English

आयुर्वेदिकभन्दा एलोपेथिक औषधिको आकर्षण किन ?

आयुर्वेदिक उपचार पद्धतिको दिन फर्किन सक्छ


एकपटक विगतमा फर्कौं । यो हाे, ३ सय ५० वर्षअघि कुरा । त्यतिबेला सिंहदरबार वैद्यखाना स्थापना भयो, काठमाडौंमा । वैद्यखाना स्थापना भएपछि त्यसबखतको नेपालमा आयुर्वेदिक उपचार पद्धतिप्रति आमविश्वास थियो, आयुर्वेदिक औषधिको आकर्षण थियो । अरु विकल्प पनि त थिएन ।

वैद्यखाना सञ्चालनमा आएको धेरै वर्षपछि मात्र अर्थात् विंस १९४७ मा वीर अस्पताल स्थापना भयो । स्थापना भएको मात्र के थियो, एलोपेथिक उपचार पद्घतीले आयुर्वेदको ठाउँ लिन थाल्यो । भइदियो कस्तो भने, आयुर्वेद बाई बाई, एलोपेथी हाई हाईको वातावरण बन्न थाल्यो । वैद्यलाई भन्दा डाक्टरलाई सामाजिक प्रतिष्ठा दिन थालियो ।

स्थानीय जडीबुटीबाट बनाइएका आयुर्वेदका गोलीको ठाउँमा विदेशबाट झिकाइएका महङ्गा एलोपेथिक औषधीहरू नेपाली ज्यानमा पर्न थाले । नजिकको तीर्थ हेला गरियो, टाढाबाट ल्याइएको अंग्रेजी औषधिले बजार पिट्न थाल्यो ।

आयुर्वेद र एलोपेथिक उपचार पद्धतिलाई एउटै तराजुमा जोखेर राख्ने हो भने आजका दिनमा आयुर्वेद उपचार प्रणालीको स्थिति शिला खोजेजस्तै भएको छ । एलोपेथिक पहिलो रोजाई बनेको छ, आमनेपालीको ।

आखिर किन यस्तो भयो ?

आयुर्वेद नेपालको मौलिक चिकित्सा प्रणाली हो । तीन शताब्दी अघिदेखि यो देशको मुख्य स्वास्थ्य प्रणाली भए पनि राम्रो व्यवस्थापन र नीति अभावका कारण आयुर्वेद चिकित्सा प्रणालीले सोचेअनुसार स्वास्थ्य सेवा प्रणालीको विकास गर्न सकेको छैन । जसले गर्दा पछिल्लो समय आयुर्वेद उपचार पद्धतितर्फ मानिसको आकर्षण घट्दो छ ।

नेपालमा आधुनिक चिकित्सा भित्रिएको लामो समय भएको छैन । सय वर्षअघि भित्रिएको आधुनिक चिकित्सा प्रणालीले तीन सय वर्षअघि शुरु भएको आयुर्वेदिक चिकित्सा प्रणालीलाई पछि पार्दै गइरहेको छ ।

टाउको दुखोस् वा रुघा लागोस् मानिसहरू एलोपेथिक औषधि उपचारतर्फ लागि हाल्छन् । कोरोना महामारीपछि आयुर्वेदिक औषधिको प्रयोग केही बढेको छ । तर, एलोपेथिकको आकर्षण भने कम हुन सकेको छैन ।

अहिले आयुर्वेदिक औषधि उपचारतर्फ मानिसहरूको आकर्षण घट्नुको मुख्य कारण के हो ? के आयुर्वेदिक उपचार पद्धति लाभकारी नभएकै हो त ?

डा. वासुदेव उपाध्याय
महानिर्देशक, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

आयुर्वेदिक औषधिको साइड इफेक्ट हुँदैन भनेर जथाभावी सेवन गर्नेहरूले, आयुर्वेदिक औषधिप्रतिको विश्वसनीयता झन् कमजोर बनाइदिएका छन् ।

कोरोना महामारीको समयमा अन्य कुनै औषधिको आविष्कार नभएको कारण आयुर्वेदिक उपचार पद्धतिलाई धेरैले अपनाए । कोरोनापछि धेरै मानिस पुनः आयुर्वेदतर्फ आकर्षित भएका छन् ।

आयुर्वेदिक अस्पतालहरूमा बिरामीको चाप धेरै नदेखिए पनि अहिले आयुर्वेद उपचार पद्धति अपनाउनेको सङ्ख्या बढेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायको दावी छ । ‘एलोपेथिक औषधि सेवनले धेरै रोगहरूलाई निको पारेको छ त्यसका साथै स्वास्थ्यमा अन्य धेरै नकारात्मक असर पनि गरेको छ,’ महानिर्देशक उपाध्याय सुनाउदै थिए,‘एलोपेथिक औषधिको जथाभावी सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने धेरै चिकित्सक तथा अध्ययनले बताउँदै आएका छन् । तर, यसको प्रयोगमा भने कमी आएको छैन ।’

अहिले जसरी एलोपेथिक औषधिको दुरुपयोग भइरहेको छ त्यसरी नै आयुर्वेदिक औषधिको पनि दुरुपयोग भइरहेको डा. उपाध्यायको बुझाइ छ । ‘आयुर्वेदिक औषधिको साइड इफेक्ट हुँदैन भनेर जथाभावी सेवन गर्नेहरूले, आयुर्वेदिक औषधिप्रतिको विश्वसनीयता झन् कमजोर बनाइदिएका छन् ।’

आयुर्वेदलाई मानिसले कति प्रयोग गरेका छन् भनेर हेर्ने हो भने नेपालमा एलोपेथिकको तुलनामा आयुर्वेदको प्रयोग बढी छ । नेपालीको भान्सामा प्रयोग हुने धेरै कुराहरू आयुर्वेदसँग जोडिएको छ ।

डा. निर्मल भुसाल
उप–प्राध्यापक, त्रिवि आयुर्वेद क्याम्पस

अहिले मानिसहरू चाँडोभन्दा चाँडो समस्याको निराकरण चाहन्छन् । एलोपेथिकमा औषधिले तुरुन्तै असर गर्ने र इमरजेन्सी अवस्थामा यो बढी प्रभावकारी भएकोले एलोपेथिकतर्फ आकर्षण बढेको त्रिवि आयुर्वेद क्याम्पसमा उप–प्राध्यापक डा. निर्मल भुसाल आफ्नो अनुभव साझा गर्दै थिए ।

आयुर्वेदमा उपयुक्त स्रोतसाधन र जनशक्तिको कमी छ । एलोपेथिक चिकित्सक र स्रोतसाधनसँग तुलना गर्ने हो भने विलीन हुने अवस्थामा छ । जसको कारण पनि आम मानिसको आकर्षण आयुर्वेदतर्फ घटेको डा.भुसालले बताए । ‘आयुर्वेदलाई मानिसले कति प्रयोग गरेका छन् भनेर हेर्ने हो भने नेपालमा एलोपेथिकको तुलनामा आयुर्वेदको प्रयोग बढी छ । नेपालीको भान्सामा प्रयोग हुने धेरै कुराहरू आयुर्वेदसँग जोडिएको छ ।’

आयुर्वेदले हाम्रो जीवनशैलीलाई कसरी सुधार्ने भन्ने कुरामा बढी जोड दिन्छ । नेपालीको बानी व्यवहार, खानपान र जीवनशैली सबै मिलेर आयुर्वेद चिकित्सा प्रणाली बनेको छ । अस्पताल धाउने बिरामीको सङ्ख्या त एलोपेथिकमा धेरै छ तर रोग नै लाग्न नदिन कस्तो सावधानी अपनाउने भन्ने जानकारी जनमानसमा पुर्याउने काममा भने आयुर्वेद अगाडि छ ।

मोहम्मद सफिउल्लाह
महाप्रबन्धक, नेपाल औषधि लिमिटेड

एलोपेथिक औषधिप्रति आकर्षण धेरै बढेको छ भन्न मिल्दैन किनभने दीर्घरोग बाथ, पायल्सजस्ता रोगहरूमा आयुर्वेदिक उपचार पद्धति बढी अहिले प्रचलित छ ।

आयुर्वेद उपचार पद्धति एलोपेथिक उपचार पद्धति दुवैको आ–आफ्नो महत्त्व छ । कुनै रोगमा एलोपेथिक बढी प्रभावकारी हुन्छ भने कुनैमा आयुर्वेदिक त्यसैले कुनको प्रभाव बढी भनेर तोक्न नमिल्ने नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह बताउँछन् । ‘एलोपेथिक औषधिप्रति आकर्षण धेरै बढेको छ भन्न मिल्दैन किनभने दीर्घरोग बाथ, पायल्सजस्ता रोगहरूमा आयुर्वेदिक उपचार पद्धति बढी अहिले प्रचलित छ ।’

आयुर्वेदिक उपचार पद्धति धेरै लामो समयदेखि चलिआएको हो । त्यसैले, यसको प्रभाव सजिलै कम हुँदैन । मानिसहरू अहिले एकदमै व्यस्त छन् । सबै काम जतिसक्दो छिटो चाहन्छन् । बिरामी भएको खण्डमा पनि छिटो निको होस् भन्ने चाहना हुन्छ । एलोपेथिक औषधिले आयुर्वेदिक औषधिको तुलनामा छिटो राहत दिने भएकोले एलोपेथिक औषधिको प्रयोग आयुर्वेदको तुलनामा केही प्रतिशत बढी भने पक्कै गरेको सफिउल्लाहको भनाइ छ ।

एलोपेथिक औषधिको कुरा गर्दा नेपालमा आकर्षणभन्दा पनि दुरुपयोग बढेको छ । सबै औषधिको साइड इफेक्ट हुन्छ कुनैको कम त कुनैको धेरै । चिकित्सकको सल्लाह अनुसार मात्रा मिलाएर सेवन गर्यो भने त्यसको साइड इफेक्ट कम हुन्छ । तर, चिकित्सकको सल्लाहबिना आफूखुसी औषधि पसलमा गएर औषधि खाँदा त्यसको साइड इफेक्ट बढी हुने मिर्गौला रोग विशेषज्ञ डा. अनिल पोखरेल बताउँछन् ।

एलोपेथिक उपचार पद्धति इमर्जेन्सीमा उपयोगी हुने भएकोले यसमा मानिसको आकर्षण बढेको हो ।

डा. अनिल पोखरेल
मिर्गौला रोग विशेषज्ञ

चिकिको सल्लाहबिना आफूखुसी पेन किलर र एन्टिबायोटिकको सेवन गर्दा मिर्गौला, कलेजो लगायतमा शरीरका अन्य अङ्गहरूमा असर गर्छ । त्यसैले, आयुर्वेदिक होस् वा एलोपेथिक दुवै औषधि चिकित्सकको सल्लाह बिना प्रयोग गर्न नहुने पोखरेलको भनाइ छ । ‘एलोपेथिक उपचार पद्धति इमर्जेन्सीमा उपयोगी हुने भएकोले यसमा मानिसको आकर्षण बढेको हो,’ डा.पोखरेल भन्दै थिए,‘आयुर्वेदिक उपचार पद्धतिको विषयमा म धेरै जानकार त हैन तर केही रोगहरूमा आयुर्वेदिक पनि प्रभावकारी छन् ।’

नेपालको मौलिक उपचार पद्धतितर्फ नै आममानिसको आकर्षण घट्नुको कारण उपयुक्त स्रोत साधनको अभाव भएर हो । हाम्रो देशमा उत्पादन भएको जडीबुटीहरू भारतलगायत अन्य देशमा बिक्री वितरण हुन्छ र फेरि उनीहरूसँग हामीले किनेर किनेर ल्याउनुपर्छ । जसले गर्दा औषधिको मूल्य बढी पर्न जान्छ ।

डा. मुनकर्ण थापा
सूचना अधिकारी तथा वरिष्ठ आयुर्वेद विज्ञ, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

आयुर्वेद चिकित्सा पद्धतितर्फ मानिसहरूको आकर्षक बढाउने हो भने उपयुक्त सरकारले यसमा लगानी बढाउनुपर्छ र नेपालमा उत्पादन भएका जडीबुटीलाई यही खपत गर्नुपर्छ ।

नेपालमा आयुर्वेदिकभन्दा एलोपेथिक औषधिको माग बढी छ । फलस्वरूप, धेरै आयुर्वेदिक औषधि नेपालमा बन्न छोडिसकेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका सूचना अधिकारी तथा वरिष्ठ आयुर्वेद विज्ञ डा. मुनकर्ण थापा बताउँछन् । ‘आयुर्वेद चिकित्सा पद्धतितर्फ मानिसहरूको आकर्षक बढाउने हो भने उपयुक्त सरकारले यसमा लगानी बढाउनुपर्छ र नेपालमा उत्पादन भएका जडीबुटीलाई यही खपत गर्नुपर्छ,’ उनी भन्छन् ।

आयुर्वेदिक उपचार पद्धतिलाई विकास र विस्तार गर्नका लागि भन्दै सरकारले विभिन्न योजनाहरू बनाएको छ, तर यो कार्यान्वयन भने हुन सकेको छैन ।

हरेक जिल्लामा कम्तीमा १५ देखि २५ बेडको अस्पताल, त्यसका लागि दक्ष आयुर्वेद जनशक्तिको उत्पादन तथा यसमा लगानी बढाउन पहल गरिनुपर्छ । तर, यसतर्फ सरकारले ध्यान दिन सकेको छैन ।

सरकारले यी कुरामा ध्यान दिन सकेको सकेको खण्डमा आयुर्वेदमा पनि मानिसको आकर्षण बढ्न सक्छ । र नेपालको जडीबुटी उत्पादन र व्यापारमा समेत ठूलो अन्तर आउनसक्छ । यसो गर्न सके आयुर्वेदका सुनौला दिन फेरि फर्किन सक्नेछन् ।

यो पनि…
आम मानिसको पहुँचमा छैन स्वास्थ्य सेवा
नेपालको स्वास्थ्य क्षेत्रमा कसरी भित्रियो निजी क्षेत्र ?



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन