राइज मिडियाको दोस्रो पाइला
२०७२ मा महाभूकम्प गयो । सारा बस्ती ढले, कयौं मानिस घरबार बिहिन भए । त्यहीबेला भूकम्पले ढलाएका बस्ती र मन उठाउने अठोटका साथ एउटा संस्थाको जन्म भयो । त्यो हो– हामी उठ्ने छौं अर्थात वी विल राइज फाउण्डेशन । यही फाउण्डेशनको पहलमा भूकम्पले ढलेका वस्ती उठे, विद्यालय ठडिए । यतिमात्र होइन नेपालका कुना काप्चामा रहेका पर्यटकीय स्थलको उजागर गर्न ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज पनि यही फाउण्डेसनले सुरु गर्यो ।

यहीबिचमा कोरोना महामारीले विश्व आक्रान्त बन्यो । त्यसको मारमा नेपाल पनि पर्यो । बदलिँदो संसारमा प्रवेश गर्दै गरेका नेपालीका लागि कस्तो जीवनशैली अपनाउने भन्ने बारे पर्याप्त ज्ञानको खाँचो थियो । उक्त खाँचो टार्ने उद्धेश्यले फाउण्डेशनकै जगमा रहेर एक वर्षअघि राइज मिडिया नेटवर्क स्थापना भयो । जसअन्तर्गत सञ्चालित मेरोलाइफस्टाइल डटकमले सधैं मानव जीवनशैलीका मुद्धाहरुमा खबरदारी गरिरह्यो ।

शनिवार यही उपलक्ष्यमा नेटवर्ककको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेटवर्कले भव्यताका साथ स्थापनाको एक वर्ष पूरा भएर दोस्रो बर्ष प्रवेशको खुशियाली मनाएको हो ।
हामीले महामारीका समयमा राइज मिडियाअन्तर्गत मेरोलाइफस्टाइलको सुरुवात गर्यौं, जुनबेला देशमा संकट पर्छ त्यतिबेला हाम्रो उपस्थिति रहँदै आएको छ चाहे त्यो भूकम्प या कोरोना महामारी नै किन नहोस् ।

कार्यक्रममा नेटवर्कका अध्यक्ष तुलसी कुमार गुरुङले सबैको योगदानले राइज मिडिया यहाँसम्म आइपुग्न सफल भएको बताए । ‘हामीले महामारीका समयमा राइज मिडियाअन्तर्गत मेरोलाइफस्टाइलको सुरुवात गर्यौं,’ उनले भने, ‘जुनबेला देशमा संकट पर्छ त्यतिबेला हाम्रो उपस्थिति रहँदै आएको छ चाहे त्यो भूकम्प या कोरोना महामारी नै किन नहोस् ।’

कार्यक्रममा नेटवर्कका सिइओ निर्मल श्रेष्ठले संस्थाको स्थापनाको कारण र यसले गरेका कार्य र आगामी दिनका योजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाका बोर्ड अफ डाइरेक्टर अनुप के बरालले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा नेटवर्कले निर्माण गरेको डब्ल्युडब्ल्युएफ नेपाल तथा बुद्ध एअरको भिडियो देखाइएको थियो ।

कार्यक्रममा ‘वी विल राइज फाउण्डेसन’ को भिडियो प्रदर्शन गर्नुका साथै ‘मेरो गाउँ मेरो ठाउँ’ को बारेमा संक्षिप्त जानकारी गराइनुका साथै भिडियो पनि देखाइएको थियो ।

कार्यक्रममा नेटवर्कका अध्यक्ष तुलसीकुमार गुरुङ, बोर्ड अफ डाइरेक्टर करिश्मा मानन्धर र पब्लिक रिलेशन डाइरेक्टर सुनिता दुलालले नेटवर्कसंग आवद्ध विभिन्न संस्थालाई मायाको चिनो प्रदान गरेका थिए । १५ पटक सगरमाथा आरोहरण गरेका फुर्वा तेन्जिङ शेर्पा र हिंउ चितुवा स्वर्गिय आङरिता शेर्पाका नाती जेन्जिङ जाङ्बु शेर्पालाई पनि मायाको चिनो प्रदान गरिएको थियो । शेर्पाद्वयले राइज मिडिया नेटवर्क र वी विल राइज फाण्डेसनको झण्डा सगरमाथाको चुचुरोमा पुरयाएका थिए । कार्यक्रममा विभिन्न विधाका कलाकार, समाजसेवी, राजनीतिज्ञ, चिकित्सक, सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

प्रभात रिमालले संचालन गरेको यस कार्यक्रमको अन्त्यमा विभिन्न कलाकारहरुले आ–आफ्नो सांगितिक प्रस्तुतीहरु दिएका थिए ।
















































राइज मिडियाका अध्यक्ष तुलसी गुरुङको पुस्तक ‘तुलसी’ सार्वजनिक
कार्यक्रम ‘सुनमा सुगन्ध’ त्यसबखत भयो जतिबेला कार्यक्रमकै बीचमा पुस्तक लोकार्पण पनि भयो । कार्यक्रममा तुलसीकुमार गुरुङद्वारा लिखित र वि विल राइज फाउण्डेसनद्वारा प्रकाशित आत्मकथा ‘तुलसी’को पनि लोकार्पण गरियो । । गुरुङ उक्त फाउण्डेसनका पनि अध्यक्ष हुन् । भूकम्पपछि जन्मिएको उक्त फाउण्डेसनमार्फत नै नेटवर्कको जन्म हुन पुगेको अध्यक्ष गुरुङले बताए ।

तुलसी अध्ययन गर्नेले मेरो संघर्ष र सफलताका कथा पनि पढ्न पाउनुहुनेछ, मेरो बदमासी थाहा पाउनका लागि पनि यो पुस्तक पढ्नैपर्छ ।

गुरुङद्वारा लिखित ‘तुलसी’मा उनको जीवन यात्रा वर्णन छ । कास्कीको वार्चोकमा जन्मिएका गुरुङ लामो समय ब्रिटीस गोर्खा सैनिकमा आवद्ध रहे । यो सँगै खेल क्षेत्रलाई पनि अघि बढाएका गुरुङ तेक्वान्दोका ८ डान हुन् । यस विधामा हङकङ सरकारका प्रमुख प्रशिक्षक समेत बनिसकेका गुरुङ अन्तराष्ट्रिय रेफ्री पनि हुन् । उनले विश्वभरका सयौं सैनिक एवं गैर सैनिकलाई तालिम दिइसकेका छन् । साथै, गरिमामय ‘हल अफ फेम’ को उपाधि थापेका गुरुङको खेल र सामाजिक क्षेत्रमा योगदानको कदरस्वरुप नेपाल सरकारले प्रबल जनसेवा श्री पदकद्वारा विभूषितसमेत गरिसकेको छ । ‘तुलसी अध्ययन गर्नेले मेरो संघर्ष र सफलताका कथा पनि पढ्न पाउनुहुनेछ,’ गुरुङ भन्दै थिए, ‘मेरो बदमासी थाहा पाउनका लागि पनि यो पुस्तक पढ्नैपर्छ ।’

कार्यक्रममा पुस्तकका सम्पादक तथा अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीले पुस्तकसंग जोडिएको अनुभूती साझा गरेका थिए । कार्यक्रममा गुरुङको आत्मकथा झल्किने गरि छोटो भिडियो कथा पनि प्रदर्शन गरिएको थियो । पुस्तकलाई लेखक गुरुङ,उनी श्रीमती गंगा गुरुङ र सम्पादक भण्डारीले संयुक्त रुपमा अनावरण गरेका थिए ।








यो पनि…
जिम्मेवारी र दायित्व बोधसहितको पत्रकारिता, हाम्रो प्राथमिकता
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग