English

डब्लूडब्लूएफ नेपालले मनायो २९ औं वार्षिकोत्सव



डब्लूडब्लूएफ नेपाल । नेपालमा वन, वन्यजन्तू, स्वच्छ पानी, उर्जा र जैविक विविधताको संरक्षणमा योगदान पुर्याउँदै आएको संस्था । यही संस्था जसले नेपाली भूमीमा रहेर काम गर्न थालेको २९ वसन्त पुरा भयो ।

यही अवसरमा डब्लूडब्लूएफ नेपालले आज (बिहिबार) ३० वर्षे यात्रालाई स्वागत गरेको छ । वन तथा वातावरण मन्त्री रामशाय प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मन्त्रालयका सचिव, विभिन्न देशका राजदूत र सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रममा मन्त्री यादवले डब्लूडब्लूएफ नेपालको नयाँ लोगो सार्वजनिक गर्दै शुभकामना दिए ।

जैविक विविधताको ह्रास हाम्रा लागि दिगो समस्याको रुपमा छ, यसको संरक्षणका लागि डब्लूडब्लूएफ नेपालले गरेको कार्यप्रति मेरो सम्मान छ, आगामी दिनमा यो सहकार्यलाई अझै मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

उनले लोपोन्मुख प्रजातिको संख्यामा वृद्धि, स्थानीय तथा राष्ट्रिय स्तरमा जैविक विविधताको संरक्षण, नीति निर्माणमा सहयोग, संस्थागत अभिवृद्धि र सामुदायिक सचेतनामा डब्लूडब्लूएफ नेपालले पुर्याएको योगदानको प्रशंसा गरे ।

‘जैविक विविधताको ह्रास हाम्रा लागि दिगो समस्याको रुपमा छ,’ उनले भने, ‘यसको संरक्षणका लागि डब्लूडब्लूएफ नेपालले गरेको कार्यप्रति मेरो सम्मान छ, आगामी दिनमा यो सहकार्यलाई अझै मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

साथै, स्थानीय सरकार, विकास साझेदार, सामुदायिक अभियन्ता र सञ्चारमाध्यमबीचको प्रभावकारी समन्वयबाट मात्रै संरक्षण क्षेत्रमा सफलता सम्भव हुने उनले प्रष्ट पारे । ‘सरकारले स्थानीय र राष्ट्रिय स्तरमा संरक्षणका लागि विभिन्न पहललाई निरन्तरता दिइनेछ,’ उनले भने ।

मानव जाती र वन्यजन्तूको अन्तरद्वन्द्व हुनु निकै गम्भीर कुरा हो, यसको न्यूनिकरणको पहल गरिसकेका छौं, जलवायु परिवर्तनबाट वन्यजन्तू र पर्यावरणमा परेको असर कम गर्ने उपायहरु पनि अघि बढाउनेछु ।

पछिल्लो समय मानिस र वन्यजन्तूबीचको द्वन्द्व बढ्दै गएकाले यसको न्यूनिकरणका लागि सरकारले विशेष कार्यक्रम अघि बढाएको मन्त्री यादवले बताए । ‘मानव जाती र वन्यजन्तूको अन्तरद्वन्द्व हुनु निकै गम्भीर कुरा हो, यसको न्यूनिकरणको पहल गरिसकेका छौं,’ मन्त्री यादवले भने, ‘जलवायु परिवर्तनबाट वन्यजन्तू र पर्यावरणमा परेको असर कम गर्ने उपायहरु पनि अघि बढाउनेछु ।’

कार्यक्रममा डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले जमिन तथा जैविक विविधताको संरक्षणका लागि नेपाल सरकारसँग सहकार्य गर्न पाउनु सुखद् रहेको बताए । उनले संरक्षण कार्यमा विकास साझेदार र समुदायसँगको सहकार्यमा सरकारलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘जलवायु परिवर्तनको असरसँग जुध्नका लागि पानीका स्रोतको संरक्षण गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो,’ उनले भने, ‘अब वन्यजन्तु मैत्री पूर्वाधार विकासमा नेपाललाई नमुना बनाउने र अवैध वन्यजन्तुको व्यापार र शिकार नियन्त्रण गर्ने हाम्रो प्रमुख उद्धेश्य हो ।’

२ जनालाई लेखनवृत्ति र ८ जनालाई छात्रवृत्ति

कार्यक्रममा डब्लूडब्लूएफ नेपालले ५ विधामा १० जना विद्यार्थीलाई लेखनवृत्ति/छात्रवृत्तिसमेत प्रदान गरेको थियो । सन् २००६ मा हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका २४ जना संरक्षणकर्ताको सम्मान र नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्धेश्यले स्थापित कोषमार्फत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

जसमा चन्द्र गुरुङ मेमोरियल फेलोसिपअन्तर्गत काठमाडौं फरेष्ट्री कलेजमा प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययनरत दिपिका बडाल र काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञानमा स्नातकोत्तर अध्ययनरत श्रेया मानन्धरलाई प्रदान गरिएको छ ।

त्यस्तै, जिलियन बोलिङ स्लेफर मेमोरियल छात्रवृत्ति पोखरास्थित इन्स्टिच्युट अफ फरेष्ट्रीमा अध्ययनरत सुन्दर ओली र शिखा डाँगीलाई दिइएको छ । यसैगरी, नेपाल कन्जरवेसन मेमोरियल छात्रवृत्ति इन्स्टिच्युट अफ फरेष्ट्रीमा बिएससी अध्ययनरत गरिमा गुरुङ र काठमाडौं विश्वविद्यालयमा बिएससी अध्ययनरत सक्षम श्रेष्ठले पाएका छन् ।

त्यस्तै, मिङ्मा नोर्बु शेर्पा मेमोरियल छात्रवृत्ति जेभियर इन्टरनेशनल कलेजमा विएससी अध्ययनरत फूर्वा तेन्जिङ लामा र इन्स्टिच्युट अफ फरेष्ट्रीमा बिएससी अध्ययनरत याङचेन शेर्पाले प्राप्त गरिएको हो ।

यसैगरी, हेटौंडास्थित एग्रिकल्चर एण्ड फरेष्ट्री युनिभर्सिटीमा बिएससी अध्ययनरत साफिया खातुन र हेटौैंडाकै इन्स्टिच्युट अफ फरेष्ट्रीमा बिएसी अध्ययनरत सर्मिला खड्का बिःकलाई जेनिफर हेड्ले मेमोरियल छात्रवृत्ति प्रदान गरिएको छ ।

जसले पाए डब्लूडब्लूएफ नेपाल कन्जरभेसन अवार्ड

कार्यक्रममा वन्यजन्तू तथा जैविक विविधता संरक्षणका क्षेत्रमा योगदान पुर्याउँदै आएका दुई जना व्यक्ति र एक संस्थालाई ‘डब्लूडब्लूएफ नेपाल कन्जरवेसन एवार्ड–२०२२’ मार्फत सम्मान गरिएको छ । जसमा मौरीपालक किसान पुर्मल बस्नेत, कान्तिपुर दैनिकका लागि बझाङका संवाददाता वसन्तप्रदाप सिंह र संस्थागततर्फ नेपाल नटक्राफ्ट सेन्टरलाई सम्मान गरिएको हो ।

कोहलपुरका बस्नेतले विगत ११ वर्षयता मौरी पालन गर्दै आएका छन् । उनी नेपालमा लोपोन्मुख प्राजातिका किटहरुको संरक्षण अभियानमा सक्रिय छन् । ‘म अहिले मौरी लगायतका थुप्रै किटकोे संरक्षणमा लागेको छु,’ बस्नेत भन्दै थिए, ‘केही प्रजातिका किटले वातावरणलाई ठूलो योगदान गरेका हुन्छन् जस्तै पुद्का मौरी, भमरा, कमलकोठीलगायतका रैथाने प्रजातिका किटहरुको संरक्षणमा लागिरहेको छु आज डब्लूडब्लूएफ नेपालको सम्मानले अझै हौसला मिलेको छ ।’ ११ वर्षअघि २ घार मौरीबाट व्यावसाय सुरु गरेका बस्नेतको अहिले २ सयभन्दा बढी मौरीका घार छन् ।

यस्तै, लामो समयदेखि वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा कलम चलाउँदै आएका सिंह डब्लूडब्लूएफ नेपालले गरेको सम्मानले थप उर्जा प्रदान गरेको बताउँछन् । ‘मैले पत्रकारिताका क्षेत्रबाट वातावरण संरक्षणमा पुर्याएको योगदानलाई कदर गर्नुभएको हो जस्तो लाग्छ,’ उनले भने, ‘पछिल्लो समय मानव जाती र जलवायू परिवर्तनका कारण हिमाली क्षेत्रमा असर परिरहेको छ र मैले बझाङमै रहेर पनि त्यहाँका वातावरणीय मुद्धाहरुलाई बाहिर ल्याउने प्रयास गरिरहेको छु ।’

यो धर्तीमा मानव जातिको जति अधिकार छ त्यति नै वन्यजन्तू र किटपतङ्गको पनि छ । यद्यपि, जैविक विविधतामा ह्रास आउँदा त्यसको सजायको भागिदार भने मानव जाति हुन् भन्ने बुझाउन मिडियाको ठूलो भूमिका रहने सिंह बताउँछन् । ‘मिडियाको ध्यान यतातिर धेरै गएको पाइँदैन,’ सिंह भन्छन्, ‘मिडियाकर्मीले पनि वातावरण संरक्षणमा योगदान दिनुपर्छ भन्ने लागेर नै संरक्षण अभियानमा निरन्तर कलम चलाउँदै आएको छु ।’

यसैगरी, संस्थागत विधाअन्तर्गत विगत ३८ वर्षदेखि प्रकृतिमा आधारित जीविकोपार्जन र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्था नेपाल नटक्राफ्ट सेन्टरलाई डब्लूडब्लूएफले सम्मान गरेको छ । उक्त सम्मान संस्थाकी अध्यक्ष श्याम बदन श्रेष्ठले ग्रहण गरेकी थिइन् ।

तीनजनाको सल्लाहकार समिति घोषणा

कार्यक्रममा डब्लूडब्लूएफ नेपालले नयाँ सल्लाहकार समितिको औपचारिक घोषणा गरेको थियो । जसमा वरिष्ठ पत्रकार कुन्द दिक्षित, पर्यटनविद् तथा लेखक लिसा चोग्याल र उद्यमी तथा सम्पदा संरक्षणकर्ता अनिल चित्रकार रहेका छन् ।

नव नियुक्त सल्लाहकार समितिको तर्फबाट बोल्दै पत्रकार दिक्षितले लोपोन्मुख प्राजातिको संरक्षण र जैविक विविधताको संरक्षणमा डब्लूडब्लूएफ नेपालले हासिल गरेको उपलब्धिको प्रशंसा गरे । ‘हामी जैविक विविधताको संरक्षणका लागि प्रतिवद्ध छौं,’ दिक्षितले भने, ‘आगामी दिनमा डब्लूडब्लूएफ नेपाललाई सक्दो सहयोग गर्नेछौं ।’

यो पनि…
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’
विश्व वनजंगल दिवस : हरियो वन प्राणीको धन




सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