English

यो वर्ष नेपाली राजनीतिमा के–के भए ?



२०७८ साल नेपालको राजनीतिमा निकै उतारचढावपूर्ण बन्यो । राजनीतिक उथलपुथलका कारण संसद् विघटनदेखि पुनर्स्थापनासम्म तथा पार्टीहरू विभाजन हुनेदेखि विवादित एमसीसी अनुमोदन र चुनाव घोषणासम्म यस वर्षका महत्त्वपूर्ण परिघटना हुन पुगे ।

साथै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि महाभियोग र गभर्नर महाप्रसाद अधिकारीको निलम्बन पनि यस वर्षका सम्झनलायक घटनाका रूपमा चित्रित भए ।

१. प्रतिनिधि सभाको विघटन

२०७८ सालको सुरुबाटै नेपाली राजनीतिमा राजनीतिक उतारचढावको शृङ्खला शुरु भयो । वर्षका प्रमुख राजनीतिक परिघटनामा प्रतिनिधिसभाको विघटन, त्यसविरुद्धको आन्दोलन र सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनर्स्थापना महत्त्वपूर्ण घटना बन्न पुगे । जेठ ७ गते मध्यरात प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गर्दै कार्तिक २६ र मङ्सिर ३ गते निर्वाचन मिति तोकिन् । सरकार र राष्ट्रपतिको सो कदम संविधानविपरीत भएको भन्दै राजनीतिक दलहरूले आन्दोलन चर्काए । साथै उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भए ।

विघटनको विरोधमा नेपाली काँग्रेस माओवादी केन्द्र, जसपा, जनमोर्चा र एमालेकै माधव नेपाल समूह सडकमा उत्रिए । विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई थालेका राजनीतिक दलहरू संसद् पुनर्स्थापनाको मुद्दासहित सर्वोच्च अदालतसम्म पुगे । असार असार २७ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटनको निर्णय खारेज गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्‍यो ।

विघटनविरुद्ध काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले सर्वोच्च अदालतमा रिट दायर गरे । उक्त रिटमा सर्वोच्चले संवैधानिक सुनुवाइ गर्दै प्रतिनिधि सभा पुनर्स्थापना मात्रै गरेन, काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश नै जारी गर्‍यो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले करिब एक महिना सुनुवाइ गरेपछि प्रतिनिधि सभा विघटन बदर गरेको हो ।

२. कांग्रेसको नेतृत्वमा सरकार गठन

प्रतिनिधि सभा पुनर्स्थापना भएको दुई दिनपछि असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको नयाँ प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गरिन् । सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री पदमा नियुक्त भएपछि असार २९ साँझ देउवाले प्रधानमन्त्रीका रूपमा शपथ लिए । प्रधानमन्त्रीको शपथमा राष्ट्रपतिले संविधानको धारा उल्लेख नगरेपछि शपथमै लफडा भयो । लफडापछि संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री देउवाले शपथ लिएकै दिन उनले चारजना मन्त्रीहरू पनि नियुक्त गरे ।

सुरुमा काँग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बने भने नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा भित्रिए । पछि पटक पटक देउवाले मन्त्रिमण्डल विस्तार गरेका थिए । केन्द्र सरकारबाट ओली हटेर देउवा आएसँगै प्रदेश प्रमुख र प्रदेश सरकारहरू पनि परिवर्तन भए । यही क्रममा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरू परिवर्तन भए ।

३. एमाले र जसपाको विभाजन

देउवा नेतृत्वको सरकार बने पनि राजनीतिक उतारचढाव कायमै थियो । त्यसै क्रममा सरकारले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्यायो । ४० बाट २० प्रतिशत बनाएर खुकुलो प्रावधानमार्फत पार्टी विभाजन गर्ने अध्यादेश ल्याएकाले नेकपा एमाले र जनता समाजवादी (जसपा) औपचारिक रूपमा विभाजन हुन पुगे ।

एमालेबाट माधव नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबाट महन्त ठाकुर लगायतका नेताले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे । नेपाल र ठाकुरहरूले भदौ २ मा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा ९ मा आयोगले मान्यता दियो र अलग पार्टीका रूपमा दर्ता भए । जसपाको मान्यता उपेन्द्रले नै पाए । २०५४ सालमा पहिलो पटक विभाजित भएको एमाले २०७८ मा पुन दोस्रो पटक विभाजनको रेकर्ड राख्न पुग्यो ।

४. गैरसांसद मन्त्री र राजीनामा

प्रधानमन्त्री शेरबहादुर देउवाले गैर सांसद गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका थिए । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटामा मन्त्री बनाएको भन्दै चर्को विरोध सुरु भयो । चौतर्फी विरोध भएपछि मन्त्री हमाल पदबाट राजीनामा गर्न बाध्य भए । असोज २२ गते मन्त्रीमा नियुक्ति पाएर शपथ खाएका हमालले असोज २४ गते पदबाट राजीनामा दिनुपरेको थियो ।

राजीनामा दिँदै उनले विभिन्न सञ्चार माध्यम र कानुनविद्हरूले नियुक्तिबारे गरेका टिप्पणीले आफूलाई अन्याय भएको बताएका थिए । हमालले राजीनामा गरेको ६ महिनापछि चैत अन्तिममा प्रधानमन्त्री देउवाले गैरसांसद गोविन्द बन्दीलाई कानुन मन्त्री बनाए ।

५. राप्रपामा नयाँ नेतृत्व

राप्रपाको महाधिवेशन पनि यही वर्ष भयो । महाधिवेशनमार्फत सांसद समेत रहेका राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी बने । लिङ्देन विजयी बन्दा नेपाली राजनीतिका चतुर खेलाडी भनेर चिनिएका कमल थापा पराजित भएर राप्रपामा लिङ्देन उदय भएपछि थापा र लिङदनेबीच मनमुटाव सुरु भयो ।

मङ्सिरमा भएको महाधिवेशनपछि थापा र लिङ्देनबीच सुमधुर सम्बन्ध हुन सकेन । सोही कारण फागुन १ मा कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याए । लिङ्देनले १ हजार ८४४ मत पाउँदा थापाले १ हजार ६१७ मत पाएका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई हराउन भूमिका खेलेको बताएका थापाले फागुन १ मा लाक्पा शेर्पा नेतृत्वको राप्रपा नेपालको अध्यक्ष बनेका थिए । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा थापाले पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी भएको थियो ।

६. प्रमुख दलको महाधिवेशन

२०७८ को मङ्सिर र पुस महिना पार्टीहरूको महाधिवेशन महिनाका रूपमा दरियो । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाको महाधिवेशन तिनै महिनामा भए र नयाँ नेतृत्व छाने । काँग्रेस, एमाले र माओवादीबाट पुरानै अध्यक्ष देउवा, ओली र प्रचण्ड अध्यक्षमा दोहोरिए ।

मङ्सिर १०–१४ चितवनमा भएको एमालेको दसौँ महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्ष छान्यो । एमाले अध्यक्षमा प्रत्याशी बनेका अर्का नेता भीम रावल पराजित बन्न पुगे । त्यसै गरी नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा पुन दोस्रो कार्यकाल सभापति निर्वाचित भए । मङ्सिर महिनामै भएको काँग्रेस महाधिवेशनको मतदानमा देउवा दोस्रो पटकको मतदानबाट २७२४ मत प्राप्त गर्दै विजयी बन्न पुगे । देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८१७ मतमात्र प्राप्त गरेका थिए ।

७. चोलेन्द्रमाथि महाभियोग

राजनीतिक उतारचढाव र खिचातानीको असर सर्वोच्च अदालतलाई पनि पर्‍यो । जसका कारण २०७८ मा अदालत समेत विवादरहित हुन सकेन । फलस्वरूप प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि कार्यपालिकामा भागबण्डा खोजेको र दलहरूमाथिका मुद्दा सेटिङमा फैसला गर्न लागेको सङ्केत बुझ्दै राजनीतिक दलहरूले संसद्मा महाभियोग प्रस्ताव दर्ता गरे ।

सत्तारूढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता गराए । राणामाथि मन्त्रिमण्डलमा भागबन्डा खोजेको आरोप लागेपछि उनलाई राजीनामा दिन चौतर्फी दबाब र सुझाव परेको थियो । त्यसक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरूले नै लामो समय इजलास बहिस्कार गरेर प्रधान उनको राजीनामा मागेका थिए ।

नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीशको राजीनामा र महाभियोगको माग गर्दै लामो समय आन्दोलन चर्कायो । तर प्रधान न्यायाधीश राणाले राजीनामा दिएनन् बरु महाभियोगको सामना गर्न तयार रहेको सन्देश दिए । राणामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बने । राणामाथिको महाभियोग प्रस्ताव अहिलेसम्म पनि पारित भने भइसकेको छैन ।

