English

जुम्लामा अज्ञात रोगका कारण २६ विद्यार्थी एकैदिन अचेत



अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । तातोपानी गाउँपालिका–७, स्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा ताम्तीगाउँ प्रभावित भएको छ ।

विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय अहिले बन्द गरिएको छ । उनीहरूमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माविका प्रधानाध्यापक जनक रावतले बताए । उनले भने, ‘अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ । गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका छन् ।’

विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले बताए । विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रसित अवस्थामा छ । समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर छ । ‘गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्र रूपमा गाउँ नै थला पार्न थालेको छ’, वडाध्यक्ष मक्करबहादुर रावलले भने, ‘तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रदूषणले पनि यो समस्या खडा गरेको छ ।’ लामो समय खडेरी पर्दा गाउँ–गाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीयवासी बताउँछन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईँका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य संयोजक चौलागाईँले जनाए । रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगिसकेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाकाले जनाए । गाउँमा डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण भएको छ । मौसमी रुघाखोकी फैलिँदा बालबालिका बिरामी परेको भन्ने बुझिएको छ । आवश्यक औषधि उपलब्ध गराई उपचार गरेको प्रमुख सापकोटाले बताए ।

चन्दननाथ नगरपालिका–४ का स्थानीयवासी अप्सरा न्यौपानेले भनिन्, ‘मेरो बच्चा पनि अहिले बिरामी छ, विद्यालयबाट बिरामी भएर आयो । बच्चाको स्वास्थ्य जाँच चिकित्सकले सामान्य रुघाखोकी हो भन्नुभएको छ, मेरो छिमेकीका बच्चा अहिले एक÷दुई गरेर बिरामी परेका छन् ।’

विद्यालयमा राम्रोसँग स्वास्थ्यका मापदण्ड लागू नहुँदा यस्तो समस्या अझै आउने स्थानीयवासी न्यौपानेले बताए । वायु प्रदूषण र अहिले मौसम सुक्खा भएकाले स्वास्थ्यका लागि हानिकारक रहेको वातावरणविद् बताउँछन् । रासस



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार