English

अब सङ्कल्पमा ‘राक्षस’ उच्चारण हुने



प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ४९औँ संवत्सर हो । सोमवारसम्म ४७ औँ प्रमादी नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ ।

चैत्र शुक्ल प्रतिपदामा ४८ औँ आनन्द संवत्सर नभेटेकाले ४९औँ राक्षस संवत्ससर शुरु भएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यो तिथि क्षय भएजस्तै अवस्था रहेको समितिले जनाएको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेल गणनाअनुसार गत चैत २३ गतेदेखि नै राक्षस नामको संवत्सर शुरु भएको बताउँछन् । चैत्र शुक्ल प्रतिपदाका दिन जुन संवत्सरले भेट्यो त्यही नाम वर्षभर उल्लेख गरिन्छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदामा प्रमादी संवत्सर थियो । त्यसपछि आनन्द नामको संवत्सर आएर यस वर्ष चैत्र शुक्ल प्रतिपदा लाग्नुअघि नै राक्षस नामको संवत्सर शुरु भएको उनले सुनाए ।

यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौरमासअनुसारको पात्रो हो । यो ग्रेगोरियन पात्रो (अंग्रेजी पात्रो) भन्दा ५७ वर्ष आठ महिना १५ दिन छिटो छ ।

यस वर्ष राक्षस नाम गरेको संवत्सर रहेकाले अल्पवृष्टि भई अनाज उत्पादनमा कमी आउनेछ । समाज निर्दयी हुने, रोग, भय र महङ्गीले जनता आक्रान्त हुनेजस्ता फल बृहत्संहिता नामक ज्योतिषशास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ । धार्मिक कर्ममा सङ्कल्प गर्दा आजैदेखि राक्षस नामको संवत्सरको उच्चारण गरिन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँशीसम्म जारी रहन्छ ।

ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टि गरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चान्द्रमासको आधारमा चैत्र शुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर शुरु हुन्छ । विक्रमादित्यका नामबाट चलेको विक्रम संवत्मा सौरमासका आधारमा वैशाख महिनादेखि नयाँ वर्ष शुरु हुन्छ । यस वर्ष संयोगले संवत्सर आरम्भ र विक्रम संवत्को नयाँ वर्ष आरम्भ अघिल्लो दिन र भोलिपल्टदेखि शुरु हुँदैछ ।

सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गरेका छन् । यसबेला न चिसो न जाडोको अवस्था हुने भएकाले प्राकृतिकरूपमा पनि वसन्त ऋतुबाट नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।

आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि शुरु गरिएको हो । कोरोनाजस्ता रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा शुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ । सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गरेका छन् । यसबेला न चिसो न जाडोको अवस्था हुने भएकाले प्राकृतिकरूपमा पनि वसन्त ऋतुबाट नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।

विसं अनुसारको नयाँ वर्ष वैशाख १ गते बुधबारदेखि शुरु हुँदैछ । वैशाख महिनाको देवता मधुसूदन, देवी मोहिनी र भानुः नामको सूर्य रहेको छ । नयाँ वर्ष आरम्भका बेला मेष राशिमा सूर्यः, मेष राशिमै चन्द्रमा र कुम्भ राशिमा वृहस्पति (गुरूः) रहने समितिले जनाएको छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौरमासअनुसारको पात्रो हो । यो ग्रेगोरियन पात्रो (अंग्रेजी पात्रो) भन्दा ५७ वर्ष आठ महिना १५ दिन छिटो छ । यस पात्रोमा वर्षको शुरूआत वैशाख महिनाको पहिलो दिनदेखि हुन्छ । विसं सूर्यसँग सम्बन्धित भएकाले नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विशाखाबाट वैशाख, ज्येष्ठाबाट जेठ, पूर्वाषाढाबाट आषाढ आदि नाम रहेको हो । भारत वर्षमा राजा विक्रमादित्यले शुरुवात गरेको विक्रम संवत् नेपालमा आधिकारिकरूपमा चन्द्रशम्शेरको पालादेखि लागू भएको हो । रासस



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली