खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात
जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ का रुपमा सङ्ज्ञा दिइन्छ ।
नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७/०७८ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको बिवरणले देखाएको छ ।

विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै ११ अर्ब ७० करोड ८९ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको देखिन्छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्रको सही र ब्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्बौँ रकम विदेशिनबाट जोगिन सक्ने देखिन्छ ।

निर्वाहमुखी खेतीका कारण उल्लेख्य मात्रामा कृषिउपज उत्पादन हुन नसक्दा विप्रेषणबाट आयात भएको ठूलो धनराशि विदेशिएको छ । पहाडका अधिकांश भूभाग बाँझो छ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये सात प्रतिशत बराबरको जमिन बाँझो छ । झण्डै ६० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । त्यस्तै १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ ।
यसले देशभित्र केही पनि उत्पादन हुँदैन भन्ने सन्देश गएको छ । दैनिक दुई हजारको सङ्ख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । अनौपचारिक तथ्याङ्कअनुसार झण्डै ४० लाख युवा विदेशमा छन् ।
विप्रेषणबाट आयात भएको ठूलो धनराशि उपभोग्य वस्तुमा खर्च हुँदा त्यसले औद्योगिक वातावरणसमेत बनाउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषणबाट आप्रवाह भएको रकमको झण्डै ७५ प्रतिशत बराबर हिस्सा उपभोग्य वस्तु खरीदमा खर्च भएको छ । विप्रेषणलाई आर्थिक समृद्धिमा नलगाउँदासम्म त्यसले दीर्घकालीन र रणनीतिक प्रभाव पार्न नसक्ने विभिन्न अध्ययनले देखाएको छ ।

भन्सार विभागले चालू आवको पहिलो नौ महिनाको आयात र निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणानुसार मुलुकले उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्याधिक आयात भइरहेका छन् । धान, मकै, कोदो जस्ता प्रमुख खाद्यबालीका साथै फलफूल आयातमा अर्बौं मुद्रा मुलुक बाहिर गएको देखिन्छ ।
चालू आवको पहिलो नौ महिनाका अवधिमा देशमा ११ अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
पाँच अर्ब ५६ करोडको स्याउ आयात
विभागका अनुसार चालू आवको चैत मसान्तसम्म पाँच अर्ब ५६ करोड १३ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको छ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ५३ करोड २३ लाख ३७ हजार रुपैयाँ बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

स्याउ चीन सबैभन्दा धेरै मुलुकमा भित्रिएको तथ्याङ्कमा देखिन्छ । चीनबाट मात्र चार अर्ब ४० करोड ३४ लाख ७७ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५० लाख ८९ हजार, टर्कीबाट २६ लाख २५ हजार रुपैया र गिनी बिसाउबाट एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरण छ ।
एक अर्ब बढीको अङ्गुर आयात
चालू आवको चैत मसान्तसम्म एक अर्ब ६४ करोड ६५ लाख २४ हजारका दुई करोड ४० लाख आठ हजार ९५७ केजी ताजा अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले आठ करोड ३४ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ ।

केरा आयातबाट एक अर्ब ३१ करोड बाहिरियो
नेपालीले नौ महिनाका अवधिमा एक अर्ब ३१ करोड १८ लाख एक हजार रुपैयाँ बराबरको केरा आयात गरेको छ । चालू आवको चैत मसान्तसम्म कूल चार करोड ६१ लाख ७७ हजार ४५८ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले १३ करोड ६९ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सुन्तला
विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै एक अर्ब २० करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको दुई करोड २२ लाख ५३ हजार ९९१ केजी सुन्तला आयात भएको छ ।

अनार
त्यस्तै चैत मसान्तसम्म ९७ लाख ८८ हजार ७६३ केजी अनार आयात भएको छ । त्यसका लागि एक अर्ब एक करोड ८४ लाख ७६ हजार रुपैयाँ रकम बाहिरिको छ ।

खरबुजा
खरबुजा एक करोड तीन लाख ४७ हजार ८६० केजी बराबरको आयात भएको छ । सो खरबुजाको आयात मूल्य २७ करोड ४३ लाख १४ हजार रुपैयाँ बराबर छ ।

मेवा
नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालू आवको नौ महिनामा ४७ लाख १६ हजार ८६० केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य मात्रै १६ करोड ५२ लाख २६ हजार रुपैयाँ बराबर छ ।

नास्पाती
नास्पाती १९ लाख ६६ हजार १९ केजी १३ करोड ५० लाख ६७ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

भुइँकटहर
भुइँकटहर २३ लाख ६४ हजार ६६६ किलो १० करोड ६० लाख ९१ हजार रुपैयाँको आयात भएको छ ।

किबी
व्यावसायिकरुपमा खेती गर्न सकिने किबी एक लाख ९६ हजार ७२ किलो आयात भएको छ । त्यसको आयात मूल्य चार करोड ६३ लाख ७३ हजार रुपैयाँ आयात मूल्य देखिन्छ ।

एभोगाडो
एक लाख ५६ हजार ४५९ किलो एभोगाडो चार करोड ३८ लाख ३६ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यो पनि…
फलफूलमा यसरी बन्न सकिन्छ आत्मनिर्भर
मकैमा आत्मनिर्भर हुन पाँच लाख ८८ हजार मेट्रिक टन खाँचो