English

बिच्किँदै चार दल, फकाउँदै कांग्रेस



पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ ।

तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेपछि गठबन्धनमा रहेका अन्य दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले चित्त दुखाउँदै आएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कैलालीको धनगढी पुगेर कांग्रेसबाट निर्वाचनमा धोका हुन सक्ने चेतावनी दिए ।

निर्वाचनको सङ्घारमा गठबन्धन दलहरूबीच तालमेल गर्न बल गर्ने नेताबाटै यस्तो चेतावनी आउनुको अर्थ गठबन्धनमा भित्रभित्रै आगो सल्किरहेको छ ।

प्रचण्ड राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ सिटमा तालमेल हुँदा जित हात परेपछि हौसिएका थिए । स्थानीय निर्वाचनमा पनि तालमेल हुँदा प्रमुख विपक्षी दल एमालेलाई पराजित गर्न सकिने उनको हिसाब थियो ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि तालमेल गर्दा एमालेलाई कमजोर पार्न सकिने निष्कर्षमा थिए ।

सोही कारण १७ चैतमा तालमेल गर्ने निर्णय गरेर अघि बढे पनि अधिकांश स्थानीय तहमा तालमेल नै सम्भव भएन । तालमेल भएकामा पनि कांग्रेसबाट बागी उम्मेदवारी पर्याे। बागी उम्मेवदारीकै कारण चितवनको भरतपुर महानगरपालिकामा जित चुनौतीपूर्ण बनेको छ ।

प्रचण्डले सोमबार कांग्रेसबाट तालमेलमा धोका हुन सक्ने चेतावनी यही राजनीतिक पृष्ठभूमिमा दिएका हुन् । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सोमबार नै तालमेलप्रति असन्तुष्टि जनाए ।

उनको असन्तुष्टि भने कांग्रेस र माओवादीप्रति लक्षित थियो । उनले इलाममा भनेका थिए, ‘गठबन्धनको मर्म र भावनाविपरीत तालमेल भयो ।’ तैपनि गठबन्धनबाट भने अलग हुन भने नचाहेको बताए । तर, तालमेलबारे भने समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ ।

२३ वैशाखमा काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा पाँच दलको संयुक्त चुनावी सभामा सोही दलका अध्यक्ष माधवकुमार नेपालले पनि तालमेललाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई त संयुक्त चुनावी सभामा सहभागी नै भएका छैनन् । उनीहरू सहभागी नहुनुको अर्थ तालमेललाई लिएर उनीहरू पनि खुसी छैनन् ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले भने विज्ञप्तिमार्फत तालमेलको क्रममा एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै आक्रोश पोखे ।

अहिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।

यसरी गठबन्धनकै चार दलका शीर्ष नेताहरूबाटै निर्वाचन हुन तीन दिन बाँकी छँदा मुख्य रूपमा कांग्रेसप्रति प्रश्न गरिरहनु अर्थपूर्ण छ । फेरि, यहीबेला प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘१७ असार’लाई गठबन्धन भत्किने ‘डेटलाइन’ तोकिदिएका छन् ।

हुन त कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहजिल्ला झापाको धुलाबारीमा पुगेर कांग्रेस नेतृत्वमा गठबन्धन बनाउन माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको योगदान धेरै रहेको चर्चा गरे ।

उनले भनेका छन्, ‘अहिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।’

दाहाल, नेपालसहितका नेताहरू तालमेलमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्ट भएका बेला शर्माले उनीहरूलाई फकाउन यसो भनेका हुन् ।

पाँच दलबीच गठबन्धन भने तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि भएको हो । गठबन्धनकै कारण सङ्घीय सरकारसँगै प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी सरकार एमालेले गुमायो ।

यो पनि…
आफ्नै थलोमा बाबुरामलाई अपठ्यारो
चुनाव जिताउन ठूला नेतालाई आफ्नै ठाउँमा कठिन



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested