समाज र शिक्षामा लगाव
शिक्षामा हुरूक्क
म राष्ट्रज्योति विद्यालय, साइमाराङमा विसं. २०६० मा प्रधानाध्यापक भएकी हुँ । २०५६ सालदेखि म यही विद्यालयमा अस्थायी शिक्षकका रुपमा कार्यरत थिएँ । त्यतिन्जेल यहाँ कक्षा ७ सम्म मात्र पढाइ हुन्थ्यो ।
२०५७ मा विद्यालयलाई कक्षा ८ सञ्चालनसम्मको बढोत्तरी गर्ने सञ्चालक समितिले निर्णय गर्यो । त्यो आवश्यक भइसकेको थियो । गाउँका विद्यार्थी निम्न माध्यमिक तहको उपल्लो कक्षा पढ्न टाढा–टाढा जानुपर्ने बाध्यता थियो । त्यसबाट पार पाउन यही विद्यालयमा कक्षा थप्नै पर्ने थियो , जसरी पनि ।
कक्षा ८ सञ्चालन गर्न ५० हजार रूपैयाँ धरौटी राख्नुपर्ने रहेछ । त्यसका लागि एक हप्ताको मात्र म्याद थियो रे । म प्रधानाध्यापक नभएकाले धेरै कुरा त त्यति बेलाको थाहा भएन । तत्कालीन प्रधानाध्यापक डम्बर नाथ सुवेदी हुनुहुन्थ्यो । गाविस अध्यक्ष हरि प्रसाद गुरूङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर लामा हुनुहुन्थ्यो ।
मैले सुने अनुसार , उहाँहरु तीनजना त्यसका लागि उपाय खोज्न पोखरा जानुभएछ । गाउँमा अप्ठ्यारो पर्दा साथ दिने ईश्वर गुरूङकहाँ छिर्नुभएछ । संयोगवश उहाँका भाइ तुलसीकुमार गुरूङ हङकङबाट त्यहीं आइरहनुभएको रहेछ । प्रसंग उठ्नासाथ दायाँ–बायाँ नसोची उहाँले ५० हजार रूपैयाँ निकालेर दिनुभएछ ।
त्यही पैसा धरौटी राखेपछि कक्षा ८ सञ्चालन गर्ने अनुमति प्राप्त भयो । विद्यालयको रेकर्डमा त्यो अभिलेखबद्ध भएर बसेकोछ । तुलसीकुमार गुरूङको सामाजिक योगदानबारे मैले त्यहींबाट सुनेकी हुँ ।
कक्षा ८ त चल्यो, निमावि तहको दरबन्दी राज्यले दिन सकेन । कक्षा ७ सम्मलाई मात्र दुइटा दरबन्दी थिए । गणित र विज्ञानका शिक्षक तत्कालीन साइमाराङ गाविसले आफ्नै स्रोतबाट व्यवस्था मिलायो ।
२०५७ सालदेखि २०६७ सम्म हामीले यसलाई कक्षा ८ सम्म चलायौं । त्यसै बीच गाउँका भद्रभलाद्मी, सञ्चालक समिति, शिक्षक, अभिभावक, गाविस पदाधिकारी सबैको चाहना यसलाई कक्षा १० सम्म पर्याउने रह्यो । हामी सबै कार्यान्वयनमै जान तम्तयार भयौं ।
२०६७ सालमा कक्षा ९ ल्याउन पहल थालियो । त्यसका लागि थप एक लाख रूपैयाँ धरौटी राख्नुपर्ने भयो । अभिभावकसँग चन्दा उठायौं । र , धरौटी रकम जुटायौं ।
कक्षा ९ आयो । तर , निमाविकै लागि दुईजना शिक्षक गाविसको स्रोतबाट राखिएका थिए । अब कक्षा थप्दा शिक्षकको प्रबन्ध कसरी गर्ने, थप समस्या थियो । फेरि निजी स्रोतबाट अनेक उपाय खोज्दै शिक्षक राख्यौं ।
क्रमशः २०६८ मा कक्षा १० को अनुमति लियौं । र, यो राष्ट्रज्योति माध्यमिक विद्यालयको पूर्ण स्वरुपमा पुग्यो । हाम्रो पहिलो ‘ ब्याच’ ले २०६९ सालमा एसएलसी परीक्षा दियो । परिणाम सन्तोषजनक नै आयो ।
२०७० सालमा दोस्रो ‘ब्याच’ एसएलसीको तयारीमा थियो । यसपालि गतिलै मिहिनेत गरेर/गराएर राम्रो परिणाम आर्जन गर्न विद्यालय कम्मर कसेर लागेको थियो । त्यही क्रममा साइमाराङ गाविसले तुलसीकुमार गुरूङको परिवारलाई स्वागत गर्न कार्यक्रम राखेको रहेछ ।
त्यो कार्यक्रममा मलाई पनि बोलाइएको थियो । भाग्यवश एकै ठाउँमा बस्न पाइयो ।
‘विद्यालयको के छ खबर ?’ उहाँले सोध्नुभयो, ‘ कसरी चलिरहेको छ ? स्रोत के–कसरी जुटाउनुभएको छ ?’
