुगेको दावी गरिँदैछ । उनीहरू भन्दैछन्, ‘कोभिड–१९ महामारी मानव जातिलाई चमेराको चुनौती हो । वास्तवमा यो मानवले आफू मात्र बाँच्ने र अरू सबै प्राणीलाई सखाप पार्ने (सिकार गर्ने) नीति लिएको हुनाले पनि अहिले यो महामारी देखिएको हो ।’

साँचो कुरा हो, चिकित्सा–विज्ञानले धेरै प्रगति गरेको छ । अनेक असाध्य रोगलाई निको पार्न सक्ने चमत्कारिक सामथ्र्य आधुनिक चिकित्सा–विज्ञानसित छ । यसो भए तापनि बित्दो समय–क्रमसँगै नयाँ नयाँ किसिमका रोग–व्याधि उदय हुँदै गर्छन् र चिकित्सा–विज्ञान सामु नयाँ चुनौती खडा हुने गर्छन् । क्यान्सर, मस्कुलर डिस्ट्रोफी, अटो–इम्युन डिजिज, अटिजम आदि समेत अनेकानेक रोग–व्याधि छन् जसको सटीक उपचार चिकित्सा–विज्ञानले खोज्न सकिसकेको छैन । यस्ता रोगको सूची लामै छ ।

त के डिसेम्बर २०१९ मा चीनमा पहिलोपटक देखा परेर अन्य देशमा संक्रमण हुँदै गएको कोभिड–१९ महामारीको रोकथाम र निर्णायक उपचार खोजी अभियानमा आधुनिक चिकित्सा–विज्ञान सफल होला ? अझ कति लामो समय यस अभियानमा व्यतीत हुने होला ? अझ कति धेरै मानिसले कोभिड–१९ महामारीको निर्दोष सिकार बन्नुपर्ने होला ? पछिल्ला केही महिनादेखि युक्रेनमाथि रुसी आक्रमण अनि त्यसबाट उत्पन्न पेट्रोलियम पदार्थको अभाव र महँगाइजन्य परिस्थितिले अन्य धेरै कुरालाई ओझेलमा पारेको भए पनि कोरोना महामारीप्रति आँखा चिम्लेर बस्न सकिने परिस्थिति बनिसकेको छैन ।

कोरोना कहरको पटाक्षेप छिटै हुने लक्षण कम्तीमा हालसम्म त देखिएको छैन ।

यो पनि…
यात्रा संस्मरण: आँखामा इजरायल–सम्झनामा साइप्रस
किसन दाई : ‘जो न कहिल्यै लडखडाए न डगमगाए’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।