दान दिने ज्वाइँ, खादा भिर्ने हामी
श्रीमतीले सुनाउनासाथ मैले सोधें, ‘केटा कहाँको हो ?’
‘नयाँ कास्कीको रे’, उनले भनिन्, ‘त्यसभन्दा धेरै त मलाई थाहा छैन ।’
जातीय कुरा त्यस बेलाको झन् ठूलो रोगै थियो ।
सोधें, ‘कुन जातिको हो ?’
‘घोथानेको छोरो’, उत्तर आयो ।
‘केटा कस्तो छ ?’ मेरो अर्को जिज्ञासा थियो ।
‘अग्लो छ । टाठो छ । समझदार छ’, उनले भनिन् ।
‘के गर्ने केटा ?’ मेरो अर्को प्रश्न थियो ।
‘लाहुरे रहेछ ब्रिटिस गोर्खा पल्टनमा, हङकङमा’, उनले सुनाइन् ।
‘केटा र केटीलाई सँगै राखेर तिमीले कुरा गर्याै त ?’ मैले फेरि सोधें ।
‘गरें’, उनले सुनाइन् ।
‘पछि धोका दिने कुरा त छैन ?’ मैले चिन्ता जनाएँ ।
‘मलाई त्यस्तो लाग्दैन’, उनी ढुक्क देखिइन्, ‘मैले छोरीलाई एक्लै राखेर पनि केर्नु केरें । उसले मान्छे राम्रो छ, धोका दिँदैन भनेकी छे । केटा हेर्दा पनि त्यस्तो लागेन ।’
‘त्यसो भए तिमी जाऊ’, मैले निर्णय सुनाएँ, ‘जीवन रह्यो भने पछि ज्वाइँसँग भेटौंला । छुट्टै टीका लगाइदिउँला । तिमी नै बाउ पनि आमा पनि बनेर छोरीको बिहे गरिदेऊ । यसमा मेरोतर्फबाट कुनै बाधा छैन । बरू म खुसी हुनेछु ।’
अब मेरो आधा रोग घट्यो ।
श्रीमती गइन् । गच्छेअनुसार छोरीको बिहे गरिन् । म निको भएर घर आउँदा ज्वाइँ पल्टन गइसक्नुभएको रहेछ । हाम्रो तत्काल भेट भएन ।
हाम्रो पुरापुर बसोबास पोखरामा भइसकेको थियो । मेरा सम्धीसाब पतिराम गुरूङको परिवार भने वार्चोकमै हुनुहुन्थ्यो ।
त्यही क्रममा ईश्वर ज्वाइँसाब (ज्वाइँको दाजु) पोखरा आउनुभयो । उहाँसँग घुलमिल भयो । अलि पछि सम्धीसाब आउनुभयो । उहाँसँग पनि उठबस बढ्यो ।
यो पनि…
चिनारी नै तुलसीको दाइ
उहाँ भारतीय गोर्खा पल्टनको पूर्वलाहुरे । म पनि त्यस्तै । हाम्रो आत्मीयता, सरसंगत, बोलीचालीका विषयवस्तु स्वतः मिल्ने नै भए । हाम्रो राम्रो हिमचिम बढ्यो । गाउँमा धन, वुद्धि वा अन्य केही कुराको समस्या परे जे पनि गर्न सक्ने हठी व्यक्तिका रुपमा मैले उहाँलाई महसुस गरें ।
उहाँकी श्रीमती मेरो दिदी पर्ने हुनुहुन्थ्यो । त्यही भएर मैले सम्धीसाब होइन, ‘भिनाजु’ भनें ।
तैपनि मलाई एउटा खुलदुली छँदै थियो– ज्वाइँसाब कस्तो हुनुहुन्छ होला ? उहाँको आनीबानी कस्तो होला ? गुणहरु कस्ता होलान् ?
जब सम्धीसाबसँग दोस्ती भयो, ढुक्क भएँ– यस्ता बाउका छोरा पक्कै गुणकारी नै हुनुहुन्छ ।
छोरी गंगा गर्भवती थिइन् । माइतमा सन्तान जन्माउन हुँदैन भन्ने परम्परागत मान्यताअनुसार प्रसूतिको समयमा उनलाई त्यस क्षण जेठी छोरीको घर पठायौं । त्यहाँ नाति जन्मियो । बाह्र दिन राखेर फेरि घरमै ल्यायौं ।
त्यो नाति हेरेर पनि म ज्वाइँका गुणहरु अनुमान गर्थें । पछि उहाँ आउनुभयो । भेट भयो । मैले जस्तो परिकल्पना गरेको थिएँ, त्यसभन्दा भद्र, क्षमतावान् र गुणशाली हुनुहुँदो रहेछ ।
यो पनि…
‘सुपर म्यान’ हाम्रो पापा
मनमनै गद्गद् भएँ । भगवान्प्रति धन्य भएँ । र, उनीहरुको जीवन जन्म–जन्म मंगलमय होस् भनेर प्रार्थना गरें ।
ज्वाइँसाब आएपछि मात्र सम्धी मिलनको औपचारिक संक्षिप्त कार्यक्रम गर्यौं ।
सन् १९९२ मा धर्मोदय सभामार्फत १० दिनको चीन भ्रमणको हामीलाई अवसर जु¥यो । भ्रमणको प्रबन्ध स्थलमार्गबाट गरिएको थियो । अरनिको राजमार्गको तातोपानी, मितेरी पुल, खासा हुँदै हामी तीन दिनमा ल्हासा पुग्यौं ।
त्यसपछि छेङ्दु हुँदै बेइजिङ गयौं । अन्त्यमा सांघाई हुँदै हङकङ छिर्यौं । सेककङ भिलेजको आर्मी क्याम्पभित्र छोरी–ज्वाइँसँग १५ दिन बसियो ।
त्यो बसाइमा ज्वाइँसाबको क्रियाकलाप जुन देखें, अत्यन्त प्रभावित भएँ । अतिथि सत्कार, पारिवारिक प्रेम, साथीहरुसँगको मित्रता, कामप्रतिको लगाव हरेक गुणले मलाई छोए । उहाँलाई राम्ररी चिन्न पाएँ ।
यो पनि…
कठोर गुरू, मिलनसार मित्र
हामी अलि अबेलासम्म सुत्थ्यौं । उहाँ बिहान सखारै उठेर ड्युटीमा जानुहुुन्थ्यो । हामीलाई ‘डिस्टर्ब’ हुन्छ भनेर उहाँ बिरालाको चालमा निस्कनुहुन्थ्यो । म चाल त पाउँथें । तर, नपाएजस्तो गर्थें ।
कम्ती बोल्ने, सोचेर बोल्ने, चित्त बुझ्ने बोल्ने उहाँको बानी छ । म पहिला–पहिला कहीं–कतै बोल्नु पर्याे भने लम्बा–चौडा भूमिका बाँध्थें । तर, उहाँबाट यो सिकें कि, ‘लामो बोल्दा सुन्नेलाई बोर हुन्छ । जे कुरा हो, ठ्याक्क भन्ने । सक्कियो ।’
त्यसपछि मैले आफूलाई बदलें । त्यसैले उहाँ मेरो ज्वाइँ मात्रै होइन, गुरूसमेत हो । हरेक मान्छेमा कुनै न कुनै प्रतिभा छुपेको हुन्छ । त्यसलाई प्रस्फुटन गर्न अवसर चाहिन्छ । अवसर प्राप्त गर्न कसै न कसैको सहयोग–साथ चाहिन्छ । मैले त्यो अवसर ज्वाइँसाबबाट पाएँ ।
गुरूङ जातिमा एउटा विशेष संस्कार हुन्छ ‘पुर्पुरे’ । यो खासमा जेठा सन्तानको कपाल काट्ने समारोह हो । त्यसमा बाजे–बज्यै सम्भव भएसम्म अनिवार्य जानैपर्ने हुन्छ । ठूलो नातिको गाउँमा पुर्पुरे थियो । त्यो उकालो–ओरालो बिरामी मान्छे भए पनि थकान पटक्कै महसुस भएन । त्यही अवसरमा उहाँको गाउँ यसो डुलेर हेरें । बडो सुन्दर, रमाइलो र मोहक लाग्यो ।
हाम्री छोरी गंगा सानैदेखि सुरो थिई । मान्छे फुच्ची तर कसैदेखि नडग्ने । कसैले हेप्यो भने हानिदिन पछि नपर्ने । त्यसैले मलाई बेला–बेला डर लाग्थ्यो– यस्तीले कस्तो ज्वाइँ पाउँछे ? यस्तो स्वभाव मन पराउने हो कि होइन ? कुनै दिन दुःख पो पाउने हो कि ?
तर, ज्वाइँ देउताजस्तै पाई । ऊ भाग्यशाली भएकाले हामीले आफूलाई भाग्यशाली पायौं ।
छोरीलाई अंग्रेजी फिटिक्कै आउने थिएन । तर, अहिले धेरै राम्रो बनाएकी छे । एसएलसी नसकी बिहे गरेकी मान्छे, धेरै प्रगति गरेकी छे । गरिखान सक्ने बनाउनु ज्वाइँकै खुबी हो ।
गोर्खा पल्टनमा गएपछि ‘फस्ट लेडी प्यारा जम्पर’ भई हाम्रै छोरी । आकाशबाट हामफल्दा प्यारासुट सिमलको रुखमा अड्कियो, ऊ हाँसिरहेकी छ । त्यो फोटो मैले जतनसाथ राखेको छु । आफ्नी छोरीको यत्रो पौरख देख्दा गर्व लाग्दो रहेछ ।
यी सबै उपलब्धि र प्राप्तिमा तुलसी ज्वाइँसाबको महत्वपूर्ण हात छ । उहाँ प्रतिभाशाली व्यक्तित्व हो । विभिन्न विधाका खेलकुदमा राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार जित्नुभएको छ । समाज सेवामा निकै सक्रिय भएर लाग्नुभएको छ ।
यो पनि…
पापा मेरो ‘रोल मोडल’
पोखराका जुनसुकै सामाजिक संस्थाले तुलसीकुमार गुरूङको नाम लिन्छन् । उहाँले सहयोग नगरेका संस्था कमै होलान् । कसैले फोनमा कुरा राख्यो भने रकम पायो ।
कतिपय अवस्थामा उहाँले मलाई वा ईश्वर ज्वाइँलाई फोन गरेर भन्नुहुन्छ, ‘फलानालाई यति पैसा लगिदिनु न ।’
हामी पैसा लिएर जान्छौं । दाता उहाँ हुनुहुन्छ, खादा ओढ्ने हामी बन्छौं ।
बिलबहादुर गुरूङ, ससुरा
(तुलसीकुमार गुरुङद्वारा लिखित ‘तुलसी’ पुस्तकमा लेखकका ससुरा बिलबहादुर गुरुङले ब्यक्त गरेको भावनाको अंश, पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)