वर्ल्ड ह्यापीनेस रिपोर्टमा फिनल्याण्ड किन पहिलो ?
प्रत्येक वर्ष प्रकाशित हुने वर्ल्ड ह्यापीनेस रिपोर्टले केही विशेष मापदण्डका आधारमा संसारभरका राष्ट्रहरूको खुशीको तह मापन गर्दछ । यस वर्ष पनि उक्त रिपोर्ट प्रकाशित भइसकेको छ । सो रिपोर्टका अनुसार संसारमा सबैभन्दा खुशी राष्ट्र फिनल्याण्ड हो, जसमा नेपाल ८७ औँ स्थानमा परेको छ ।
संयुक्त राष्ट्र संघद्वारा प्रायोजित वार्षिक रिपोर्टअनुसार फिनल्याण्ड विश्वकै खुशी राष्ट्र बनेको यो चौथो पटक हो । २०१८, २०१९, २०२० र २०२१ को रिपोर्टअनुसार फिनल्याण्डका बासिन्दाहरूले लगातार चार वर्षदेखि सबैभन्दा खुशीपूर्ण जीवनशैली अपनाउँदै आएका छन् ।
यो रिपोर्ट जिडिपी, सामाजिक समर्थन, उदारता र स्वास्थ्य जीवन प्रत्याशामा आधारित थियो । साथै मानिसहरूको खुशी मापन गर्न जीवन निर्णयको स्वतन्त्रता, डिस्टोपिया र भ्रष्टाचारका धारणा जस्ता ब्यारोमिटरहरू पनि तोकिएको थियो ।
महामारीका समयमा जीवन रक्षालाई सघाउ पु-याउने किसिमका आपसी विश्वासका मामिलामा यो राष्ट्र सधैँ अगाडि नै छ ।
यो वर्षको रिपोर्टले व्यक्तिपरक भलाई र स्वस्थमा महामारीको असर बुझ्ने अद्वितीय चुनौतीको समेत सामना गरेको थियो, जसअनुसार रिपोर्टलाई आवश्यक पर्ने खुशी समर्थन गर्ने विविध कारकहरूमध्ये कोभिड १९ महामारीबीच देशका जनतामा आपसी विश्वास र सरकारको आत्मविश्वास नै सबैभन्दा महत्वपूर्ण रहेको थियो ।
यो वर्ष पनि फिनल्याण्ड खुशी राष्ट्रहरूको सूचीको अग्रपङ्तिमा पर्नु कुनै आश्चर्यको कुरा भने होइन । किनभने महामारीका समयमा जीवन रक्षालाई सघाउ पु-याउने किसिमका आपसी विश्वासका मामिलामा यो राष्ट्र सधैँ अगाडि नै छ ।
महामारीले विश्वव्यापी वातावरणीय खतरा, तत्काल सहयोगको महत्व र आवश्यकता र प्रत्येक देश तथा विश्वव्यापी रूपमा सहयोग प्राप्तीको कठिनाइहरूको बारेमा सिकाएको छ । सोहीअनुसार वर्ल्ड ह्यापीनेस रिपोर्ट २०२१ ले सम्पत्ती जगेर्ना भन्दा पनि सुस्वास्थ्यलाई लक्ष्यको रूपमा लिनुपर्ने देखाएको छ, जसअनुसार महामारीको कुशल व्यवस्थापन र नियन्त्रण गर्नेमा फिनल्याण्ड अग्रपङ्तिमा गनिन्छ ।
कार्यस्थलको संरचनाले संगठनात्मक निर्णय लिने, काममा बढ्दो संलग्नतालाई बढावा दिने, सबै विभाग र टोलीहरूबीच खुला सञ्चार कायम गर्ने जस्ता उद्देश्यसमेत लिएको हुन्छ
सबल अर्थतन्त्र र लचक कार्यक्षेत्र
फिनल्याण्डले नोकिया, एङ्ग्री बर्ड्सको डेभलपर कम्पनी रोभियो, क्लास अफ क्लान्स मोबाइल गेमको निर्माता सुपरसेल कम्पनी र लिफ्ट उत्पादक कम्पनी कोन जस्ता विश्वमै लोकप्रिय हासिल गरेका ब्रान्डमार्फत् विश्व अर्थव्यवस्थामा आफ्नो तौल बढाउँदै लगेको धेरै भइसक्यो ।
पहिलो पटक फ्ल्याट वर्किङ मोडल प्रस्ताव गर्ने यो प्रसिद्धि देश सोही दृष्टिकोणअनुसार व्यवसायहरू सञ्चालन गरिरहेको एक उदाहरणीय देश पनि हो । यस मोडलअनुसार व्यवस्थापन र कर्मचारीबीच एकदमै न्यून अथवा शुन्य पदानुक्रमको व्यवस्था हुन्छ, जसमा कर्मचारीलाई कसरी व्यवहार गर्ने, कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने विविध विषयहरू समेटिएको हुन्छ । फिनल्याण्डको जस्तो कार्यक्षेत्र अभ्यास अन्य युरोपियन राष्ट्रहरूले भर्खरै मात्र अपनाउन थालेका छन् ।
फिनल्याण्डमा सामान्यतः कार्यस्थलमा कर्मचारीको कम पर्यवेक्षण हुन्छ । कार्यस्थलको संरचनाले संगठनात्मक निर्णय लिने, काममा बढ्दो संलग्नतालाई बढावा दिने, सबै विभाग र टोलीहरूबीच खुला सञ्चार कायम गर्ने जस्ता उद्देश्यसमेत लिएको हुन्छ । जसले, फिनल्याण्डका अग्रगामी व्यवसायीलाई फूर्तिलो बनाउने, संगठनका कर्मचारी सशक्तिकरण गर्ने, कर्मचारीले चाहेको ठाउँमा काम गर्ने, वातावरण सिर्जना गर्ने र कार्यक्षेत्रमा अधिकतम लचक र न्यून अवरोध सिर्जना गर्दै कार्यस्थलको उत्पादकत्व र एकतामा महत्वपूर्ण बृद्धि समेत गरेको छ ।
यसरी फूर्तिलो कार्यक्षेत्र र विधिले फिनल्याण्डका जनताको समृद्धि र भलाईमा महत्वपूर्ण भूमिका खेलेको छ । किनकी देशको कुल खुशी, नागरिकहरूले कार्यक्षत्रेबाट पाएको सन्तुष्टिमा पनि निर्भर गर्दछ ।
फिनल्याण्डका नागरिकहरू खुशी हुनुमा देशको ठूलो संख्यामा रहेको कल्याणकारी नीति मात्र होइनन्, पारस्परिक विश्वास र समानताका लागि स्वतन्त्रता सहितको आन्तरिक आत्मीयता भएरै हो ।
कल्याणकारी राष्ट्र
फिनल्याण्डले असमानताको लडाईं लडेको लामो समय भइसक्यो । अन्य देशका नागरिकहरूमा धनी र गरीबको अन्तर पनि बढ्दै गर्दा फिन्ल्याण्डले भने देशका गरीब जनताको हेरचाहमा मुख्य ध्यान दिने गरेको छ । असमानताको लडाईंमा अन्य देश निरन्तर संघर्ष गरिरहँदा फिनल्याण्डले यो मुद्धालाई आफ्नो प्राथमिक सूचीमा राखेको छ ।
फिनल्याण्डका नागरिकहरू खुशी हुनुमा देशको ठूलो संख्यामा रहेको कल्याणकारी नीति मात्र होइनन्, पारस्परिक विश्वास र समानताका लागि स्वतन्त्रता सहितको आन्तरिक आत्मीयता भएरै हो । मानिसको मानसिकता तब मात्र आत्मनिर्भर र स्वतन्त्र हुन सक्छ, जब सबै नागरिक उत्तिकै समान हुन्छन् । फिनल्याण्डको खासियत नै यही हो ।
यस्तो देश जहाँ कल्पनाशील सबै आधारभूत आवश्यकताहरू पुरा हुन्छन्, त्यस्तो देशमा बस्ने सबै मानव जातिको इच्छा हुन्छ । चाहे त्यो शिक्षा होस्, स्वास्थ्य होस् वा काम नै किन नहोस्, नागरिकको इच्छा पूर्ण हुने किसिमको सुविधा प्रदायकमा फिनल्याण्डकै नाम अग्रस्थानमा आउँछ ।
ह्यापीनेस इन्डेक्सका आधारमा यो वर्ष नेपाल दक्षिण एशियाकै खुशी राष्ट्र बनेको छ । दक्षिण एशियाकै खुशी राष्ट्र भएपनि विश्वकै खुशी राष्ट्र नेपालले फिनल्याण्डबाट सिक्नुपर्ने धेरै कुरा छन् ।
नेपालसँग तुलना गर्दा
वर्ल्ड ह्यापीनेस रिपोर्टका अनुसार नेपाल ८७ औँ स्थानमा छ । यद्यपी राजनीतिक अस्थिरता र कोभिड १९ का कारण अस्तव्यस्त अर्थतन्त्रका बाबजुद पनि नेपाल पछिल्लो वर्षभन्दा पाँच स्थान माथि उक्लेको हो ।
ह्यापीनेस इन्डेक्सका आधारमा यो वर्ष नेपाल दक्षिण एशियाकै खुशी राष्ट्र बनेको छ । दक्षिण एशियाकै खुशी राष्ट्र भएपनि विश्वकै खुशी राष्ट्र फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने धेरै कुरा छन् ।
जस्तै, भ्रष्टाचारको मुद्धा हेर्ने हो भने ट्रान्सपरेन्सी डट ओरजीका अनुसार फिनल्याण्डले १ सयमा ८५ स्कोर प्राप्त गर्दै १ सय ८० देशमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने तेस्रो देश हुन सफल भएको छ । नेपाल भने ३३ स्कोर मात्र प्राप्त गरेर ६१ औँ स्थान मा परेको छ ।
नेपालमा समानताका मुद्धाहरू त थुप्रै उठ्ने गरेका छन्, तर कार्यन्वयन नहुँदै सेलाउँछन् पनि । जातीय भेदभाव, सांस्कृतिक विभेद, लैङ्गिक विभेद लगायतका विभिन्न सामाजिक खराबी नेपालमा अझै पनि जरो गाडेरै बसेको अवस्था छ । नेपालमा यसका विरुद्धमा विभिन्न आन्दोलन भइरहँदा अझै पनि सरकारले कार्यान्वयनमा तदारुकता देखाएको छैन । तर फिनल्याण्डले भने असमानताको लागि लडेको र सोही अनुसारको सुविधा कार्यान्वयन गरिसकेको नै वर्षौ भइसक्यो ।
फिनल्याण्डमा कम अपराध र बलिया सामाजिक सुरक्षा पनि छन्, जसका कारण जनता निर्धक्क छन् । तर नेपालको सामाजिक सुरक्षा नै कमजोर छ ।
त्यस्तै फिन्ल्याण्डले देशका गरीब जनताको हेरचाहमा मुख्य ध्यान दिने गरेको छ, तर नेपालमा भने धनी र गरीबको अन्तर बढ्दै गइरहेको छ । सरकारका गरीब उत्थानमूलक कार्यहरू पनि एकदमै नगन्य छन् ।
फिनल्याण्डमा कम अपराध र बलिया सामाजिक सुरक्षा पनि छन्, जसका कारण जनता निर्धक्क छन् । तर नेपालको सामाजिक सुरक्षा नै कमजोर छ । कानूनतः बलिया हुने क्रममै छन् तर पनि अपराध दिन प्रतिदिन बढेको बढ्यै छन् । अझै भ्रष्टाचार र बलात्कारका मुद्धा त नेपालमा सामान्य भइसके । यसको पछाडिको कारण नेपालको कमजोर आयस्तर, कानुनी रूपमा यौन ब्यवस्थापनको अभाव र अन्धविश्वासी सामाजिक र सांस्कृतिक रुढ मूल मान्यता नै रहेको बुझ्न सकिन्छ ।
तसर्थ, कार्यस्थलको स्वतन्त्रतामा सीमितता, कम आय, आधारभूत मौलिक अधिकारमा सीमितता, अन्धविश्वासी समाज, भ्रष्टाचार, कमजोर सामाजिक सुरक्षा र कानून,लगायत विविध कमजोरीले वर्ल्ड ह्यापीनेस रिपोर्टमा नेपाल तल परेको हो ।