यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो
भर्खरै मात्र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा विजय भएकी नायिका कृति भट्टराई कुनै समय राम्रो सम्भावना बोकेकी नायिकामा पर्थिन् । अर्थात् अभिनयकला छाडेर उनी पत्रकारितामा छिरेकी हुन् ।
उपहार, विश्वास, तिम्रो सम्झनामा लगायतका फिल्ममा अभिनय गरिसकेकी कृति भट्टराईले गहना, कसलाई आफ्नो भनुँ जस्ता टेलिसिरियलहरूमा पनि अभिनय गरिसकेकी छिन् । उनी पत्रकारिता क्षेत्रमा प्रवेश गरेको पनि निकै वर्ष भइसकेको छ ।

त्यसो त फिल्म क्षेत्रलाई पनि सञ्चारकै एउटा क्षेत्र मानिन्छ । फरक यति हो, फिल्ममा अभिनय कलाले प्रमुखता पाउँछ । तर, सञ्चार जगतले भने समाजलाई जस्ताको त्यस्तै उतार्ने गर्छ ।
कृति यस्तो उदाहरण हुन्, जो नायिकाको रूपमा चर्चा कमाएपछि सञ्चार क्षेत्रमा जोडिन आइपुगिन् । तर, आजको चर्चा नायिकावाट पत्रकार भएकाहरूको होइन । पत्रकारिता (आरजे वा भिजे) पछि नायिका हुनेहरूको कथा हो यो ।
रिमा विश्वकर्मा
मोडल तथा अभिनेत्री रिमा विश्वकर्मा पनि सञ्चार क्षेत्रबाट फिल्ममा प्रवेश गर्ने नायिकामा पर्छिन् । चर्चित अभिनेत्री रिमा चलचित्र क्षेत्रमा आउनुभन्दा अघि टेलिभिजनमार्फत् सञ्चारक्षेत्रमा जोडिएकी थिइन् ।

उनले नेपाल टेलिभिजनमा बालबालिका लक्षित कार्यक्रम ‘जाँदा जाँदै’ सञ्चालन गरेकी थिइन् । एक दर्जन जति फिल्ममा अभिनय गरिसकेकी रिमा अहिले पनि टेलिभिजन कार्यक्रम प्रस्तोताको रूपमा नै व्यस्त छिन् ।
रिमाले डिसी नेपाल डटकम र तिम्रो हाम्रो डटकममा समेत काम गरेकी छन् । उनले पत्रकारिता विषयमा नै स्नातकसम्मको अध्ययन गरेकी छन् ।
छुल्ठिम गुरुङ
फिल्म ‘नोभेम्बर रेन’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी नायिका छुल्ठिम गुरुङ फिल्म क्षेत्रमा आउनुभन्दा अघि सञ्चार क्षेत्रमा संलग्न थिइन् । उनले नेपाल वान टेलिभिजनमा जागिरे नै भएर पनि काम गरेकी थिइन् ।
टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा चर्चा बटुलेकी उनले नोभेम्बर रेन पछि नेप्टे, मिस्टर भर्जिन तथा पासवर्डमा फिल्ममा अभिनय गरिसकेकी छिन् । पहिलो फिल्म नोभेम्बर रेनबाट उनले थुप्रै दर्शकहरूको मन जित्न सफल भए पनि अन्य फिल्म भने औसत रहे ।

सोभिता सिम्खडा
अभिनेत्री तथा रेडियोकर्मी सोभिता सिम्खडाले पनि सञ्चार क्षेत्रबाट आफ्नो करियर सुरु गरेकी थिइन् । फिल्म क्षेत्रमा जोडिनुअघि उनले रेडियोमा कार्यक्रम सञ्चालन गर्थिन् । उनले एक दर्जन जति नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन् ।
कुनै समय ग्ल्यामरस नायिकाको छवि बनाउन प्रयासरत सिम्खडा अहिले फिल्म क्षेत्रबाट टाढिएकी छिन् । अभिनय यात्रा छोडेर अहिले उनी आध्यात्मिक लाइनमा छिन् । उनी कलम चलाउन सक्ने नायिका हुन् ।

आँचल शर्मा
अभिनेत्री आँचल शर्मा पनि फिल्म क्षेत्रमा आउनु अघि टेलिभिजनकर्मीको रूपमा काम गरेकी थिइन् । उनले एनटिभी प्लसमा कार्यक्रम सञ्चालिकाको रूपमा काम गरेकी थिइन् ।
‘नाईं नभन्नु ल’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचल शर्माले अन्य थुप्रै चलचित्र तथा म्यूजिक भिडियोहरूमा पनि अभिनय गरिसकेकी छिन् । आँचल अहिले नेपाली फिल्म क्षेत्रमा निकै लोकप्रिय छिन् ।

सुरक्षा पन्त
अभिनेत्री सुरक्षा पन्तले पनि सञ्चारकर्मीको रूपमा काम गरिसकेकी छिन् । इन्जिनियरकी विद्यार्थी सुरक्षा पन्तले करियरको सुरुवातमा इमेज च्यानलमा इमेज भीजे हन्ट भन्ने कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
इमेज भीजे हन्ट भन्ने कार्यक्रम सञ्चालन गर्दा निर्देशक आलोक नेम्वाङले फिल्मका लागि अफर गरेका थिए । उनले नेम्वाङ निर्देशित फिल्म ‘अझै पनि’ मा अभिनय पनि गरिन् । त्यसपछि पनि उनले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । उनको पछिल्लो फिल्म आमा निकै चर्चामा रह्यो । सुरक्षा कलम पनि चलाउँछिन् । उनी विभिन्न मिडियामा लेख लेख्छिन् ।

सुरजनी केसी
मोडलिङबाट म्यूजिक भिडियो हँुदै फिल्ममा आएकी नायिका सुरजनी केसीले पनि एक समय टेलिभिजन कार्यक्रम प्रस्तोताको रूपमा काम गरेकी थिइन् । उनले इमेज च्यानलमा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रम प्रस्तोता भएर समेत चर्चा कमाएकी केसीले पछि म्यूजिक भिडियो तथा फिल्म लाइनमै निरन्तरता दिइन् । उनले ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘नेपथ्य’, ‘सपना तिम्रो मेरो’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् ।

अदिति बुढाथोकी
फिल्म ‘कृ’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी नायिका अदिति बुढाथोकीले पनि टेलिभिजनमा काम गरिसकेकी छिन् । उनले केही भारतीय म्यूजिक भिडियोमा समेत काम गरेकी छन् ।

त्यसको साथै भारतीय टेलिभिजनमा केही कार्यक्रममा प्रस्तोताको रुपमा काम गरेको मिडियामार्फत् उजागार गरेकी थिइन् । पहिलो फिल्म कृ बाट नै चर्चा बटुलेकी नायिका अदिति मोडेलको रूपमा पनि चर्चामा छिन् ।