जहिले देखि माध्यमिक तह भयो , हामीले जेनतेन चलाइरहेका थियौं । अघिल्लो वर्षको एसएलसी तयारीमा पनि निकै हम्मे परेको थियो । परीक्षार्थीलाई केही महिना पोखरामा होस्टेल राखे र अतिरिक्त पढाएका थियौं । केही अंश अभिभावकसँग उठाएका थियौं । केही अंश विद्यालयले बेहोरेको थियो ।
यसपालि त्यही समस्या खड्किइरहेको थियो । मैले त्यसबारे उहाँलाई जानकारी गराएँ ।
‘कति जना छन् म्याडम यसपालि परीक्षा दिने ?’
उहाँले सोध्नुभयो ।
‘१३ जना’, मैले भनें ।
‘होस्टेल खर्च कसरी धान्छन् नि ?’ उहाँको अर्को जिज्ञासा थियो ।
‘होस्टेलमा मासिक पैसा बुझाउनुपर्छ’, मैले प्रस्ट्याएँ ।
पोखरामा सेन्टर पर्थ्यो । त्यसका लागि त्यहाँ बस्नै पर्थ्यो। त्यही भएर हामी २–३ महिना पहिल्यै लान्थ्यौं । उतै थप मिहिनेत गराउँथ्यौं ।
‘होस्टेलमा राख्दा एकजनाको महिनाको कति तिर्नुपर्छ ?’ उहाँले फेरि सोध्नुभयो ।
‘६ हजार’, मैले भनें ।
उहाँले मञ्चबाट तत्कालै बोल्नुभयो, ‘१३ जना विद्यार्थीलाई होस्टेलमा बसेर पढ्ने एक महिनाको ६ हजारका दरले ७८ हजार रूपैयाँ मेरो तर्फबाट भयो ।’
उहाँले त्यही कार्यक्रममा अर्को घोषणा गर्नुभयो , ‘ज–जसले यस स्कुलबाट फस्ट डिभिजन (कम्तीमा ६० प्रतिशत अंक) ल्याउँछन्, तिनलाई म १० हजार रूपैयाँ इनाम दिनेछु । त्यो पनि मेरो जीवन रहेसम्म । मेरो शेखपछि छोराहरुले चाहे गर्लान्, नचाहे भन्न सकिन्न । म रहुञ्जेल भने यसलाई पूरा गर्नेछु ।’
त्यसका लागि उहाँले आमा काली गुरूङ र बाबा स्व. पतिराम गुरूङका नाममा तीन लाख रूपैयाँको अक्षयकोष तत्काल स्थापना गरि दिनुभयो । भन्नुभयो , ‘यसको ब्याजले हरेक वर्ष प्रथम श्रेणी ल्याउने विद्यार्थीलाई इमान दिन पुग्यो भने पुग्यो । पुगेन भने म थपिदिने छु ।’
भाग्यवश पहिलो वर्ष एकजनाले प्रथम श्रेणी ल्याए । त्यो संख्या बढ्दै गयो । पछिल्लो समय ग्रेडिङ प्रणालीमा गई जीपीए मापदण्ड भएपछि बी प्लस वा त्यसभन्दा माथि ल्याउने लाई उक्त पुरस्कार दिने मापदण्ड बनाइएको छ । अचेल त्यो संख्या प्रत्येक वर्ष सरदर ६–७ जना पुगेको छ ।
उहाँ भन्नुहुन्छ, ‘मलाई जति धेरैले धेरै भन्दा धेरै नम्बर ल्याउने छन्, उति धेरै खुसी लाग्ने छ ।’
अहिले हाम्रो विद्यालय मादी गाउँपालिकामा पर्छ । यो अझै बामे सर्ने स्थितिमै छ । यस स्कुललाई यहाँसम्म पुर्याउन अहम् भूमिकामा र हनुभएका तुलसी गुरूङ त्यही गाउँपालिकाका बासिन्दा हुनुहुन्छ । परिस्थितिले प्रायः बाहिर बस्नुहुन्छ । तर , जहाँ रहे पनि मनमा गाउँ र हाम्रो स्कुल राखिरहनुहुन्छ । उहाँको सेवाभावले त्यसलाई पुष्टि गर्छ ।
उहाँको इज्जत हामीले राख्नुपर्छ । त्यो चुनौती हाम्रो काँधमा छ । उहाँप्रति विद्यालय परिवारका तर्फबाट म हार्दिक आभार र सम्मान प्रकट गर्छु ।
उहाँको उज्ज्वल भविष्यको कामना !
सुमना सुवेदी
प्रधानाध्यापक, राष्ट्रज्योति माध्यमिक विद्यालय, साइमाराङ, कास्की
(तुलसीकुमार गुरुङद्वारा लिखित ‘तुलसी’ पुस्तकमा प्रधानाध्यापक सुवेदीले आफ्नो भावना साझा गरेकी छिन् । यो पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ।)
यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
समीक्षा : जिउने कला र आत्ममार्गका लागि