English

महानगरका ‘महानायक’



काठमाडौंमा एउटा निश्चित समुदायले मधेसी सुमदायका ब्यक्तिलाई ‘मनु मखु मर्स्या ख:’ (मान्छे होइन, मधेसी हो) भन्छन् भन्ने जुन भाष्य सिर्जना गर्न खोजिएको थियो, मधेसी समुदायबाट आएका बालेन साहको विजयले त्यो कथित भाष्य खारेज गरिदिएको छ ।

काठमाडौंका सचेत मतदाता साम्प्रदायिकताको प्रायोजित पासोमा अल्झिनेवाला होइनन् भन्ने कुरा बालेनको जितले प्रष्ट गरेको छ । काठमाडौंका जनताले मधेस र मधेसीप्रति कहिल्यै न्यानोपन देखाएन भन्ने कुराको जवाफ पनि हो बालेनको यो विजय ।

बालेनले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा अनौपचारिक रुपमा विजय हासिल गरिसकेका छन् । गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग साहको मत अन्तर बढी भएपछि उनको जित सुनिश्चित भएको हो । अब केवल जितको प्रमाणपत्र ग्रहण गर्ने औपचारिकतामात्र बाँकी छ ।

मत गणनाको शुरुवातदेखि अन्तिमसम्म उनी पहिलो नम्बरमा रहे । यस महानगरपालिकाको प्रमुख पदको नेतृत्वका लागि यसपटकको निर्वाचनमा उम्मेदवार बनेका ५४ जना प्रतिद्वन्दीलाई परास्त गरेर बालेन विजयी हुँदैछन्, त्यो पनि निकै सानदार मतकासाथ ।

लौरो चुनाव चिन्ह लिएर उठेका बालेनसँग प्रतिस्पर्धामा एमाले र गठबन्धन सहितको कांग्रेसलगायतका दलहरुमात्र मैदानमा थिएनन्, ३४ जना त स्वतन्त्र उम्मेदवारहरु नै थिए । तर, उनले ती सबै स्वतन्त्र र गठबन्धन सहितको कांग्रेस, एमाले, राप्रपा लगायतका ठूला–साना सबै पार्टीहरुलाई यसपटकको चुनावी मैदानमा पछारे ।

यसअघि ०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको निर्वाचन परिणामको तस्विर अर्कै थियो । त्यतिबेला एमालेका विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीलाई पराजित गरेका थिए । स्वतन्त्र उम्मेदवार कसैले पनि मतदातालाई आकर्षित गर्न सकेका थिएनन् ।

तर, बालेनको जादु यसपटक यस्तो चल्यो कि त्यसको हावाले धरान, जनकपुर, धनगढीजस्ता देशका ठूला शहरहरुका नगरपालिकामा समेत राजनीतिक दलहरुमा पनि धक्का दियो । त्यहाँ पनि ठुला दलका उम्मेदवारहरु ती स्वतन्त्र उम्मेदवारहरुको सामुन्ने टिक्न सकेनन् । मतदाताले ठूला दललाई हैन, कुनै दलिय हैसियत नभएका स्वतन्त्र उम्मेदवारलाई नै आफ्नो नगरको प्रमुख चुने ।

कुनै पनि दलको आड नलिइ, दलको झोला पनि नबोकी राजनीति गर्न पाइन्छ । त्यसलाई संविधानले पनि रोकेको छैन । तर, नेताको फेर समातेर हिँडनुमै आफ्नो ब्यक्तिगत भविष्य चम्किलो देख्नेहरुले बालेन जस्तै अरु स्वतन्त्र उम्मेदवारको जितलाई ‘आइटम डान्स’, कागताली वा अपवादको उपमा दिनु जनताको मतमाथि मजाक गर्नु हो । प्रष्ट छ, दलका नेताहरुले अझै पनि चेतेका छैनन् ।

मूलधारका राजनीतिक दलहरूप्रति विशेषगरी काठमाडौं, धरान, जनकपुर र धनगढीले असन्तुष्टि पोखेको प्रष्ट बुझ्न सकिन्छ । दल र तिनका नेता र आसेपासेहरुका लागि यो एउटा संकेत हो । समयमै बुझ्न नसके यसको ठूलो मुल्य दलहरुले चुकाउनु पर्ने हुन्छ । दलहरु कतिसम्म बदनाम भए भन्ने कुरा यसपटक बालेन लगायतका स्वतन्त्र उम्मेदवारहरुको जितले दिएको छ ।

जनताले दिएको शिक्षा दलहरुले कति पढे, त्यसमै उनीहरुको आगामी भविष्य निर्भर छ । किनकी,यो शुरुवातमात्र हुनसक्छ अर्को पटक अरु धेरै ठाउँबाट बालेनहरुको उदय हुनसक्छ । दलभित्रैबाट बालेन जन्मिन सक्छन् । आगामी दिनमा देशभरिका टोल–टोलमा बालेन क्लब गठन नहोला भन्न सकिँदैन ।

बालेनलगायत नगरप्रमुखका रुपमा विजय हासिल गरेकाहरुको सफलताको अर्थ छ । राजनीति गर्न जेलनेल परेको, कपाल फुलेको र शक्तिशाली राजनीतिक दलबाट टिकट पाएमामात्रै जितिन्छ भन्ने मान्यता भत्किन सक्दोरहेछ । शक्तिकेन्द्रको आशिर्वाद र अथाह पैसा खर्च गरेर मात्र चुनाव जित्न सकिन्छ भन्ने जुन मत थियो, त्यो यसपटक बदर भएको छ । बालेनले पनि त्यही बदर मत प्राप्त गरेका हुन् ।

चुनाव जित्न विपक्षी दल र उसका उम्मेदवारलाई उडाउने, गालीगलौच गर्नैपर्ने, भोट किन्नैपर्ने, धाँधली र बुथ क्याप्चर नगरी चुनाव जितिदैन भन्ने मतलाई यसपटक बालेन र अन्य विजयी स्वतन्त्र उम्मेदवारलाई जिताएका मतदाताले बदर गरिदिएका छन् । उनीहरुले त्यही बदर मत प्राप्त गरेका हुन् ।

चुनाव जित्नका लागि हावादारी सपना र मोनोरेलका कथा अनि सिङ्गापुर बनाइदिन्छु भन्ने बकमफुसे गफ दिनुपर्छ भन्ने मतलाई यसपटक मतदाताले बदर गरिदिएका छन् । बालेन लगायतको विजयको आधार यो पनि हो । उनीहरुले जनताले गरेको यही बदर मत प्राप्त गरेका हुन् ।

जित्नका लागि ठुला पार्टीहरुले चुनावकै मुखमा झण्डै नेपालको जनसंख्याभन्दा बढी कार्यकर्ता अर्को पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरे भनेर ‘गोयबल्स’ शैली अपनाउनै पर्छ भन्ने मत यसपटक बालेन लगायतका स्वतन्त्र उम्मेदवारहरुको जितले बदर गरेको छ ।

‘कार्यकर्तालाई रिझाए हुन्छ, मतदातालाई त एक दुई दिन नमस्कार गरे जितिहालिन्छ’ भन्ने सोच र जनता ‘भेँडा’ हुन भन्ने प्रमुख राजनीतिक दल र उनका नेताहरुको मत बालेन लगायतका स्वतन्त्रहरुको जितले बदर गरिदिएको छ ।

चुनाव जित्न साम, दाम, दण्ड, भेद अपनाउनुपर्छ भन्ने हाम्रा प्रमुख राजनीतिक दल र उनका नेताहरुको मत यसपटक बदर भएको छ । बालेन र अरु स्वतन्त्र उम्मेदवारहरुको विजय गाथाले यही कुरा पुष्टि गर्छ ।

जनतालाई विश्वास दिलाउनु सक्नु नै बालेन र विजयी अरु स्वतन्त्रहरुको सफलताको सुत्र हो । अरु परम्परागत र बासी मतहरु यसपटक बदर भए ।

यसैले त ३१ बर्षिय बालेन काठमाडौं महानगरवासीको ‘नगरपिता’ का रुपमा सदर भए ।

यो पनि…
यही हो बेला, जनताले विवेक प्रयोग गर्ने
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