English

स्थानीय निर्वाचन : साना दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?



नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको केही घण्टा अघि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको थियो ।

आफ्नो पार्टीसँग भिड्न मिलेर आउन सत्तारूढ पाँचदलीय गठबन्धनलाई चुनौती सुनसरीको इनरुवामा बुधबार आयोजित आमसभामा ओलीले भाषण गरिरहँदा काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हो । सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए ।

सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन् । त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ । त्यस्तै एमाले र नेपाल परिवार दलबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।

बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । देशभरिका तालमेल सम्भव हुने पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने दुई दलबीच सहमति भएको छ ।

परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र परिवारका दलका उम्मेदवारहरूलाई एमालेले सघाउने सहमति भएको छ । परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

गठबन्धनमाथि आक्रामक हुँदै आएका ओलीले एक्लै गठबन्धनलाई तहलगाउने भाषण गरिरहे पनि एमाले सत्ता गठबन्धनविरूद्ध गठबन्धन गरेर अघि बढ्ने गरि छलफलमा केन्द्रित रहेको देखिएको छ । ‘गठबन्धन गरेर को-को आउने हो । सबै मिलेर आउन् । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ’ ओलीले भनेका थिए तर वास्तविकता भने त्यस्तो देखिएको छैन ।

गत निर्वाचनमा एमालेले जितेको दर्जनौं स्थानमा नेपाली कांग्रेस र अन्य राजनीतिक पार्टी थोरै मतले पराजित भएका थिए । अब सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुँदा त्यसको प्रत्यक्ष असर एमालेलाई पर्ने देखिएको छ । एमालेले राप्रपा र परिवार दलसँग गरेको तालमेलले कति फाइदा पुग्छ भन्ने प्रश्न उब्जिएको छ ।

ओली सरकारका बेला उनलाई साथ दिएको महन्थ ठाकुर नेतृत्वको लोसपासहितका दलहरूसँग तालमेल गरेर अघि बढ्ने गरि छलफल गरेर अघि बढाइरहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । ओलीले पाँच दलीय गठबन्धन, ६ दलीय गठबन्धनलाई ‘बिचराहरू’ भन्दै गठबन्धन अलपत्र अवस्थामा रहेको पनि बताएका थिए । तर मंगलबार गठबन्धनको बैठकपछि उनको दल एमाले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरेको छ ।

तर एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले भने कुनै पनि दल आफ्नो पार्टीको चुनाव चिह्न लिन तयार भएकाले त्यसलाई अनुमति दिएको दाबी गर्छन् । ‘एक्लै उठ्ने भन्ने नै थियो तर सूर्य चिह्न लिएरनै उठ्छु भनेर आउँछ भने त्यसलाई हामीले अनुमति दिएका हौं’, उनले भने । ती दलहरूले एमाले बाहेको चिह्न लिएर चुनाव लड्न खोजे तालमेल नहुने उनले बताए । सत्ता गठबन्धनले गरेको तालमेलले आफूहरू नझस्किएको उनको भनाइ थियो ।‘त्यसलाई जनमतले पछि देखाउँछ अहिले त्यसमा केही भनिरहनु आवश्यक छैन’ उनले भने, ‘एमालेमा पछिल्लो समय आकर्षण बढिरहेको छ ।’

राप्रपा र परिवार दलसँगको तालमेलले सत्ता गठबन्धनसँग भीड्न सक्छ एमाले ?

वैशाख ३० गतेका तय भएको स्थानीय तहको निर्वाचनमा एमाले यस अघिको निर्वाचनमा पाएको जितलाई कायम राख्दै थप उपलब्धि हासिल गर्ने लक्षमा रहेको नेताहरूले दाबी गर्दै आएका छन् । तर त्यो उसका लागि सहज भने छैन । गत निर्वाचनमा पाएको सफलता अनुसार कार्यसम्पादन नहुँनु, नेकपाको विभाजन र एमालेको फुटका कारण उसको कत बढ्ने भन्दा घट्ने आकलन भइरहेको छ ।

त्यसमा पनि गत निर्वाचनमा एमालेले जितेको दर्जनौं स्थानमा नेपाली कांग्रेस र अन्य राजनीतिक पार्टी थोरै मतले पराजित भएका थिए । अब सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुँदा त्यसको प्रत्यक्ष असर एमालेलाई पर्ने देखिएको छ । अब एमालेले राप्रपा र परिवार दलसँग गरेको तालमेलले फाइदा पुग्छ भन्ने प्रश्न उब्जिएको छ । यसमा पनि एमालेलाई खास लाभ हुने अवस्था भने देखिएको छैन ।

राप्रपा अध्यक्षमा पराजित भएपछि केही समय अघि मात्र राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको जनमत कस्तो छ भन्ने देखिएको छैन । एकीकृत राप्रपा हुँदा नै कमजोर हुँदै गएका कमल थापा फुटपछि बलियो भएका छन् भन्ने आकालन सायद एमालेले पनि गरेको छैन होला । तर हेटौंडा लगायका कतिपय स्थानमा भने कमल थापाको पार्टीको केही मत रहेको अनुमान गरिएको छ । केही मतले पराजित हुने स्थानमा भने यो तालमेलले नगण्य रूपमा फाइदा पुग्न सक्छ ।

अर्को दल परिवार दलसँगको तालमेलले पनि एमालेलाई खास फाइदा हुने देखिएको छैन । जनाधार नभएको र तत्काली नेकपा बनेपछि उक्त दलमा समाहित भएको परिवार दलको मतले तात्विक रूपमा एमालेलाई फाइदा हुने देखिएको छैन ।

यो पनि…
किसान भन्छन्– सिँचाइका लागि पानी हुँदैन, नेताहरू भोट माग्न आउँदा ठूला कुरा गर्छन्
यस्तो छ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