आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)
हेटौंडा उपमहानगरपालिकाको कान्तिराजपथ सडकपेटीमा अहिले विभिन्न थरिका फूलहरू फुलेको देख्न सकिन्छ । हेटौंडा बजार र आसपासका क्षेत्रमा सडकको पेटीमा हेटौंडा उपमहानगरपालिकाले साना बिरुवा तथा ठूला फूलहरू लगाएको छ । बसन्त ऋतुको आगमनसँगै सडकपेटीमा फुलेका फूलहरूले बजारको सौन्दर्य थप बढाएको छ ।

हेटौंडा बजारको कान्तिराजपथको बुद्धचोकदेखि सानोपोखराचोक सम्म, भैरव रोड, पारिजातपथ लगायतको सडक पेटीमा फुलेका फूलहरू देखेपछि सबैका मन लोभिने गर्दछन् । त्यस्तै सानो पोखरा, माछा प्लान, बसपार्क, बाइपास रोड, अजरअमर रोड, पिपलबोट देखि संगमचोकसम्म, राप्तीरोड, लगायतका क्षेत्रमा पनि गमलासहित र बाहेक सडक पेटीमा फूलहरू रोपिएको छ ।

चैतको घामबाट फूलहरू सुक्न नदिनको लागि हेटौंडा उपमहानगरपालिकाले गोड्न र पानी हाल्न केही कामदारहरू खटाएको छ । निलकाँडा, गुलमोर, धुपी, पाम ट्रि, कल्की फूल, चाइनिज गुलाब, साइकस, हेज प्लान्ट, निलो फूल, क्यातुके, असोका, बगानदेवि, एरिया पाम लगायतका फूलका बिरुवाहरू रोपिएको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखाका केशव देवकोटाले जानकारी दिए । फूल रोप्ने, पानी हाल्ने र गोडमेल गर्ने अभियानलाई तीव्रता दिइएको उनी बताउँछन् ।

यो अभियानलाई पाँच वर्ष देखि सञ्चालन गरिएको हो । २०७४ साल जेठ महिनादेखि २०७८ साल चैत सम्मको अवधिमा हेटौंडाका विभिन्न स्थानमा २८ हजार ८ सय ५३ वटा फूलका विरुवा रोपिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । सुन्दर नगरीको उपनामले परिचित हेटौंडालाई फूलै फूलको शहरका रूपमा विकसित गर्ने उद्देश्यले फूलहरू रोपिएको महतको भनाई छ ।















यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
रङ्गियो गुराँसको राजधानी