८. निर्वाचन मिति घोषणा

शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले माघ २४ गते २०७९ साल बैशाख ३० गते एकै दिन सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्‍यो । स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेमा दलहरुबीच विवाद भैरहेका बेला माघ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले ३० वैशाख २०७९ मा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचनको मिति घोषणासँगै आयोगले निर्वाचनको तयारी गरिरहेको छ । यद्यपि निर्वाचन सार्ने षड्यन्त्र भइरहेको प्रमुख प्रतिपक्ष दल एमालेले सरकारमाथि आरोप लगाउन छाडेको छैन ।

९. गठबन्धन जोगाउन एमसीसी अनुमोदन

चर्को विवाद र मतभेदकैबीच अमेरिकी सहयोग (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भयो । एमसीसीका केही प्रावधानबारे दलहरुबीच नै लामो समयदेखि विवाद भएपछि अघि बढ्न सकेको थिएन । तर सत्ता गठबन्धन र सरकार जोगाउने नाममा १२ बुँदे व्याख्यात्मक घोषणसहित उक्त अमेरिकी सहयोग रकम प्रतिनिधि सभाबाट अनुमोदन गरेर दलहरूले स्वीकार गरे ।

फागुन १५ गते प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गर्नुअघि नै दलहरुबीच व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति भएको थियो । यद्यपि, एमसीसीका कारण सत्तारुढ दलमै मनमुटाव भने सिर्जना हुन पुग्यो । अझै केही साना दलले एमसीसीको अनुमोदन खारेज हुनुपर्ने माग गरिनै रहेका छन् । ‘व्याख्यात्मक घोषणा’मा नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आबद्ध भएको मानिने छैन भनिनुका साथै नेपालको संविधानभन्दा माथि एमसीसी नहुने भनियो ।

१०. गभर्नर निलम्बन

वर्षको अन्तिममा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्‍यो । चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।

गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको सरकारको आरोप छ । त्यसको छानबिन गर्न सरकारले तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको पदमुक्त सम्बन्धी व्यवस्था राखिएको छ ।

वर्षभरिको मुख्य मुख्य राजनीतिक घटनाक्रम

वैशाख १

 प्रधानमन्त्री केपी ओलीको देशवासीको नाममा सम्बोधन । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमसीसीसम्बन्धी प्रस्ताव संसद्मा निर्णायार्थ प्रस्तुत नगरेको भन्दै आक्रोश व्यक्त । प्रधानमन्त्री–सभामुख तनाव चर्कियो ।

वैशाख २

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता । प्रस्ताव दर्ता गर्ने दल कांग्रेस, माओवादी, जसपा र जनमोर्चा । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नयाँ मुख्यमन्त्री प्रस्ताव । तर, अविश्वास प्रस्ताव आउने सुइँकोपछि १ गते नै संसद् अधिवेशन भने गरुङद्वारा अन्त्य । 

वैशाख ३

कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका चार सांसदहरू प्रकाश ज्वाला, कुम्मराज शाही, नन्दसिंह बुढा र अम्मर थापाले फ्लोर क्रस गरेपछि विश्वासको मत पाए । ज्वालाबाहेक सबै मन्त्री नियुक्त । एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री हुनबाट बञ्चित । 

वैशाख ४ 

जनता समाजवादी पार्टीका एक अध्यक्ष महन्थ ठाकुर पक्षको ओली सरकारमा जाने तयारी । यादव पक्षबाट विरोध । ओलीले ब्युँताए एमसीसी बहस ।

वैशाख ६

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता । जसपाका तीन सांसदलाई मन्त्री बनाए । सरकार जोगाए । 

वैशाख ७ 

समानन्तर संगठन बनाएको भन्दै माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण । पार्टीमै संघर्ष गर्ने पक्षमा उभियो नेपाल पक्ष  ।

वैशाख ८ र ९

ओली र नेपालबीच ५ पुसपछि पाँच महिनामा पहिलोपटक होटल मेरियटमा भेटवार्ता । दुवै भेटवार्तामा आ–आफ्ना अडान कायमै । पार्टी एकता धरापमा । धरहरा हेर्ने मात्र काम भए ।

वैशाख १३ 

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको प्रस्ताव प्रदेश संसदमा टेबुल । टेबुल गर्ने कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल । प्रतिगामी कदममा मुख्यमन्त्री गुरुङ उद्यत भएको आरोप । जनमोर्चा सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन । भोलिपल्ट स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री नियुक्त । सरकार टिकाउन ओलीले सरकारले जसपाका कार्यकर्ताविरुद्धको १५ प्रकारका मुद्दा फिर्ता लिने निर्णय । 

