English

विश्वकै ‘च्याम्पिङ’ मेरो बाबुु



हामी उसलाई ‘माइला’ भन्छौं । नामबाट बोलाउँदाभन्दा ‘माइला’ भन्दा बढ्ता आत्मीय लाग्छ ।

सानामा माइलो अलि चकचके थियो । एक पटक मैले उसलाई कोठामा थुनेर राखें । कुरा के थियो भने स्कुल जाँदा बाटामा खोपी खेलेर आएछ । मैले थाहा पाएँ । अब पक्कै बाउको पिटाइ खाने भयो भन्ने मनमा डर जाग्यो । उसलाई बरू डर लागेन होला, मलाई त्यति धेरै लाग्यो ।

लुकाउन त लुकाएँ, कुरा पनि लुकाउन खोजें । तर, पछि बाउले थाहा पाउनुभएछ, रिसाएर कत्रो जात्रा भयो ।

भाचोकमा स्कुल थियो । स्कुल जाने बाटामा भैंसी आहाल बस्ने पोखरी थियो । जहिले पनि त्यही फोहोर पानीमा पौडी खेलेर आउँथ्यो । त्यसैले होला उसलाई पटक–पटक लुतो आइरहन्थ्यो । जिउ सर्याक–सर्याक कन्याइरहन्थ्यो । दौडिएर पौडी खेल्न पुगिहाल्थ्यो फेरि ।

गाउँमा कोही मान्छेको मृत्यु भयो भने अर्घ्युं नाच्थे । माइलो पनि खुब नाच्थ्यो । नाच्न साह्रै जान्ने । जे कुरामा पनि च्याम्पिङ थियो मेरो बाबु । अब अहिले त झन् विश्वकै च्याम्पिङ भयो । मन सधैं गद्गद् हुन्छ ।

जे देख्यो वा जे चाह्यो त्यही गर्ने बानी थियो उसको । सानैदेखि । साह्रै सुवानी थियो । कहिल्यै मुख फर्काएन । भनेको कुरा टार्न पनि नसक्ने, गर्न पनि जाँगर नलाउने । खेल्न, उफ्रिन भनेपछि साह्रै जाँगरिलो ।

पढाइ सुरूमा निकै राम्रो थियो । खोपी खेल्न थालेपछि अलि–अलि बिग्रिएको थियो । पोखरामा पढ्न पठाएपछि फेरि सपार्याे । पढ्दापढ्दै लाहुरे हुन हिँडेछ ।

मेरा बाबुहरु केही कामै गर्न नजान्ने थिए । घाँस काट्न जा भन्यो भने घाँस बोक्न पनि नजान्ने, काट्नु त परै जाओस् । माइलाले एक पटक रिखिराम भन्ने बाहुनको घाँस चोरेर ल्याएछ । क्या फसाद परेको त्यो बेला ।

एउटा काम गर् भन्यो भने उल्टो–उल्टो गरेर आउँथ्यो । भाइ साइँलाले पनि टपक्कै माइलाको जस्तो सिक्यो । दुवै भएर गाउँ–घरमा खुबै बिज्याइँ गर्थे । बाउको पिटाइ खुब खाए माइला र साइँलाले ।

कहिले कसको दही चोरेको कुरा आउँथ्यो । कहिले काँक्रो खाइदिएको गुनासो आइपुग्थ्यो । कहिले के–के चोरी गर्थ्याे । फटाइँ गरेर कहिल्यै नथाक्ने खालको थियो । जति गाली गरे पनि, सम्झाए पनि, बाउले पिटे पनि लाग्दै नलाग्ने ।

मेरो बुढालाई चाहिँ मासु नभई खानै नछिर्ने । मीठो–मीठो चाहिने, मासु पनि भुटेरै खानुपर्ने । रक्सी बेस्सरी खाने । तर, मेरा छोराहरुले त्यसो गरेनन् । रक्सी पनि खाएनन् ।

माइलो छोरो सानैदेखि माछा–मासुमा मतलबै नगर्ने । दूध, दही र घिउ भनेपछि चाहिँ ज्यानै छाडेर खान्थ्यो । ठेकीमा राखेको दहीको तर, कुँडेमा जमेको दूधको तर अरुको आँखा छलेर खाइदिन्थ्यो । घरको मात्रै होइन, अरुको घरको पनि कसरी–कसरी खान भ्याइसक्थ्यो ।

यसरी चोरेर खाएको थाहा पाएपछि बाजेको थुप्रै कुटाइ खाएको छ । यसले बिठ्याइँ र बिजाइँ गरेर बाउको पनि धेरै पिटाइ खाएको छ । मैले आफूले चाहिँ हात हालेको याद छैन । आमाको मन न हो, जति बदमास भए पनि वा जति उपद्रो गरे पनि पिट्नुअघि माया लागिहाल्ने ।

एक पटक पोखरामा आएका बेला आफन्तकहाँ बसेका थियौं । हामी चिया खाँदै थियौं । माइलो यता–उता हेर्दै थियो । एकछिनमा हेर्दा बाबु त छैन । अचानक हरायो ।

पछि पो थाहा भयो, उसले घोडा देखेछ । त्यसैको पछि लागेछ । हामी उसलाई खोजेका खोज्यै । कता गयो, कता । खोज्दै जाँदा महेन्द्रपुलको छेउमा घोडाको पछिपछि हिँडिरहेको भेट्यौं । घोडा भनेपछि त्यति धेरै हुरूक्कै हुने ।

एक पटक काठमाडौंमा खेल खेलेर जितेको खबर रेडियोमा भन्यो । माइलाको बाउचाहिँ रमाएर, नाचेर उधुम । यति खुसी भए कि उधुुमै । पछि भेट्न बुहारी लिएर काठमाडौं नै जानुभयो ।

खेल जे खेले पनि हारेको थाहा छैन मलाई । छेलो जहाँ गएर हाने पनि जित्थ्यो । अहिलेसम्म हारेको सुनेको छैन । त्यो बेलामा नेपालभरि जहाँसुकै पुग्थ्यो, जितेरै आउँथ्यो ।

काली गुरूङ, आमा

(तुलसीकुमार गुरुङद्वारा लिखित ‘तुलसी’ पुस्तकमा लेखकका आमा काली गुरुङले ब्यक्त गरेको भावनाको अंश, पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)

यो पनि…
समाज र शिक्षामा लगाव

प्रेरक अनि उत्प्रेरक
नटेर्ने, नझुक्ने, तेक्वान्दो नछोड्ने
कठोर गुरू, मिलनसार मित्र



सम्बन्धित खबरहरु

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे