युक्रेन संकट : १ अर्ब ७० करोड मानिस गरिबी र भोकमरीमा धकेलिने अवस्थामा
युक्रेन संकटका कारण पाँच भागको एक भाग मानिसहरू संकटमा पर्ने एक अध्ययनमा उल्लेख छ । युक्रेन संकटका कारण १ दशमलब ७ अर्ब मानिसहरू गरिबी र भोकमरीमा पर्न सक्ने राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।
‘हामी सबैले युक्रेनमा देखापरेको त्रासदी देखेका छौँ । तर, युद्धले सीमानाबाहिर विकासोन्मुख देशहरूमा मौन आक्रमण शुरु गरेको छ । यो संकटले १ दशमबल ७ अर्ब मानिसलाई गरिबी र भोकमरीमा धकेल्नेछ’, एक अन्तवार्तामा गुटेरेसले भने ।
युक्रेन र रुसले गहुँ र जौको विश्व उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्छन् । विश्वमा उत्पादन हुने मकैको कुल परिमाणमध्ये पाँच भागको एक भाग यी देशमा उत्पादन हुन्छ ।
त्यस्तै, विश्वमा उत्पादन हुने सूर्यमुखी तेलमध्ये आधाभन्दा बढी तेल यी दुई देशले उत्पादन गर्छन् । ४५ अति कम विकसित देशहरूमा आयात हुने गहुँको एक तिहाइभन्दा बढी परिमाण रुस र युक्रेनमा उत्पादन हुन्छ ।
रुस र युक्रेनबीचको युद्धकाका कारण विश्वको आपूर्ती श्रृंखला नराम्रोसँग प्रभावित भएको छ । इन्धनको चरम मूल्यवृद्धिका कारण कोरोनापछि उठ्न लागेको विश्व अर्थतन्त्रमा अर्को कहर थपिएको छ ।
आपूर्तिको नकारात्मक असर विश्व बजारमा
पश्चिमी प्रतिबन्धका कारण मात्रै नभई युक्रेनमा रुसी आक्रमणले पनि आपूर्ति श्रृंखलामा परेको नकारात्मक असरले वस्तु बजारमा मूल्य अकाशिएको छ ।
युक्रेनमा रुसी आक्रमणपछि उक्त क्षेत्रबाट धातु र अन्नको आपूर्ति अवरुद्ध भएको छ । धेरै पश्चिमी देशहरूले यसअघि नै रुसी तेल र ग्याँस आयातमा प्रतिबन्ध लगाएका छन् । त्यसबाट नेपाल समेत नराम्ररी प्रभावित भएको छ ।
रसिया र युक्रेनले विश्वको कमोडिटी बजारमा प्रमुख रणनीतिक भूमिका खेल्छन् । दुबै ठूला मुलुक पनि हुन् । दुबै देश आधारभूत कच्चा पदार्थका प्रमुख निर्यातकर्ताका रूपमा चिनिएका छन् । गहुँ बाहेक तेल, ग्याँस, कोइलालगायत अन्य बहुमूल्य धातुको ठूलो आपूर्तीकर्ता समेत उनीहरु नै हुन् ।
त्यसैले रुस र युक्रेनबीचको युद्धका कारण यी वस्तुको आपूर्तिमा लगातार अवरोध भइरहेको छ । यसले कोभिडबाट पुनः प्रभावित भएको विश्वको अर्थतन्त्रलाई आर्थिक मन्दीको चपेटामा धकेलिदिएको छ ।
त्यसमा खास गरी ४ वटा कुरा महत्वपूर्ण छन् र एक आपसमा जोडिएका छन् । ती वस्तुको आपूर्ति लामो समयसम्म अवरुद्ध भयो भने विश्व अर्थतन्त्रमा नसोचेको समस्या आउन सक्ने अनुमानहरु पनि सार्वजनिक भएका छन् ।
रूसको अर्थतन्त्रको प्रमुख जिम्मेवारी कच्चा तेल र ग्याँसको निर्यातमा निर्भर गर्दछ । युक्रेनमा आक्रमण हुनुअघि विश्वमा प्रयोग हुने कच्चा तेलको झण्डै एक चौथाइ रुसबाट उपलब्ध हुन्थ्यो । तर अहिले युद्धका कारण अमेरिका, क्यानडा र बेलायतले रुसी तेल र ग्याँस आयातमा प्रतिबन्ध लगाएका छन् । सोही प्रतिबन्धको प्रभाव अन्य देशमा समेत परेका छन् ।
यस क्षेत्रसँग जोडिएका विज्ञहरू भन्छन्– यो लडाईले तेल र ग्याँसको मूल्यमा अस्वाभाविक बृद्धि भएको छ । किनभने रूसले हरेक दिनमा मात्रै ५० लाख ग्यालन तेल निर्यात गर्दथ्यो । त्यसको आपूर्ति ठप्प हुँदा विश्व बजारमा क्षतिपूर्ति उपलब्ध गराउन गाह्रो भएको छ ।
तेल निर्यात गर्ने देशहरूको संगठन ओपेकका महासचिव मोहम्मद बारकिन्डोले रुसी उत्पादनको क्षतिपूर्ति दिन गाह्रो भएको बताएका छन् ।
रूसबाट कम तेल आयात गर्ने देशहरूले पनि समस्या महसुस गरिरहेको वर्ल्ड आयलले जनाएको छ । विश्व बजारमा तेलको भाउ अझै बढ्न सक्ने र त्यसले कमजोर अर्थतन्त्र भएका देशलाई अझै समस्यामा पार्ने देखिन्छ ।
दुई देशबीचको युद्धसँगै विश्व बजारमा हल्का पेय पदार्थको रुपमा रहेको बियरको मूल्यमा समेत बृद्धि भएको छ । दुबै देशलाई युरोपको ‘ब्रेड बास्केट’ अर्थात् रोटीको टोकरीका रुपमा लिइन्छ । विश्व बजारमा जाने गहुँमा युक्रेन र रुसको २९ प्रतिशत र मकैको १९ प्रतिशत हिस्सा रहने गरेको छ । रुस र युक्रेनको पठाहरुका लाखौ टन गहुँ उत्पादन हुन्छ ।
यस्तै, युक्रेन सूर्यमुखी तेलको सबैभन्दा ठूलो उत्पादक हो । त्यसमा रुस दोस्रो नम्बरमा छ । ग्लोबल प्लाट्सका अनुसार सूर्यमुखी तेल उत्पादनको ६० प्रतिशत बढीको योगदान यी दुई देशको मात्रै छ । नेपालमा बिक्री हुने सूर्यमुखी तेलको प्रमुख योगदानकर्ता पनि युक्रेननै रहेको जानकारहरुको भनाइ छ । तर रुसको हस्तक्षेपपछि कमोडिटीको मूल्य पछिल्लो १४ वर्षको तुलनमा चरम सीमामा पुगेको छ ।
द्वन्द्वका कारण खाद्यान्न उत्पादनमा ठूलो असर पर्ने विज्ञहरूको भनाइ छ । विश्व खाद्य कार्यक्रमले त्यसको संकेत गरिसकेको छ । रुस र युक्रेनबीचको युद्धका कारण खाद्य आपूर्ती अवरुद्ध भएकाले अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य दोब्बरले बढ्न सक्छ । त्यसबाट विश्व बजारमा बियर, पाउरोटी तथा अन्य हल्का खाद्य वस्तुको उत्पादनमा ठूलो असर पर्न जान्छ ।
टर्की र इजिप्टले आफ्नो आवश्यकताको ७० प्रतिशत गहुँ रुस र युक्रेनबाट आयात गर्ने गरेका छन् । यस्तै, युक्रेन चीनको मुख्य मकै आपूर्तिकर्ता रहेको चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोष्टको समाचारमा उल्लेख छ ।
विश्व खाद्य कार्यक्रमका निर्देशक डेभिड बिस्लेका अनुसार युद्धका कारण विश्वभर खाद्यान्नको मूल्यमा भएको वृद्धिले विश्वका गरिब देशहरूलाई निकै ठूलो असर पार्नेछ । त्यसबाट भोकमरीको चर्को समस्या सामाना गर्नुपर्नेछ ।
धातुको व्यापारमा पनि उस्तै असर
रसिया आल्मुनियमदेखि तामा र कारसम्मका धातुको प्रमुख निर्यातकर्ता हो । यो विश्वको चौथो ठूलो आल्मुनियम निर्यातक देश हो । यो स्टील, निकल, प्यालेडियम र तामाको शीर्ष पाँच निर्यातकर्तामा पर्ने अन्तराष्ट्रिय विवरणमा उल्लेख छ ।
युक्रेन पनि औद्योगिक धातुहरूको प्रमुख उत्पादकको रुपमा चिनिन्छ । प्यालेडियम र प्लेटिनमको निर्यात बजारमा पनि यसको महत्वपूर्ण हिस्सा छ । यसको अर्थ आगामी दिनहरुमा आल्मुनियमको डिब्बा र तामाको तार अझै महंगो हुने बेलायतको एक अध्ययन फर्मको प्रारम्भिक अध्ययनले जनाएको छ ।
लन्डन मेटल एक्सचेन्जका निर्देशक म्याथ्यु चेम्बरलेन सीएनन र बीबीसीलगायतका अन्तर्राष्ट्रिय संस्थासँग भनेका छन्- युद्ध शुरु नहुँदै यस वर्ष एल्युमिनियम र निकलको मूल्य ३० प्रतिशतले बढेको छ । तामाको तार महँगो भएको छ ।
विश्व गोल्ड काउन्सिलका अनुसार रुस अष्ट्रेलिया र चीनपछि तेस्रो ठूलो सुन उत्पादन गर्ने देश हो । गत वर्ष रुसले ३५० टन सुन उत्पादन गरेको थियो । केही समययता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएको छ । यदि रुस–युक्रेन युद्ध जारी रह्यो भने, सुनको मूल्य अझै बढ्न सक्छ ।
रसिया र युक्रेनबाट आपूर्ती हुने निकेल र प्यालेडियम पनि मूल्य बढेको छ ।
प्यालेडियमको आपूर्ती अवरुद्ध भयो भने विश्वभरका अटोमेकर सामू समस्या आउन सक्छ । निकेल लिथियम–फलाम ब्याट्री बनाउन प्रयोग हुन्छ । मार्चको शुरुमा यसको मूल्य ७६ प्रतिशतले बढेको थियो ।
प्यालेडियम पनि महँगो हुँदै जाँदा कारमा उत्प्रेरक बनाउन प्रयोग गरिन्छ । रसियाले विश्वको प्यालेडियम उत्पादनको ३८ प्रतिशत योगदान गर्दछ ।
यस्तै सन् २०१४–१५ को जुन महिनामा पनि क्रिमिया आक्रमणको समयमा पनि नियोनको मूल्य धेरै गुण वृद्धि भएको थियो ।
यो पनि…
हामीलाई माया चाहिन्छ, मिसाइल होइन
युक्रेन छाड्नेको संख्या ह्वात्तै बढ्यो