साजिटारियस ए* ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक
एक पत्रकार सम्मेलनबीच खगोलविद्हरुले मिल्की वे ग्यालेक्सी को केन्द्रमा रहेको महाकाय ब्ल्याक होल साजिटारियस ए* को पहिलो तस्विर सार्वजनिक गरेका छन् ।
जर्मनीस्थित युरोपियन साउदर्न अब्जरभेटरीको मुख्यालयमा आयोजित उक्त पत्रकार सम्मेलनमा विश्वभरका ८० भन्दा बढी विज्ञान संस्थानमा कार्यरत तीन सयभन्दा बढी वैज्ञानिकहरुको सहकार्यमा तयार गरिएको उक्त पहिलो तस्विर सार्वजनिक गरिएको हो । उक्त तस्विर इभेन्ट होराइजन टेलिस्कोपबाट संकलित तथ्यांकहरुको अध्ययनको उपज हो ।
के हो ब्ल्याक होल ?
प्रत्येक दिन बिहान उठ्ने बित्तिकै हामी सूर्यको दर्शन गर्छौं र राती चन्द्रमाको सौन्दर्यताको साक्षी बन्छौं । अनि आकाशमा देखिने ताराहरु किन कसरी चम्केका होलान् भनी आश्चर्यचकित हुन्छौं । सूर्य, चन्द्रमा तथा ताराहरुजस्तै ब्ल्याक होल पनि आकाशीय पिण्ड हुन्, जहाँ गुरुत्वाकर्षण शक्ति वा ग्राभिटी यत्ति धेरै शक्तिशाली हुन्छ कि ब्ल्याक होलबाट उम्केर प्रकाश पनि बाहिर भाग्न सक्दैन र पिण्डहरु एकदमै खाँदिएका हुन्छन् । समान्यतयाः हामीले सूर्य, चन्द्रमा तथा ताराहरु अवलोकन गर्न सक्छौं किनभने ती आकाशीय पिण्डहरुले प्रकाश परार्वतन गर्छन् । तर ब्ल्याक होलले आफ्नो वरिपरि भएका सम्पूर्ण पिण्ड मात्र होइन प्रकाशलाई समेत आफ्नो केन्द्रमा समाहित गर्ने भएकाले ब्ल्याक होलको अवलोकन गर्न सकिंदैन । त्यसैले नै यसलाई ब्ल्याक होल भनिएको हो अर्थात् यो एउटा यस्तो कालो प्वाल जसको भित्र के छ, के भइरहेको कसैलाई थाहा छैन । अनि झुक्केर पनि यदि तपाईं ब्ल्याक होलमा खस्नुभयो भने कुनै पनि हालतमा त्यहाँबाट बाहिर निस्कन सक्नुहुन्न । वैज्ञानिकहरु यस विश्व ब्रह्माण्डमा मुख्यतयाः तीन प्रकारका ब्ल्याक होलहरु विद्यमान भएको बताउँछन् ।
कति थरीका हुन्छन् ?
हाम्रो जीवनको उद्गमबिन्दु सूर्य, एउटा मझौला आकारको नवयुवा तारा हो र अझै अर्को ५० वर्ष सूर्य लक्का जवान नै रहनेछ । जब सूर्यभन्दा दसौं गुणा ठूलो तारा युवावस्था पार गर्दै मृत्युशैयामा पुग्छ, ती तारा ब्ल्याक होलमा परिणत हुन्छन् जसलाई स्टेलर (तारकीय) ब्ल्याक होल भनिन्छ ।
यस्ता तारकीय ब्ल्याक होल तीनदेखि दसौं गुणा सौर्यपिण्डका हुन्छन् । एकसय देखि एक हजार सौर्यपिण्डका ब्ल्याक होलहरुलाई इन्टरमेडियट (मध्यवर्ती) मासिभ ब्ल्याकहोल भनिन्छ । वैज्ञानिकहरु यस्ता ब्ल्याकहरुको खोजीमा अहोरात्र खटिरहेका छन् । यसैगरी लाखौंदेखि करौडौं सौर्यपिण्ड भएको भयंकर ठूला ब्ल्याक होल, सुपरमासिभ (महाकाय) ब्ल्याक होल हुन् । हरेक ग्यालेक्सी (आकाशगंगा) को केन्द्रमा यस्ता महाकाय ब्ल्याक होल विराजमान हुन्छन् ।
हाम्रो आफ्नो मिल्की वे ग्यालेक्सीको केन्द्रमा पनि यस्तै एउटा महाकाय ब्ल्याक होल विराजमान छ,जसलाई साजिटारियस ए* भनेर चिनिन्छ । पृथ्वीदेखि २७ हजार प्रकाश वर्ष टाढा रहेको यस ब्ल्याक होलको पिण्ड हाम्रो सूर्यभन्दा करिब ४३ लाख गुणा बढी छ । स्मरण रहोस्, एक प्रकाश वर्ष भनेको ९४ खर्ब किलोमिटर हो । अब आफै परिकल्पना गर्नुहोस् यो ब्ल्याक कत्रो होला अनि कत्ति टाढा होला ?
साजिटारियस ए* को पहिलो तस्विरले के भन्छ ?
ब्ल्याक होलको प्रत्यक्ष अवलोकन सम्भव छैन । किनकी यसले प्रकाशलाई समेत आफ्नो घेराबाट बाहिर निस्कन दिंदैन । तर यस्ता महाकाय ब्ल्याक होल वरिपरि घुमिरहेका ताराहरु र ग्यासको अवलोकन गर्न सकिन्छ ।
यस्ता महाकाय ब्ल्याक होलको अत्यन्तै शक्तिशाली गुरुत्वाकर्षणले गर्दा वरिपरिका ताराहरु तथा ग्यासको चालचलन, कक्ष, गति सबै भिन्नै हुन्छ । जति ठूलो ब्ल्याक होल र जत्ति यसको निकट भयो, त्यत्ति नै छिटो ती तारा र ग्यासहरुको गति हुन्छ ।
वैज्ञानिकहरुले साजिटारियस ए* को वरिपरि बेजोड गतिमा घुमिरहेका ग्यासको चालचलनका आधारमा यो तस्विर तयार पारेका हुन् । तस्विरको केन्द्रमा अँध्यारो भाग देख्न सकिन्छ भने त्यसको वरिपरिको उज्यालो चक्राकार भाग चाहिं ब्ल्याक होल वरिपरि परिक्रमारत ग्यास हो ।
ब्ल्याक होलको अत्यन्तै शक्तिशाली गुरुत्वाकर्षणले बांगिएको प्रकाशपथलाई यस तस्विरमा चक्राकार संरचनाका रुपमा छर्लङ्गै देख्न सकिन्छ ।
यस तस्विरले दुईओटा महत्वपूर्ण विज्ञानलाई दर्शाउँछ : यसअघि मिल्की वे ग्यालेक्सीको केन्द्रमा एउटा कुनै निकै कम्प्याक्ट अब्जेक्ट (खाँदिएको पिण्ड) को खोजवापत सन् २०२० मा प्राध्यापक वैज्ञानिक द्वय रेनहार्ड गेन्जेल र आन्द्रेया गेजलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।
यो बेग्लै कुरा हो कि उक्त पिण्ड ब्ल्याक होल नै हो भन्ने यकिन भइसकेको थिएन । तर यस तस्विरले मिल्की वे ग्यालेक्सीको केन्द्रमा रहेको उक्त पिण्ड ब्ल्याक होल नै हो भन्ने पुष्टि गर्छ ।
दोस्रो महत्वपूर्ण कुरा यस तस्विरले वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आजभन्दा एक सय वर्षअघि प्रतिपादन गरेका सामान्य सापेक्षतावादको सिद्धान्त (जेनेरल थियरी अफ रिलेटिभिटी) को अर्को एउटा प्रमाण र उदाहरण पेश गर्छ ।
सामान्य सापेक्षतावादको सिद्धान्तअनुसार जसरी एउटा चारपाटे तन्नामा एउटा फलामको बल राख्दा बल भएतिर तन्ना लच्किन्छ, त्यसरी नै यो ब्रह्माण्डमा स्पेसटाइम पनि तन्ना जस्तै हो र पिण्डहरुको उपस्थितीले स्पेसटाइम फरक फरक आकारमा लच्किने अथवा बाँगिने गर्छ । जति बढी पिण्ड भयो त्यति नै बढी स्पेसटाइम रुपी तन्ना पनि लच्किन्छ । यही नै गुरुत्वाकर्षणको स्वरुप हो ।
महाकाय ब्ल्याक होल साजिटारियस ए* का कारण पनि स्पेसटाइम बाँगो वा लच्केको हुन्छ र यही कारणले यस निकट भएर जाने प्रकाश पनि पूरै बाँगिएर तस्बिरमा देखिए झैं चक्राकार आकृति बन्ने हो ।
यसरी खिचियो तस्विर
रात्री आकाशमा हामीले पोखेको दूधझैं ताराहरुको लर्को देख्छौं जुन हाम्रो मिल्की वे ग्यालेक्सी हो । यस ग्यालेक्सीको केन्द्रमा रहेको साजिटारियस ए* निकै टाढा भएकाले यो, चन्द्रमाको सतहमा एउटा डुनोट (खानेकुरा) राख्दा पृथ्वीबाट जत्रो देखिन्छ, ठीक त्यत्रै आकारको देखिन्छ ।
तर यसको अवलोकन अप्टिकल (हाम्रो आँखाले देख्न सकिने) प्रकाशतरंगबाट गर्न सकिंदैन । त्यसका लागि रेडियो प्रकाशतरंगमा अवलोकन गर्नुपर्ने हुन्छ र यस प्रयोजनका निम्ति वैज्ञानिकहरुले इभेन्ट होराइजन टेलिस्कोपको डिजाइन गरेका हुन् ।
पृथ्वीको विभिन्न कुनामा रहेका अटाकामा लार्ज मिलिमिटर सबमिलिमिटर आरे (अल्मा), अटाकामा पाथफाइन्टर एकपेरीमेन्ट (एपेक्स), इराम ३० मि. टेलिस्कोप, द नदर्न एक्स्टेन्डेड मिलिमिटर आरे (नोयमा) जस्ता आठओटा रेडियो टेलिस्कोपहरुको सञ्जाल समन्वय गरी वैज्ञानिकहरुले सिंगो पृथ्वी जत्रो भर्चुअल टेलिस्कोप, इभेन्ट होराइजन टेलिस्कोप तयार पारे । जसरी हामी क्यामेरामा लङ एक्स्पोजरको प्रयोग गर्छौं त्यसरी नै सन् २०१७ देखि उक्त टेलिस्कोपले थुप्रै रात, थुप्रै घण्टा साजिटारियस ए* का तस्विरहरु खिचिरह्यो र जर्मनीस्थित म्याक्स प्लाङक इन्स्टिच्यूट फर रेडियो एस्ट्रोनोमीमा रहेका सुपर कम्प्युटरमा ती तस्बिरहरु जम्मा भए ।
अनि, विश्वरभरका खगोलविद्हरुले ब्ल्याकहोल सम्बन्धी विभिन्न मोडलहरु तयार पार्दै ती तस्बिरहरुसँग खेल्दै मिलाउँदै गहन अनुसन्धान पश्चात् यस अन्तिम तस्बिर हासिल गरेका हुन् ।
इभेन्ट होराइजन टेलिस्कोपले यसअघि सन् २०१९ मा ब्ल्याक होलको पहिलो तस्विर सार्वजनिक गरेको थियो जसको नाम एम् ८७* हो भने मेसियर ८७ ग्यालेक्सीको केन्द्रमा रहेको उक्त ब्ल्याक होल साजिटारियस ए* भन्दा एकहजार गुणा ठूलो थियो ।
साजिटारियस ए* को तस्विर गरी अब हामीसँग जम्मा दुईवटा ब्ल्याक होलका तस्विर उपलब्ध छन् । यसका आधारमा हामी यी ब्ल्याकहोलको संरचना, गतिविधि र यसले ग्यालेक्सीको जन्म र विकासमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने अध्ययन गर्न सक्छौं ।
यो पनि…
हामीलाई माया चाहिन्छ, मिसाइल होइन
नेदरल्याण्ड्स जहाँ साइकल नै देशप्रेमको प्रतिक (भिडियोसहित)