English

मुलुकको अर्थतन्त्र खराब नभएको अर्थमन्त्रीको दाबी



अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा संकट आएको भनेर अनावश्यक हल्ला गरिएको बताएका छन् । अर्थ मन्त्रालयमा आज (२८ चैत) आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, ‘अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ । अनावश्यक हल्ला नगरौँ । त्यसले कोही कसैलाई पनि फाइदा गर्दैन ।

कोरोना कहर तथा रुस र युक्रेनको सङ्घर्षका बाबजूत पनि अर्थतन्त्र सकारात्मक दिशामा गएको उल्लेख गर्दै उनले जसरी गलत प्रचार गरिएको छ, त्यसले कोही कसैलाई पनि फाइदा नगर्ने बताए । उद्योगधन्दा ठिक ढङ्गले सञ्चालनमा रहेको, विप्रेषण आप्रवाह पनि सकारात्मक रूपमा वृद्धि भएको उनले तथ्याङ्क पेश गरे । गत फागुन मसान्तसम्म मात्रै ९१ अर्ब बराबरको विप्रेषण आयात भएको छ ।

अर्थमन्त्रीले विप्रेषण आप्रवाह नियमित रूपमा वृद्धि हुने क्रममा रहेको तथा राजश्व पनि लक्षित सीमाभन्दा बढी उठीरहेको तथ्य पेश गर्दै अनावश्यक प्रचार र हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरे । विप्रेषण आप्रवाहको वृद्धिका लागि वैदेशिक रोजगारीमा रहेकाले लगानी गर्न सक्ने गरी सञ्चित कोष बनाउने, प्रारम्भिक सार्वजनिक निस्काशन (आइपीओ) तथा एफपीओमा पनि कोटा छुट्याउने र विप्रेषण कम्पनीलाई बालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव पनि अगाडि सारिएको बताए ।

उनले अर्थतन्त्रको कारेमा तथ्याङ्कले बोल्ने भएकाले अनुमानका भरमा गरिने प्रचारको अर्थ नरहने स्पष्ट पारे । उनले नियमित रूपमा ऋण पनि व्यापक रूपमा विस्तार हुनु पनि सकारात्मक नै विषय भएको बताए । अर्थमन्त्रीले भने, ‘राजनीतिकरण गर्नका लागि अर्थतन्त्र संकटमा परेको भनेर ठूलो ठूलो स्वरमा जे भनिराखिएको छ त्यसले कोही कसैलाई राम्रो गर्दैन ।’

अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा संकट आएको भनेर अनावश्यक हल्ला गरिएको बताएका छन् ।

बिदाका दिन सरकारी सवारीसाधन प्रयोग नगर्ने

सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव समेत मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए । उनले सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको उल्लेख गरे । महङ्गा एवम् विलासी सवारीसाधनको आयात रोक्न पनि प्रस्ताव गरिएको उनको भनाइ छ । उनले सर्वसाधारणलाई पनि इन्धनको प्रयोगमा किफायती गर्न आग्रह गरिएको र त्यसमा प्रोत्साहित गरिने स्पष्ट पारे ।

मुख्यसचिवको नेतृत्वमा विभिन्न विषयमा अध्ययन भइरहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी रोक्न र वैदेशिक लगानी भित्र्याउनका लागि हेजिङलगायत दीर्घकालीन निर्णय पनि गरिने स्पष्ट पारे । अनावश्यक आयात निरुत्साहनका लागि आवश्यकताका आधारमा कदम चालिएको उनको भनाइ छ ।

अर्थतन्त्रमा सङ्कट छैन

अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थमन्त्रीले भने, ‘हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’ उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । उनले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ ।

कानुनसम्मत गभर्नरमाथि छानबिन

अर्थमन्त्री शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए ।

छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे । गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।

छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उनको भनाइ छ । निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ । आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरु नेतृत्व प्रदान गरेको उनको भनाइ छ ।

यस्तो छ चालु आवका आर्थिक सूचकहरू

सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ । कोभिड-१९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्य पेश गर्दै सरकारले २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको विवरण सार्वजनिक गरेको छ । अर्थमन्त्री शर्माले उद्योगको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको जानकारी दिए । उनले यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने विश्वास व्यक्त गरे ।

सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ ।

वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय सञ्चिती, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय सञ्चालनमा भएका बढोत्तरी, कम उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, अनुत्पादक क्षेत्रका वस्तु आयात निरुत्साहनले सकारात्मक नतीजा निकाल्ने उनको भनाइ छ । यस्तै, सुन आयातमा कटौती, बैंकमार्फत विप्रेषण आप्रवाहमा थप ब्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिबद्धता समेतबाट अर्थतन्त्रको वाह्य दबाबको उपयुक्त व्यवस्थापन हुँदै जाने अर्थमन्त्रीको भनाइ छ ।

विदेशी मुद्रा सञ्चितीको अवस्था सामान्य नै रहे पनि यसलाई बढाउन विप्रेषण आप्रवाह बैंकमार्फत गर्ने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पुँजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउनेजस्ता विषयमा विश्लेषण तथा विमर्श गरी सोहीनुसार नीति निर्माण र कार्यान्वयन गर्न गराउन अर्थ मन्त्रालय अग्रसर रहेको उनको भनाइ छ ।

अर्थतन्त्र र आर्थिक परिसूचकहरूका सम्बन्धमा विभिन्न सञ्चार माध्यम र क्षेत्रबाट प्राप्त हुने सुझावको अर्थ मन्त्रालयले उच्च प्रशंसा गरेको उल्लेख गर्दै उनले मुलुकप्रतिको जिम्मेवारीबोध गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाको सुक्ष्म निगरानी गरी आवश्यकता अनुरूप थप कदमहरू अगाडि बढाउने दृढता व्यक्त गरे ।

आव २०७६/७७ मा आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक हुन गएकोमा आर्थिक वर्ष २०७७/७८ मा पनि कोभिड १९ महामारीको दोस्रो लहरको प्रतिकूलताले अर्थतन्त्रमा ७ प्रतिशतको लक्ष्य अनुरूप उपलब्धि हासिल हुन नसकी केवल ४ प्रतिशतमा सीमित हुने अवस्था छ । चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । अर्थतन्त्रका समग्र सूचकहरूको अवस्था सकारात्मक रहेकाले सरकारको अपेक्षित लक्ष्यका नजिकनजिक अवस्था पुग्ने विश्वास व्यक्त गरिएको छ ।

आठ महिनाको मुद्रास्फिती ५.४ प्रतिशत

विगत तीन वर्षको औसत मुद्रास्फीति ५.१८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको अर्थ मन्त्रालयको भनाइ छ । पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको कारण त्यसको प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकाले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरू अवलम्बन गर्नुपर्ने स्थिति रहेको अर्थ मन्त्रालयको भनाइ छ ।

व्यापार घाटा १२ खर्ब ९० अर्ब

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ । चालु आर्थिक वर्षको चैत्र २५ सम्म वस्तु आयात रु १४ खर्ब ५० अर्ब ७१ करोड बराबर भएको छ । यस्तै, निर्यात एक खर्ब ५९ अर्ब ७६ करोड बराबर पुगेको छ ।

विगत तीन वर्षको औसत मुद्रास्फीति ५.१८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको अर्थ मन्त्रालयको भनाइ छ ।

आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३३.९ प्रतिशत र ७२.८ प्रतिशतले वृद्धि भएको छ । फलस्वरुप, व्यापार घाटा बढेर रु १२ खर्ब ९० अर्ब ९६ करोड पुगेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको अर्थ मन्त्रालयको भनाइ छ ।

विदेशी विनिमय सञ्चिति

देशमा वैदेशिक मुद्रा क्रमशः घटेको र नेपाल श्रीलङ्काको हातलमा पुगेको भन्दै सरकारको आलोचना भइरहेको बेला अर्थमन्त्रीले रु ११ खर्ब ७१ अर्ब बराबरको बराबरको सञ्चिती रहेको जानकारी दिए । विवरण अनुसार २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको विदेशी सञ्चिती थियो । उक्त सञ्चितिले करिब ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ ।

छ खर्ब बढी आयो विप्रेषण

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु ६ खर्ब ३१ अर्ब १९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशतले विप्रेषण आप्रवाहमा कमी आएको हो । त्यस्तो आप्रवाह गत फागुनमा मात्रै रु ९१ अर्ब प्राप्त भएको छ । यसले विप्रेषण आप्रवाह बढ्दै जाने सङ्केत गरेको छ ।

पुनःस्थापित हुँदै पर्यटन क्षेत्र

पछिल्ला दिनमा नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४४७ पुगेको छ । सन् २०२२ को मार्चमा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन् । यसबाट अर्थतन्त्रमा सकारात्मक परिणाम हासिल हुने अर्थ मन्त्रालयको विश्वास छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ३६३ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा दुई लाख २६ हजार ७०० नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.८ प्रतिशतले घटेको थियो । त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १९२ प्रतिशतको उलेख्य वृद्धि भई एक लाख ७८ हजार २६२ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६५.२ प्रतिशतले घटेको थियो ।

चालु आवको फागुनसम्म उद्योग विभागमार्फत रु ३३ अर्ब ३८ करोड बैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशतले बढी हो । विसं २०७८ माघ मसान्तसम्म लगानी बोर्ड नेपालमार्फत रु ८२ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

पूँजीगत खर्च बढेन

सरकारले अनेकन प्रयास गरे पनि पूँजगित खर्च भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको यही चैत्र २६ गतेसम्म सङ्घीय सरकारको कुल खर्च रु सात खर्ब ६८ अर्ब २५ करोड बराबर भएको छ । चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२ प्रतिशतले बढी हो ।

कूल खर्चमध्ये चालु खर्च रु छ खर्ब पाँच अर्ब ६३ करोड अर्थात् विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च रु ९७ अर्ब ६६ करोड अर्थात विनियोजनको २५.८३ प्रतिशत रहेको छ ।

यही चैत्र २६ गते सम्ममा राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशतले वृद्धि भई रु सात खर्ब ५० अर्ब ३४ करोड पुगेको छ ।

त्यस्तै वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु ६४ अर्ब ९७ करोड अर्थात् ३४.२९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४.३८ प्रतिशत, पुँजीगत खर्च २८.०८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३३.३३ प्रतिशत मात्रै थियो ।

यही चैत्र २६ गते सम्ममा राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशतले वृद्धि भई रु सात खर्ब ५० अर्ब ३४ करोड पुगेको छ । जुन राजस्व परिचालनमा बजेटले लिएको लक्ष्यको तुलनामा ६३.५६ प्रतिशत हो । यस अवधिमा कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९३ प्रतिशतले बढेर रू छ खर्ब ९० अर्ब ३५ करोड बराबर पुगेको छ । गैरकर राजस्व २८.४२ प्रतिशतले बढेर रू ५९ अर्ब ९९ करोड पुगेको छ ।

सीमा भित्रै छ आन्तरिक तथा वाह्य ऋण

चालु आर्थिक वर्षमा रु दुई खर्ब ३९ अर्ब बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा आजसम्म रु एक खर्ब करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ । हालसम्म रु एक खर्ब १६ अर्ब बराबरको वाह्य ऋण तथा रू १३ अर्ब ८८ करोड वरावरको वैदेशिक अनुदान गरी जम्मा रू एक खर्ब २९ अर्ब ८८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ ।

आजसम्म आन्तरिक ऋण रु ८ खर्ब ७३ अर्ब १९ करोड र बाह्य ऋण रू नौ खर्ब ८० अर्ब ८० करोड गरी कूल सार्वजनिक ऋण रू १८ खर्ब ५४ अर्ब रहेको छ । जुन नेपालको गत आर्थिक वर्षको प्रारम्भिक कूल गार्हस्थ्य उत्पादनको करिब ४३.४ प्रतिशत हुन जान्छ । कूल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अंश दक्षिण एशिया र समान आर्थिक अवस्था भएको मुलुकको दाँजोमा न्यून छ ।

चालु आर्थिक वर्षको फागुनसम्म बाह्य ऋणतर्फ रू १९ अर्ब १३ करोड र आन्तरिक ऋण तर्फ रू ५१ अर्ब ३ करोड गरी जम्मा रू ७० अर्ब १६ करोड बराबरको सावाँ र ब्याज भुक्तानी गरिएको छ । हालसम्म रू एक खर्ब २६ अर्ब बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो पनि….
सेयर बजार साढे ४४ अङ्कले घट्याे

विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम
पूर्वअर्थमन्त्रीहरूको नजरमा देशको अर्थतन्त्र (पूर्णपाठ)



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