English

१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा



चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ ।

कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समिक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई रु १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालू आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ ।

उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।

भटमासको तेलको निर्यातमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । रु ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा रु ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ ।

समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८.५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६.२१ प्रतिशतले वृद्धि भएको छ ।

सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू)को निर्यातमा ४१.१३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।

चालू आवको १० महिनाको अवधिमा प्रशोधित खाद्य तेल (भटमासको तेल, पाम आयल, सूर्यमुखी तेल) को निर्यात कूल निर्यातमा ५०.५३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखापरेको छ । यस अवधिमा प्रशोधित खाद्य तेलको कूल निर्यात रु ८७ अर्ब ६० करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पाम आयल तथा सूर्यमुखीतेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २६.१६, २१.८९ र २.४८ प्रतिशत छ ।

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँची र चियाको निर्यातमा भने ह्रास आएको छ । समीक्षा अवधिमा अलैँचीको निर्यातमा २९.५३ प्रतिशतले ह्रास आई रु चार अर्ब २२ करोड र चियाको निर्यातमा १८.२३ प्रतिशतले ह्रास आई रु दुई अर्ब ७६ करोडमा सीमित भएको छ ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा ७२.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७३.१२ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा सो हिस्सा बढेर ७९.१३ प्रतिशत पुगेको छ ।

नेपालको निर्यातमा ५०.५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्डस्, डेनमार्क, बङ्गलादेशलगायत मुलुकमा नेपाली उत्पादन निर्यात हुँदै आएका छन् ।

चालू आवको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१.१ प्रतिशतले वृद्धि भएको छ ।

सो अवधिमा रु दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३.८, मेशिनरी तथा पार्टस्को आयातमा २२.१, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५.३, कच्चा भटमास तेलको आयातमा २५.२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा औषधिको आयातमा १३४.९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारीमात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना, अष्टे«लिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा टर्कीबाट प्रमुखरुपमा वस्तु आयात हुने गरेको छ ।

चालू आवको समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्यरुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापार घाटामा २४.९ प्रतिशतले वृद्धि भई कूल व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।

यो पनि…
वैदेशिक व्यापार ४६.४३ प्रतिशतले वृद्धि
सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब नाघ्यो



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।