वैशाख १९ 

नेकपा विभाजनपछि २७ वैशाखमा ओली विश्वासको मत लिन तयार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा संसद् छल्न राजीनामा तर सोही दिन फेरि मुख्यमन्त्री नियुक्त ।

वैशाख २० 

जसपाको ठाकुर र यादव पक्ष बहुमत जुटाउन सक्रिय । 

वैशाख २३

 राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओली र नेपालको छुट्टाछुट्टै भेट । दोस्रो तहका दुवै तर्फका नेताहरू विवाद मिलाउन दौडधूप । ओलीलाई विश्वासको मत पुग्न दिने तयारी । देउवा–प्रचण्ड विश्वासको मत असफल पार्ने प्रयासमा । 

वैशाख २६ 

२ जेठ २०७५ मा पार्टी संगठन संरचनमा फर्काउन ओली तयार नभएको माधव पक्षको निष्कर्ष । आवश्यक परे राजीनामा दिन तयार । 

वैशाख २७

ओलीले गुमाए संसद्को विश्वास । २७१ सांसदमध्ये ९३ मत पक्षमा । विपक्षमा १२४ मत । जसपाको महन्थ पक्षका १५ जना सांसद तटस्थ । एमालेका नेपालसहित २८ जना अनुपस्थित । ओली सरकार ढल्यो । राष्ट्रपतिले सरकार गठन आह्वान गरिन् । ओली–नेपाल तिक्तता झन् उत्कर्षमा । 

वैशाख ३०

ओली र देउवाले समर्थन प्राप्त गरेका सांसदको नाम दोहोरो परेपछि ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त ।

जेठ ७

मध्यावधि निर्वाचनमा जाने भन्दै दोस्रोपटक प्रधानमन्त्री ओलीले गरे संसद् विघटन । निर्वाचन कात्तिक २६ र मंसिर ३ मा घोषणा । ओलीविरुद्ध कानुनी र राजनीतिक लडाइ लड्न कांग्रेस, माओवादी, एमालेको माधव पक्ष, जसपाको यादव पक्ष र जनमोर्चाको गठबन्धन । 

जेठ १०

प्रतिनिधिसभा विघटनविरुद्धको रिट लिएर देउवा, प्रचण्ड, माधवसहितका नेताहरू सर्वोच्चमा । रिटमा १३९ जना सांसदको हस्ताक्षर । माधवसहित ११ जना पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीबाट निष्कासन ।

जेठ १७

मन्त्रालयसहित जसपाको ठाकुर पक्ष सरकारमा जान तयार । ठाकुर र यादवबाट पालैपालो निष्कासन । अन्ततः ठाकुर पक्ष सरकारमा सहभागी ।

जेठ २७

गण्डकीमा एमालेका पृथ्वीसुब्बा गुरुङको प्रदेश सरकार ढल्यो । विश्वासको मत पाएनन् । पक्षमा २७ र विपक्षमा ३० मत पर्‍यो । विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेलको दाबी । 

जेठ २८ 

मुख्यमन्त्रीमा पोखरेल नियुक्त । पहिलो कांग्रेस मुख्यमन्त्री बन्न सफल । कांग्रेसको सत्ता यात्रा सुरू ।

असार ८ 

सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशका कारण ओलीले २१ र २७ जेठमा मन्त्रिपरिषद् विस्तार गर्दाताका २० मन्त्री पदमुक्त । 

असार २७ 

एमाले विवाद सुल्झाउन १० बुँदे प्रस्ताव । माधवले गरे अस्वीकार ।

२८ असार

प्रतिनिधिसभा दोस्रोपटक पुनःस्थापना । संसद् विघटन गर्ने ओलीको निर्णय सर्वोच्च अदालतबाट असंवैधानिक ठहर । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश । परमादेशकै कारण ४१ महिनापछि ओली सत्ताच्यूत । 

असार २९

पाँच दलीय गठबन्धनको तर्फबाट देउवा प्रधानमन्त्रीमा नियुक्त । देउवाद्वारा कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री तथा माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीको रूपमा नियुक्त ।  मन्त्रिपरिषद् विस्तारमा सकस । माधव नेपाल र उपेन्द्र यादव पक्षलाई सरकारमा सामेल गर्न कानुनी अड्चन । झन्डै तीन महिनामा मात्र मन्त्रिपरिषद्ले पूर्णता पायो ।

साउन ३ 

प्रधानमन्त्री देउवाले विश्वासको मत पाए । १६५ सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा एमालेका ८३ मत । विश्वासको मत दिनेमा एमालेकै २२ सांसद । २१ सांसद अनुपस्थित । 

साउन ११

निर्वाचन आयोगबाट जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई । नयाँ दल खोल्ने ठाकुरको तयारी । 

साउन २७

लुम्बिनीमा एमालेका शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढल्यो । पोखरेलले अल्पमतमा परेपछि राजीनामा दिए । २८ गते माओवादीको कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त ।

भदौ १

एमालेबाट माधवकुमार नेपाल र जसपाबाट महन्थ ठाकुर पक्षलाई अलग हुन सहयोग पुग्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसक्षम पेस । नयाँ दल दर्ताको तयारीमा माधव पक्ष । 

भदौ २ 

नेकपा (एकीकृत समाजवादी) पार्टी गठन । माधवकुमार नेपाल अध्यक्ष । जसपाको ठाकुर पक्षबाट निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताको निवेदन पेस ।

भदौ ८

एमालेमा पुरानै कमिटी ब्युँतियो । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायत एमालेमै फर्किए । 

भदौ ९

पुराना कमिटीका ५५ केन्द्रीय कमिटी सदस्य र ३० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरे । सोही दिन जसपाको १४ सांसद र १६ जना राष्ट्रिय कार्यकारिणी समिति सदस्यले पनि निर्वाचन आयोगमा सनाखत गरे ।

भदौ १० 

माधव पक्ष छाड्दा एमालेबाट प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त । 

भदौ १७ 

सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका २ सांसद र निर्वाचन आयोगले गैरकानुनी रूपले नेपाल नेतृत्वमा दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष केपी ओली सर्वोच्च अदालतमा ।

भदौ २२ 

एमसीसी बहस सतहमा । प्रचण्ड र माधव विपक्षमा । प्रधानमन्त्रीको जोड पास गर्नेमा । 

भदौ २३ 

एमालेको संसद् अवरोध सुरू । सभामुख सापकोटाले १४ सांसदलाई पदमुक्त गरी सूचना टाँस नगरेको भन्दै ६ महिना बढी समयदेखि संसद् अवरोध गर्यो । यद्यपि, केही महत्वपूर्ण विधेयक अवरोधका बीच संसद्मा टेबुल । 

भदौ २४ 

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा । एमसीसी पास गर्न राजनीतिक दौडधुप । पास गर्न सुझाव । एमसीसीलाई राजनीतिकरण नगर्न आग्रह । 

असोज २२ 

गैरसांसद गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त । चौतर्फी विरोध । उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री भएको चर्चा । अन्ततः राजीनामा दिए । 

कात्तिक ९

सर्वोच्च अदालतका १९ जना न्यायाधीश प्रधानन्यायाधीश जबराको विपक्षमा । कार्यपालिकासँग भाग लिएको आरोप लाग्यो । उनको राजीनामा माग १२ कात्तिकपछि बारले ग¥यो । अन्ततः न्यायाधीशहरूले इजलास बहिस्कार गरे ।

मंसिर २

गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णयपछि इजलास फर्किन न्यायाधीशहरू तयार । १५ कात्तिकदेखि गोलाप्रथाबाट पेसी तोक्न सुरु । प्रधानन्यायाधीशको पेसी अधिकार खोसियो । 

मंसिर १०

उपाध्यक्ष भीम रावल अध्यक्षमा उम्मेदवार बनेपछि केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने प्रयास असफल । १४ मंसिरमा ओली अध्यक्षमा निर्वाचित । 

मंसिर १९

राप्रपाका युवा नेता राजेन्द्र लिङ्देन निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित । कमल थापा पूर्वराजाप्रति असन्तुष्ट । पूर्वराजाले प्रत्यक्ष रूपमा महाधिवेशनमा हस्तक्षेप गरेको आरोप । राजतन्त्रको मुद्दा परित्याग । 

