English

दुई दशकपछि नेपाली कांग्रेसको नेतृत्व फर्काए खेलराजले



बिगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक काँग्रेसले आफ्नो विरासत फर्काएको छ ।

बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका खेलराज पाण्डे विजयी भन्दा उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालले चुनाव जितेकी छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जितेका हुन् ।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे । पाण्डेले ३० हजार १३० मत प्राप्त गरे भने एमाले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एसका चिनबहादुर गुरुङले १६ हजार ९८० मत ल्याए ।

पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ । बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले दुई दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको हो । यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए । २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए । मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए ।

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भएका थिए ।

पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भएका थिए । आठ वर्षअघिको चुनावमा पराजित पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी भएका थिए ।

उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो । तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
दलहरुले बदल्न सक्लान् त बुटवल ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई