‘प्लस टु पास मैले स्नातकका विद्यार्थीलाई ३ महिना पढाएँ, तर थाहा पाएनन्’
काठमाडौंको कालीमाटीस्थित जुब्लिएन्ट हाइयर सेकेन्डरी स्कुलबाट २०६२ मा एसएलसी (एसईई) दिएँ । विशिष्ट श्रेणीमा उत्तीर्ण भएपछि निकै खुसी लाग्यो । मलाई बिजनेसम्यान बन्नु थियो । तर, यसको लागि व्यवस्थापन विषय पढ्नुपर्ने ।
भविष्यमा डाक्टर, इन्जिनियर बन्नका लागि विज्ञान विषय इष्टमित्र र अभिभावकले विज्ञान विषय पढ्न प्रोत्साहन गर्नुभयो ।
बल्खुस्थित काठमाडौं बनहार्ट कलेजमा भर्ना भएँ । प्लटुमा खासै रोचक केही भएन । कहिलेकाहीँ केटाहरू झगडा गर्थे त्यो बेला म टाढै बस्थेँ ।
प्लस टु पढ्दा ककनी पिकनिक गएका थियौँ । त्यहाँ सबै साथीहरूले नाचेँ । तर, नाच्न मन लागे पनि आउँदैनथ्यो । त्यो समयमा कविताहरू भने म खुबै लेख्थेँ । एक दुई वटा कविता वाचन पनि गरेको थिएँ । यहाँ पढ्दा फर्किंदा बस पनि चढेँ, तर थोरै गुडेपछि पैसा खल्तीमा भेटिनँ । पकेट मनी दुई सयजति थियो, तर त्यो पनि खाजामा खर्च भएछ । त्यसपछि, म पैसा नभएर ३–४ किलोमिटर हिँडेर घर फर्कें । बसका एक जनाले ‘विचरा पैसा रहेनछ’ भनेको अहिले पनि कानमा गुञ्जिरहेको छ ।
प्लस टुपछि एमबीबीएसको तयारीको लागि नेम्स इन्टिच्युटमा पढेँ । दुई वर्ष निरन्तर प्रयास गर्दा पनि १ वा ०.५ नम्बर कम आएर प्रवेश परीक्षामा सफल हुन सकिनँ ।
नेममा पढ्दा एक जना साथीको प्रेमिका थिइन् । उनी जहाँ बसेकी हुन्थिन् साथी पनि उहीँ गएर बस्थ्यो । उनी अरूसँग नबोले पनि मसँग भने बोल्थिन् । त्यो समयमा कमैले मोटरसाइकल गुडाउँथे । मेरो पनि थियो । नेपाल बन्द हो कि, के अहिले सम्झिन सकिनँ । गाडी नचलेकाले घर पठाउन गएँ । तर, उनलाई घर पुर्याइदिएकै कारण साथी बहुलाएछ । म त्यस्तो त थिइनँ । तर, ऊ मदेखि एकदमै रिसायो ।
अर्को दिन उसले पनि कसको मोटरसाइकल ल्याएको थियो । त्यो देखेर धेरै नै हाँसेको थिएँ । यसले गर्दा उसलाई चिढ्याउने गर्थें । पछि–पछि एकदमै चिढ्याउनकै लागि भए पनि उनलाई एक–दुई पटक घर पुर्याए । त्यो देख्दा साथी धेरै निरास हुन्थ्यो ।
उनीबाहेक कसैसँग चिनजान थिएन । उनीबाहेक प्लस टु र नेम्समा पढ््दा म सबैलाई ‘बहिनी’ नै भन्थेँ ।
यसपछि, त्रिचन्द्र कलेजमा स्नातक तहमा विज्ञान विषयअन्तर्गत भौतिकशास्त्रमा भर्ना भएँ । भौतिक विज्ञान पढेर साथीभाइ विदेश गएको देख्दा आफू पनि बाहिर नै गइन्छ भन्ने थियो । तर, बाहिर जान मन पर्दैन थियो । यही केही गर्नुपर्छ भन्ने सोच थियो ।
त्रि–चन्द्रको तीनवर्षे स्नातक तह अध्ययनका लागि खासै कलेज गइनँ । कक्षामा बसेको याद पनि छैन । सेल्फ स्टडी गर्थें अनि कहिलेकाहीँ प्राक्टिकलको लागि ल्याब जान्थेँ ।
एमबीबीएसको प्रवेश परीक्षामा नाम ननिस्किएर २–३ वर्ष ग्याब भयो । र इन्जिनियरिङ पढ्ने निधो गरेँ । एमबीबीएसको प्रवेश परीक्षा तयारी गरेको त्रिभुवन युनिभर्सिटी इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) मा प्रवेश परीक्षा दिएँ । तर, त्यो परीक्षा राम्रो गर्न सकिनँ । परीक्षा दिएर मोटरसाइकलमा फर्किंदा नाम निस्किँदैन भनेर चिच्याउँदै रुँदै फर्केको थिएँ । सम्भवतः आईओएको इतिहासमा पहिलोपटक प्रश्न बाहियो भनेर परीक्षा रद्द भयो । सायद, त्यो पहिलो परीक्षाको नतिजा आएको भए नाम निस्किने थिएन होला, तर दोस्रोपटक परीक्षा भयो र भाग्यले नाम पनि निस्कियो ।
थापाथलीस्थित इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङमा भर्ना भएँ । पहिलो र दोस्रो वर्ष नियमित पढेँ । कलेजमा साथीहरूले तालाबन्दी गर्दामा न्युट्रल नै बस्थेँ । कुनै पनि राजनीतिक सक्रियता थिएन । सबै भातृसंगठनलाई सम्मान गरी पढाउनुपर्नेमा जोड दिन्थेँ । यसकै लागि स्वतन्त्ररूपमा आन्दोलनसमेत गरियो ।
इन्जिनियर पढ्दा रौतहट, पोखरालगायत विभिन्न ठाउँमा शैक्षिक भ्रमण गरेँ ।
अध्ययनकै क्रममा ट्युसन पढाएँ । एक जना मिल्ने साथीले स्नातक तहमा अध्यापन गराउँथे । उनको काम परेर घर जानुपर्ने भएकोले उनको कक्षा मैले नै पढाएँ । प्लस टु पास भए पनि दुई–तीन महिना स्नातक तहका विद्यार्थीलाई पढाएँ । तर, कसैले पनि थाहा पाएनन् ।
सानैदेखि राम्रो पढ्ने विद्यार्थी थिएँ । पढाइमा धेरै नै केन्द्रित हुन्थेँ । पढाइबाहेक क्रिकेटमा पनि रुचि थियो ।
यो पनि…
‘नियमित पढाइभन्दा साहित्यमा बढी रुचि भयो’ (भिडियो पनि)
‘जोसँग लभ पर्यो उनै बनिन् जीवनसंगीनी’