मंसिर २४

 कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सकेपछि निवर्तमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, निवर्तमान उपसभापति विमेन्द्र निधि र कल्याणकुमार गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गरे । पहिलो चरणमा ५० प्रतिशत मत कुनै उम्मेदवारले नकटाएपछि अन्ततः सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरे । र, दोस्रो चरणबाट देउवा सभापति निर्वाचित भए । डा. कोइराला पराजित भए । महाधिवेशन प्रक्रियाबाट असन्तुष्टि जनाउँदै संस्थापनइतर पक्षकै नेता रामचन्द्र पौडेल अलग भए । देउवा झन् शक्तिशाली सभापति बने ।  

पुस ११

 नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः प्रचण्ड सर्वसम्मत । महासचिवसहितका पदाधिकारी छनोटमा सकस । अझैसम्म छान्न सकेको छैन । विचारको विकास हुन नसक्दा र अस्पष्टता हुँदा कम्युनिस्ट आन्दोलनले गति नलिएको निष्कर्ष । एमसीसी खारेजीको माग । 

माघ १२

राष्ट्रिय सभा निर्वाचनमा १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी । प्रदेश १ मा एमालेका सोनाम ग्याल्जेन शेर्पा मात्र विजयी । तर, राष्ट्रिय सभामा पनि एमाले नै ठूलो दल । त्यसअघि ६ जेठ र १७ जेठमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि गठबन्धनकै उम्मेदवारबाट एमाले उम्मेदवार पराजित । 

माघ १७

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट । सभामुख हटाउने प्रस्ताव दर्ताको तयारी । गठबन्धन भत्काउने खेलमा एमाले सक्रिय । र, देउवासँगै प्रचण्डले एमसीसी मुख्यालयमा प्रस्ताव पारित गर्न प्रतिबद्धता जनाएको पत्राचार २३ माघमा सार्वजनिक । प्रचण्डको दोहोरो चरित्र भएको भन्दै पार्टीभित्र र बाहिर आलोचना । प्रचण्ड एमसीसी पारित गर्ने दबाबमा । उनी र माधव नेपालको दलले सडकमा प्रदर्शन चर्काएका थिए । 

फागुन १

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अप्रत्याशित रूपमा तीनजना प्रस्तावक र ९५ जना प्रस्ताव भई संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता । ११ सदस्यीय महाअभियोगसम्बन्धी समिति गठन भइसकेको छ । समितिले प्रतिवेदन बुझाउन बाँकी छ । 

फागुन १५

१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास । गठबन्धन भत्किनबाट बच्यो । देउवाले प्रचण्ड र नेपाले साथ नदिए ओलीको भए पनि साथ लिने प्रयास गरेका थिए । एमसीसीपछि माओवादी र एकीकृत समाजवादीमा खटपट पैदा । माओवादीबाट केही जनप्रतिनिधि नै अलग ।

चीन आउजाउ

एमाले उपाध्यक्ष विष्णु पौडेल नेतृत्वमा २५ सदस्यीय टोली ७ चैतमा चीन प्रस्थान । ११ चैतमा माओवादी नेता देव गुरुङ चीन प्रस्थान । १२ र १३ गते चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा । कम्युनिस्ट पार्टीहरूबीच तालमेल गरेर जान विदेशमन्त्री वाङ यीको ओली र प्रचण्डलाई सुझाव । 

चैत १७ 

चिनियाँ ‘फ्याक्टर’ले गठबन्धन भत्किन सक्ने शंका बढेपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको बैठक बालुवाटारमा बसाए । तल्ला तहसम्मै गठबन्धन गर्ने नीतिगत निर्णय बैठकबाट पारित गरे । त्यसअघि देउवा नेतृत्वको पार्टीको बहुमतले गठबन्धन गर्ने निर्णय गरेको थियो । 

चैत १८

तीन दिने भारतको औपचारिक भ्रमणमा गए प्रधानमन्त्री देउवा । सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा कूटनीतिक मर्यादाविपरीत गएको भन्दै आलोचना । भारतस्थित नेपाली राजदूतावासमा संशोधित राजनीतिक नक्सा नभएकोप्रति प्रमुख विपक्षी दल एमाले अध्यक्ष ओलीको आक्रोश । 

चैत २२

पाँचदलीय गठबन्धन निर्वाचनमा तालमेलसहित जाने भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन । एमाले पनि लोसपा, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राप्रपा नेपालसँग निर्वाचनमा तालमेल गर्ने प्रक्रियामा सहभागी । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हुनेछ । 

चैत २५

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्वित । 
 

यो पनि…
प्रचण्ड लचिलो भए फुक्न सक्छ गठबन्धनको गाँठो
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ



सम्बन्धित खबरहरु

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको