चन्दननाथ मन्दिर नै ओझेलमा पार्ने गरी किन बन्दैछ भौतिक संरचना ?
कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा विभिन्न भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न थालेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो । अहिले तीन तला बन्दा मन्दिर पूर्ण रूपमा छेकिएको छ । पाँच तला बनिसकेपछि मन्दिर पूर्ण रूपमा छेकिने अवस्था छ ।
भवन निर्माणअघि कार्यालयले गुठी समितिसँग समन्वय नगरेको समितिका पदाधिकारी बताउँछन् । ‘एक्कासी पाँच तले भवन बनाउने भन्दै तीन तलाको काम सुरु भएपछि मात्र थाहा भयो,’ गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भन्छन्, ‘कार्यालय भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो । मन्दिरको सुन्दरता नै हराउने गरी निर्माण हुन लागेको भवनलाई राम्रो मान्न सकिन्न ।’
मन्दिर वरपरको घर एक तले मात्रै बनाउने परम्परागत चलन छ । पछि मन्दिर वरपर दुई तलासम्म भवन बनाउन पाउने व्यवस्था गरिएको थियो । पछिल्लोसमय व्यक्तिगत र सरकारी पक्षबाट मन्दिरको स्वरुपलाई नै ढाक्ने गरी भवन निर्माण हुन थालेको समितिका अध्यक्ष रोकायाले बताए ।
मन्दिरमा खडा हुने ५२ हाते लिङ्गभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था सङ्कटमा पर्न थालेको स्थानीयवासी बताउँछन् ।
मन्दिरमा खडा हुने ५२ हाते लिङ्गभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था सङ्कटमा पर्न थालेको स्थानीयवासी बताउँछन् । अहिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । लागतअनुमान अनुसार भवन बहुउद्देश्यीय पाँच तलाको हुनेछ । पाँच तलाको भवन निर्माण भएपछि मन्दिरको सुन्दरता र शोभा हराएर मात्र जाने होइन, यसले मन्दिर ओझेलमा पर्ने स्थानीयवासी कविता शाही बताउँछिन् ।
अहिले राराताल घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन् । पुरातत्व विभाग, गुठी समितिले पनि धार्मिक तथा सांस्कृतिक महत्वबारे बोध गर्न नसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहिले मन्दिर परिसरमा रहेको मार्गमा सिलौटाबाहेक कालोपत्र नगर्ने भनियो । तर, अहिले वरपरको पूरै क्षेत्र कालोपत्र भइसकेको छ ।
चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भने, ‘अहिले परम्परादेखि चलिआएको पहिचान भेटिदैन । मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । जबकि त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे ।’
चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भने, ‘अहिले परम्परादेखि चलिआएको पहिचान भेटिदैन । मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । जबकि त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे ।’
यहाँ प्रमाण बोलिरहेका छन् तर ती प्रमाण थन्किएका छन् । अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन् । घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन । एक्कासी तला बढेको मात्र थाहा हुने गरेको पूर्वअध्यक्ष आचार्यले बताए ।
चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको यहाँका स्थानीयवासी बताउँछन् । भवन बनाउँदा एक पटक मन्दिरसँग समन्वय हुनुपर्ने संस्कृतिका जानकार पूर्णसिंह कठायतको भनाइ छ । उनले भने, ‘मन्दिर सबैको आस्था र विश्वासको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ, जुन मेटिनुहुँदैन ।’
नेपाली भाषा–संस्कृतिको उद्गमस्थल जुम्ला हो । चन्दननाथ मन्दिरलाई धार्मिक धरोहरको उपमा पनि दिइएको छ । पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिर व्यवस्थापनले पनि उनीहरूको रेकर्ड राख्न थालेको चन्दननाथ गुठीसमितिले जनाएको छ । एक हजार ४ सय वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउने गरेका छन् । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन यहाँ हुने भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो ।