चिनारी नै तुलसीको दाइ
घरको जेठो, परदेशको कान्छो नहुनु भन्छन् । बाहिर हिँड्दा जे–जति खत्रयाङ–मत्रयाङ हुन्छ, सानैलाई बोकाउँछन् । घरमा निःसन्देह जिम्मेवारीको बोझ ठूलैको काँधमा थुप्रिन्छ । त्यही अभिभाराका प्रकृति हेरेर यस्तो उक्ति बनाइएको होला ।
म घरको जेठो छोरा भएको नाताले ममाथि स्वभावतः अलि धेरै जिम्मेवारी आइलाग्यो । तर, मैले कहिल्यै त्यस्तो भारको अनुभूति गरिनँ । म हुर्किइसकेपछिका अधिकांश बहिनी–भाइ भएकाले दायित्व लिने उमेर भइसकेको पनि थियो मेरो ।
मभन्दा मुनि जेठी बहिनी ६ वर्षपछि जन्मिएकी हो । तेस्रो सन्तान तुलसीकुमार मभन्दा १३ वर्ष कान्छो छ । म र बहिनी मावलमा जन्मिएका हौं । माइलाको पालामा भने जेठी माइजूले ३ वटै सन्तान माइतीमा पाउनु हुँदैन भन्नुभएकाले आमालाई वार्चोक ल्याइएको रे । त्यतिबेलाको जनश्रुति त्यस्तै थियो ।
यो पनि…
‘सुपर म्यान’ हाम्रो पापा
हाम्रो बाजेका पालामा हामी खानदानी थियौं रे । बाजे ५० वर्षमा बितेको रे । त्यतिबेला बज्यै जम्मा ३० वर्षकी मात्रै । त्यही उमेरमा ६ सन्तान पाइसक्नुभएको रहेछ । पछि अंशबन्डा गर्दा बज्यैलाई ‘सम्पत्ति दियो भने पोइल जान्छे’ भनेर थोरै र कमसल दिइएको रहेछ । त्यही कारण हाम्रो आर्थिक स्थिति बिग्रिएछ । त्यति हुँदा पनि बज्यै हाँसेरै बस्नुभयो । जे भए पनि राम्रोसँग मरण भयो उहाँको ।
घरको आर्थिक अवस्था पनि कमजोर भयो । आमाले धेरै काम गर्नुहुन्थ्यो । घरतिर काम गर्ने ठूलो ठाउँ थिएन । मावलको बाजेले कामै गर्ने भएकाले आमालाई औधी माया गर्नुहुन्थ्यो । बाजे–बज्यैले पेवा पनि दिनुहुन्थ्यो । त्यसैले आमा धेरैजसो माइतमै बस्नुभयो ।
यो पनि…
कठोर गुरू, मिलनसार मित्र
माइलो भाइ आएपछि हामी भाग्यमानी भयौं । भाइले हामी सबैको नाम राखेको छ । हामी सबैलाई यसैको नाउँले चिन्छन् अचेल । सानै हुँदादेखि नै मलाई कसैले बोलाउँदा या कहीं जाँदा तुलसीको दाइ भनेर चिन्थे । त्यसमा मलाई दुःख होइन, खुसी लाग्थ्यो ।
म तुलसीको दाइ भए पनि मलाई प्रायःले भाइ भनेर बोलाउँथे । गाउँतिर पनि केटाहरुले तुलसीलाई चाहिँ दाइ भन्थे । अनि तुलसीले मेरो दाइ हो उहाँ भनेपछि बल्ल मलाई दाइ भनेर बोलाउँथे । मलाई भाइ बनाउँदा उसले असहजता महसुस गर्थ्याे । दाइको सम्मान सधैं दिन्थ्यो । सानैदेखि ।
माइलो सानामा अति नै चकचके थियो । मान्छेचाहिँ सानोसानो, चकचक उग्रै, नसकिने खालको । तर, हिम्मतिलो । जे कुरा पनि गर्न सक्छु भन्ने । छेलो हान्नुपर्याे भने कसैले नजित्ने उसलाई । त्यस बेलाका च्याम्पियन सबैलाई जितेर देखाइदियो । हारेको रेकर्ड छैन कतै ।
बुवा ६० वर्षको हुँदासम्म तन्दुरूस्त हुनुहुन्थ्यो । पछि धेरै रक्सी खान थालेपछि कलेजो बिग्रिएर जानुभयो । त्यो घटनाले मलाई ठूलो पिर पर्याे । मलगायत मेरा छत्रछायामा बस्ने भाइबहिनीहरु मादक पदार्थ वा लागूऔषधको कुलतमा फस्छन् कि भन्ने सधैं डर थियो ।
जाँड–रक्सी खानु हुँदैन भन्ने सिद्धान्त थियो मेरो । बुवाको घटनापछि म झन् यो अठोटमा दृढतापूर्वक पुगें । भाग्यवश, मेरा भाइ–बहिनीहरु कोही पनि रक्सीको लतमा छैनन् । मेरो मार्ग निर्देशनमा सबैजना हिँडेको देखेर खुसी लाग्छ ।
प्रायः तुलसीकै अग्रसरतामा हाम्रो परिवारले गाउँमा सामाजिक कार्य गर्दै आएको छ । स्कुलको स्तरोन्नति गर्न, शिक्षकलाई तलब खुवाउन केही व्यवस्था गरेका छौं । गाविसलाई पनि सहयोग गरेका छौं । बाटो, खानेपानी, बिजुली बत्ती ल्याउने व्यवस्था मिलाइदिएका छौं ।
यो पनि…
पापा मेरो ‘रोल मोडल’
दुःखको कुरो, हामी दाजु–भाइले १० कक्षाभन्दा बढी पढ्न सकेनौं । लाहुरको चलन थियो । लाहुरे बन्न त्यति पढेपछि पुगिहाल्थ्यो । त्यसैले पढाइलाई खास प्राथमिकता दिइएन । बहिनीहरुले पनि १० कक्षाभन्दा बढी पढेनन् ।
उमेरमा तुलसी मभन्दा १३ वर्ष कान्छो भए पनि हामीलाई बाहिर चिनाउने उही हो । उसैका कारण देश–विदेशमा हाम्रो पहिचान भयो । हाम्रो नाम राख्यो ।
ईश्वर गुरूङ, दाइ
(तुलसीकुमार गुरुङद्घारा लिखित ‘तुलसी’ पुस्तकमा लेखकका दाइ ईश्वर गुरुङले ब्यक्त गरेको भावनाको अंश,पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)