‘आमा बिरामी हुँदा डाक्टर बन्ने सोच आयो’
काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कुलबाट २०२९ मा एसएलसी (एसईई) दिएँ । यस समयमा आइरन गेट भनिन्थ्यो धेरै नै गाह्रो हुन्थ्यो । दरबार हाईस्कुलमा परीक्षा सेन्टर थियो । पुस–माघको परीक्षा, धेरै नै जाडो हुन्थ्यो । आर्थिक स्थिति कमजोर हुनाले लगाउने कपडा पनि खासै हुँदैनथ्यो । चिसोले काँप्दै परीक्षा दिएको थिएँ ।
परीक्षापछि गाउँ गएँ । नतिजा आएको तीन दिनपछि साथीले हवाईमार्फत् गोरखापत्र पठाइदिएर थाहा पाएको थिएँ । एसएलसी पहिलो श्रेणीमा पास भएको रहेछु । केटीहरूमा टप गरेर ‘कमला पुरस्कार’ पनि प्राप्त गरेको थिएँ ।
एसएलसीमा राम्रो नतिजा आएपछि सबैको डाक्टर र इन्जिनियर बन्ने सपना हुन्थ्यो, मेरो पनि थियो । म सानो हुँदा आमा धेरै बिरामी भइरहनुहुन्थ्यो । उहाँको उपचारका लागि म काठमाडौं आएकी थिएँ । तर, मामाले यहीँ नै राखेर मलाई पढाउनुभयो । आमालाई अस्पतालमा स्याहार गर्दागर्दै मलाई डाक्टर बन्छु भन्ने सोच आयो ।
साइन्सका लागि राम्रो कलेज भएकाले मैले पनि अस्कल (अमृत कलेज साइन्स) कलेजकमा आईएस्सी (प्लसटु) भर्ना भएँ । अमृत कलेजमा भर्ना हुन अलि समस्या नै थियो ।
भर्ना भइसकेपछि पढाइमै ध्यान दिएँ । म आईएस्सी पढ्दा केटाभन्दा केटी कम हुन्थे पढ्ने । पढाइबाहेक अन्य अतिरिक्त क्रियाकलाप हुँदैनथ्यो । साइन्स विषय हुनाले प्राक्टिकलचाहिँ गरिन्थ्यो, तर कलेजमा मात्रै । पढाइको गुणस्तर एकदम राम्रो थियो । यहाँको पढाइ दुई वर्षमा सकियो, नतिजा पनि राम्रो आयो ।
त्यसपछि, एमबीबीएसको लागि भारतको कलकत्ता गएर कलकत्ता युर्निभर्सिटीमा भर्ना भएँ । त्यहाँसम्म मामाले लिएर जानुभएको थियो कलकत्ता जाँदा मामासँग पहिलोपटक रेल चढेको थिए । घरबाट पढ्नका लागि त्यहाँ गएकोले पढाइमा मात्रै केन्द्रित भएँ ।
शुरु–शुरुका दिनमा भाषाका समस्या हुन्छ कि भन्ने थियो, तर त्यस्तो भएन । इंग्लिस, हिन्दी आउने भएकाले खासै समस्या परेन । बंगाली साथीहरू थिए । उनीहरूको संगतले दुई महिनामा नै बंगाली भाषा पनि सिकेँ । बंगालीहरू पढ्नमा एकदम मेहनती हुन्छन् । उनीहरूसँगको संगतले प्रतिस्पर्धा गर्दै पढियो ।
एमबीबीएस पाँच वर्ष, एक वर्ष इन्टर्न र एक वर्ष काम गरी कलकत्तामा ७ वर्ष बिताएँ । सात वर्षको अध्ययनपछि त्यहाँबाट एमबीबीएसमा ग्राजुएसन गरेँ । प्राक्टिकल सबै सक्न सात वर्ष नै लाग्यो ।
सात वर्षपछि म घर आएँ । त्यो समयमा आर्थिक अवस्था अलि कमजोर नै थियो । आउन–जान पनि खर्च नहुने । जसले गर्दा घरमा आउन पाइनँ ।
होस्टेलमा धेरै बंगली साथी थिए । यसका साथै कलेजमा भारतकै दिल्ली, पन्जाब, दार्जिलिङलगायत विभिन्न ठाउँबाट आएका थिए । हरेक ब्याजमा नेपालका साथी पनि थिएँ ।
होस्टेलमा मिलेर बस्यो । त्यहाँको बसाईले कुनै समस्या भएन । हालसम्म पनि उताका साथीहरूसँग कन्टेक्टमा छु । आउने–जाने पनि हुन्छ । महिनादिनमा पढाइ, खाना, होस्टेलको बसाइका लागि तीन सयले पुग्थ्यो ।
होस्टेल बसाइ रमाइलो थियो । तेस्रो वर्षका विद्यार्थीले महिना दिन खाना बनाउनुपर्थ्यो । त्यसको व्यवस्थापन, खर्च सबै हामी विद्यार्थीले नै हेथ्यौँ । खाना कसको टिमले राम्रो बनाउँछ भन्ने पनि कम्पिटिसन हुन्थ्यो ।
बंगाली साथीहरू थिए उनीहरू धेरै पूजा गर्ने गर्थे । सरस्वती र दुर्गा पुजा खुब मान्थे । सरस्वती पूजामा राम्रो डेकोरेसन गर्थे, कलकत्ता मिठाइ र बंगाली साथीको डेकोरेसनले पूजामा छुट्टै मज्जा र रमाइलो बनाउँथ्यो ।
वर्षमा एउटा पिकनिक हुन्थ्यो, बाँकी समय पढाइमै केन्द्रित हुन्थ्यो । एउटा परीक्षाका लागि ६ महिना समय दिनुपर्थ्यो । यसका लागि साथीहरू खुब रटेर पढ्थ्यौँ ।
कलेजका साथीहरू त्यहाँ पढ्दै धेरै घुमघाम गरे, तर म धेरै घुम्न गइनँ । कहिलेकाहीँ नजिकै फिल्म हलमा जान्थेँ । त्यो पनि ७५ पैसा लाग्ने हुँदा कहिले दाइ र दिदीसँगै त कहिले राम्रो फिल्म चलेको बेला पैसा मागेर एक्लै पनि जान्थेँ ।
उताको सात वर्षको पढाइपछि घर फर्किएँ । आएको १० दिनमा विवाह भयो । र विवाहको १५ दिनमा प्रसूति गृहमा काम शुरु गरिहालेँ । त्यो समयमा छोरी मान्छे जे पढेको भए पनि गाइनोकोलोजिस्टमा काम गर्नुपर्थ्यो ।
त्यसपश्चात् एमडी गर्न बाहिर जानुपर्ने थियो तर आर्थिक समस्या कारणले जान सकिनँ । जब नेपालमा पहिलोपटक एमडीको लागि त्रिभुवन विश्वविद्यालयले नोटिस निकाल्यो । मैले यही एमडी गरेँ । सोहीको पहिलो ब्याजमध्ये म पनि एक हुँ ।
यसैगरी, यसभन्दा पहिलो डिजियो बंगलादेश ढाकाबाट गरेँ । यहाँ थिएन यो कोर्स ढाकाबाट गरेँ ।
यस्तै, फेलोसिपचाहिँ बैंककबाट गरेँ । लन्डनको रोयल कलेजले पनि बोलाएर फेलोसिपमा अनर गरेको छ । त्यसपछि अमेरिकन कलेजले पनि एफआईसीएस फिलोसिपको डिग्री प्रदान गरेको छ ।
३६–३७ वर्ष हुँदासम्म यही क्षेत्रमा कार्यरत छु । यसैबीचमा काठमाडौंका वीर, टिचिङ, भक्तपुरलगायत सरकारी अस्पतालमा काम गरेँ । यसैगरी, सात वर्षसम्म जिल्लामा पनि काम गरेँ । यसरी नै बित्यो मेरो कलेज लाइफ ।
यो पनि…
एसएलसी दिएर रूस गएँ, डाक्टर बनेर फर्किएँ
‘नियमित पढाइभन्दा साहित्यमा बढी रुचि भयो’ (भिडियो पनि)